दैलेख । केही बर्ष अगाडी भाद्र महिनामा बाजुराको बडीमालिका मन्दिरको सुरक्षार्थ खटिएका प्रहरी जवानलाई दलित भएकै कारण राम्रो नहुने भन्दै पुजारीले विचबाटोबाट फर्काई दिएपछि खानपिना नखाई प्रहरीले ओडारमा बास बस्नु प¥यो । उसो त दैलेख सदरमुकामको नारायण मन्दिर र केही चियापसलमा समेत अझैपनि दलितलाई प्रवेश निषेध छ ।
तर दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका –८, मा रहेकोको विन्द्रासैनी माई मन्दिरमा दलितको आजापुजा पछि मात्र गैरदलितले पुजा गर्न पाउँछन् । मन्दिरको संरक्षण,रेखदेखमा दलित समुदायको योगदान रहेकाले देवीको आजापुजामा दलित समुदायले पहिलो प्राथमिकता पाउने गरेको स्थानीयबासी बताँउछन । दलित समुदायका तिरुवाले परिवारले मन्दिरमा बोका चढाएपछि मात्र देवी देवता पुजिने स्थानीयबासीको बुझाई छ । दलित पछि गैरदलितले बोका चढाउने परम्परा रहेको छ ।
देवी मन्दिरमा दलित समुदायको पहिलो बोका चढाए राम्रो हुने नभए देवी रिसाउने जनविश्वासले गर्दा पुजाआजामा पहिलो प्राथमिकता पाएको ठाटिकाँध गाउँपालिका –१ का रत्न तिरुवाले बताए । जिल्लामा कार्यरत संघ संस्थाले गैरदलितमा जनचेतना जगाउँदै जाँदा हामीलाई मन्दिर प्रवेशमा रोक लगाउन समेत छोडेपनि केही स्थानमा भने मन्दिरमा चढाएको प्रसाद दिनेमा भेदभाव कायमै रहेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रेस नेपालीले बताए । ‘चेतना अभावका कारण नै मन्दिरमा भेदभाव हुने गरेको उनको बुझाई छ ।
दैलेखमा यो मन्दिर नै एउटा जो दलितले आजापुजापछि मात्र गैरदलितले आजपुजा गर्न पाउँछन् नेपालीले भने । देश लोकतन्त्र हुदै गणतन्त्रबाट संघियतामा गईसकेको भएपनि अझैपनि ग्रामिण भेगमा छुवाछुत कायमै रहेको मदन विकले बताए । उनले भने , जिल्लामा स्थित विभिन्न राजनिति दल र सरकारी एवं गैरसरकारी संस्थाले विकासका साथ–साथै जनचेतना कार्यक्रमलाई मुख्य एजेण्डाका रुपमा राखी छुवाछुत अभियान सञ्चालन गरे छिटै न्यूनीकरण हुन्छ ।
तर सोही मन्दिरका पुजारी होतप्रसाद रेग्मी भने आफुलाई अन्य मन्दिरकाको ’bout भेदभाव भए नभएको मलाई थाहा छैन । हाम्रो मन्दिरमा दलित समुदायलाई आजापुजामा पहिलो पालो दिने चलन पुर्खादेखी नै चलि आएकोले अझै सम्म दलित समुदायले बलि दिएमात्र गैरदलित बलि दिन परम्परा रहेको जानकारी दिए । दलितहरुले मन्दिरमा बली दिईसकेपछि मात्र गैरदलितले बलि दिने चलन पहिलेदेखीको चलन हो । दलितको पहिलो बोका चढाउनेमा बुढापाका समेत सचेत देखिन्छ ,उनले भने ।
बुढापाकाको भनाई अनुसार मन्दिर निर्माणमा दलित परिवारले रेखदेख गर्ने आजापुजाका दिनमा आवश्यक पर्ने सामाग्री जुटाउने गरेकाले पहिलो प्राथमिकतामा दलित परेको एकथरिले बताउँछन भने अर्को थरिका बुढापाकाको भनाई फरक छ ।
सत्ययुगमा रावल परिवारका हलिया लागेका एक जना दलितले खेतवारी जोत्दा बोल्ने देवीलाई भेटाएका ती देवीले आफैले दलित परिवारलाई डोली रोजेको,हालमन्दिर रहेकै स्थानमा बास बस्ने पछि ती दलित समुदायले त्यही ठाउँमा लिने क्रममा बिच बाटो राख्दा नबोल्ने गरेको किवदन्ती छ । त्यसै कारण देविले नै दलितलाई रोजेकाले मन्दिरमा दलित समुदायको बोका पहिले बलि दिने चलन बसेको भनाई छ ।
पहिले देवलको रुपमा रहेको मन्दिर हाल पुनः निर्माण गरिएको छ । ‘केही वर्ष पहिले देवलमा तिरिस नामको सर्पले बास गर्ने,अधिकाँश मानिसलाई टोकेर ज्यान लिन थालेपछि स्थानीयबासी सतविर शाहीले देवल भत्काएको स्थानीयबासी बताउँछन्’ । देवल भन्दा बाहिर आजभोली स्थानीयबासीको लगानीमा मन्दिर निर्माण गरिएको छ ।
विन्द्रासैनी मन्दिरमा बर्षको पाँच पटक आजापूजा हुने फुलपाते जयश्वर जैसीले बताए । साउने पुर्णिमा,विजयादशमी,पुस पुर्णिमा चैत्रेअष्ट्रमी र जेठ पुर्णिमा मन्दिरको आजापुजा गरिनेछ ,उनले भने । दैवी प्रकोप हुँदा वा दुःख पर्दा देवीलाई सम्झने समस्या टर्ने भएकाले मन्दिरमा आजापुजा गर्ने कैलाली,अछाम,नेपालगञ्ज र सुर्खेत जिल्लाबाट आजापुजाका लागि आउने गरेको लयाटीविन्द्रासैनीका भीमप्रसाद शर्माले बताए । मानिसलाई आपतविपत परे भाकल गरे इच्छाएको पुरा हुने अझैपनि जनविश्वास रहेको छ ।
द्धन्द्धको समयमा नेकपा माओवादीले जिल्लाका सबै ठाउँका मन्दिरका घण्ट,मुर्ति लिए पनि देवीका शक्तिका कारण केही गर्न नसकेको पुजारी होतप्रसाद रेग्मीले जानकारी दिए । ‘मुर्ति लिन एक दुई जना आए नराम्रो शब्द बोले एकदुई महिनापछि दुःख पाएछन् झाँक्री हेराउँदा देवी नै लागेको देखिएपछि आजभोली अधिकाँश माओवादीका गाउँदेखि जिल्ला समेतका नेता कार्यकर्ताले देवी पूज्ने गरेको बताए । मन्दिरमा एक पर्वमा तीनसय देखी चार सय सम्म बोकाको बलि दिइन्छ ।
धार्मिक हिसाबले महत्वपुर्ण मानिएको मन्दिरमा हालसम्म संरक्षणको लागि कसैले चासो नदिएको रत्नबहादुर शाहीले गुनासो पोखे । ‘मन्दिर संरक्षण समितिका सदस्य समेत रहनु भएका शाहीले तत्कालिन समयमा जिविस लगायत पुरातात्विक विभागसम्म पुगे तर सुनुवाई भएन ।’
पर्वको समयमा देवीको आजापुजा गर्न धेरै भक्तजन आउने भएकाले खाना बस्न समेत समस्या रहेको अर्का स्थानीयबासी नरेश्वर उपाध्यायले बताए । केही बर्ष अगाडी स्थानीयबासी बासुदेव शर्मा र भिमबहादुर शर्माले चारलाखको लगानीमा चारकोठे धर्मशाला निर्माण गरेपछि टाढाबाट आउने भक्तजनलाई सुविधा भएपनि अधिकाँश भक्तजनलाई समस्या पर्ने गरेको उहाँको भनाई छ । कर्णाली राजमार्गदेखी ७ किलोमिटर टाढा रहेको छ ।
मन्दिर जानको लागि कर्णाली राजमार्गको साङ्गेतडा सडकखण्डबाट मन्दिरसम्म सडक निर्माण गरेकाले दर्शन गर्न जानेलाई भक्तजनलाई सुुविधा भएको स्थानीयबासी बताउँछन् । दलितको बोका मात्र चढाउनुले छुवाछुत हटिसकेको भन्न नमिल्ने दलित अधिकार कर्मी अमर सुनार बताए । उनले भने, ‘प्रसादमा के गर्छन त्यो नै महत्वपुर्ण हो ।’

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ८ विन्द्रासैनी माई मन्दिर । यो मन्दिरमा दलित समुदायले पहिले बोका बलि दिई आजपुजा गरेपछि मात्र गैरदलित बलि दिने प्रचलन छ । तस्विर : भक्तबहादुर शाही/दैलेख






