सप्तरी । दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएको राजविराजमा शुक्रबार एक घरेलु महिला कामदार तथा चिया पसले परिवारसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजविराजका विभिन्न घरहरुमा गई सरसफाईको काम गर्ने वडा नं. ९ की ५० वर्षीया महिला तथा राजविराज ६ मा चिया पसल संचालन गर्दै आएका पसले परिवारका चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरमा झनै त्रास बढेको छ ।
शुक्रबार कोशी अञ्चल अस्पतालको पिसिआर परिक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्टले राजविराज नगरपालिका वडा नं. ६ का २ महिलासहित ५, वडा नं. ७ का एक पुरुष तथा वडा नं. ९ की एक महिला गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनका अनुसार गत साउन १ गते कोरोनाबाट मृत्यु भएका राजविराज ६ का ७३ वर्षीय व्यवसायीको सम्पर्कमा आएका २२ जनालाई कोरोना संक्रमण भएपछि उनीहरुको सम्पर्कमा आएका थप ७ जनामा समेत कोरोना संक्रमण भएको हो । पछिल्लो पटक कोरोना संक्रमण भएका चार जना एकै परिवारका हुन् । यसरी कोरोनाको चेन बन्दै जाँदा र एकपछि अर्कोमा सर्दै जाँदा समुदायमा फैलिने सम्भावना झनै बढेको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाको भनाई छ ।
यो सँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय १८ पुगेको छ । यता कोरोना समुदायमा फैलिने प्रबल सम्भावनालाई ध्यानमा राख्दै स्थानिय प्रशासनले जारि गरेको राजविराज नगरक्षेत्र निषेधाज्ञा दोश्रो दिन शुक्रबार पनि जारी छ । निषेधाज्ञा कडाईका साथ पालना गराउन नगर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने बजार क्षेत्र सुनसान देखिएको छ । नगरवासीले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै पिसिआर परिक्षणको दायरा बढाउन माँग गरेका छन् ।





