काठमाडौं । मुलुकभर ८२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । उच्च पहाडी क्षेत्रमा दोस्रो सातादेखि सुरु भएको धान रोपाइँ ३१ असारसम्ममा मुलुकभर ८१.५८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा ४१.४९ प्रतिशत बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
गतवर्ष असार ३१ सम्म मुलुकभर ४०.४९ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको थियो । मन्त्रालयको तथ्यांकअनुसार बर्खे सिजनमा करिब १३ लाख ७१ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । जसमध्येमा ३१ असारसम्ममा ११ लाख १९ हजार ९१ हेक्टर क्षेत्रफल धान रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ५ लाख ५५ हजार ४ सय २० हेक्टर क्षेत्रफलममा मात्र धान रोपाइँ भएको थियो । यस वर्ष समयमै मनसुन सुरु हुँदा धान रोपाइँ पनि बढी भएको मन्त्रालय जनाएको छ । मन्त्रालयका अनुसार, उच्च पहाड, मध्यपहाड र तराई क्षेत्रमा धान रोपाइँ हुन्छ । तराई क्षेत्रमा साउन अन्तिमसम्म रोपाइँ हुन्छ ।
मन्त्रालयका अनुसार ३१ असारसम्ममा सबैभन्दा धेरै रोपाइँ मध्यपहाडमा भएको छ भने तराईमा कम भएको छ । मध्य पहाडमा ३१ असारसम्ममा कुल क्षत्रेफलको ७५.१२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । जुन कुल धान रोपाइँ हुने क्षेत्रफल ४ लाख ८१ हजार ९३ हेक्टर हो । जसमध्येमा ३ लाख ६० हजार २७ हेक्टरमा क्षेत्रफलमा धान रोपाइँ भएको छ । गतवर्ष सोही अवधिमा ५५.८३ क्षेत्रफलमा धान रोपाइँ भएको थियो भने २ लाख ४९ हजार ६८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।
यसैगरी उच्च पहाडमा ७४.७६ प्रतिशत क्षत्रेफल धान रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ५१.८० प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार ३१ असारसम्ममा तराई क्षेत्रमा ८४.२१ क्षेत्रफलमा धान रोपाइँ भएको छ । गतवर्ष सोही अवधिमा ३४.४९ प्रतिशत मात्रै रोपाइँ भएको थियो । अहिलेसम्मको अवधिलाई हेर्दा गत वर्षको तुलना ४९.७२ प्रतिशत धान रोपाइँ वृद्धि भएको छ ।
मन्त्रालयको तथ्यांकअनुसार ३१ असारसम्ममा सबैभन्दा बढी क्षेत्रफल धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । सुदूरपश्चिम प्रदेशमा ९१.८६ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ५५.८४ प्रतिशत क्षेत्रफल मात्र रोपाइँ भएको थियो । गत वर्षको तुलना गर्दा यस वर्ष अहिलेको अवधिसम्ममा ३६.०२ प्रतिशत बढी हो । यसैगरी, कर्णाली प्रदेशमा ८६.८४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा कर्णाली प्रदेशमा ७० प्रतिशत भएको थियो ।
प्रदेश ५ मा भने धान रोपाइँ घटेको छ । ३१ असार प्रदेश ५ मा ८६.६० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा जम्मा ९५ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । गत वर्षको धान रोपाइँसँग तुलना गर्दा ८.४ प्रतिशत घटेको हो ।
यसैगरी, गण्डकी प्रदेशमा १५ असारसम्ममा ३५.६६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । सोही अवधिमा गत वर्ष २१.८५ प्रतिशत धान रोपाइँ भएको थियो । अहिलेको अवधिसम्ममा गतवर्षसँग तुलना गर्दा यसवर्षमा १३.८१ प्रतिशतमा बढेको छ ।
बाग्मती प्रदेशमा ७२.१० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ३१.०६ प्रतिशत भएको थियो । प्रदेश २ मा रोपाइँ ८३.४१ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ३० प्रतिशत मात्रै रोपाइँ भएको थयो ।
प्रदेश १ मा ६९.९१ प्रतिशत क्षेत्रफल मात्र धान रोपाइँ भएको छ । ३१ असार अवधिसम्ममा सबै प्रदेश भन्दा कम धान रोपाइँ भएको छ । ६९.९१ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ३७ प्रतिशत धान रोपाइँ भएको थियो । औसत मुलुकभर ८१.५८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।






