काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठक हिजो बुधबारदेखि सुरु भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल र समाजवादी पार्टीबीच गत १० वैशाखमा रातारात एकीकरण गरेर जसपाको घोषणा भएको थियो । पार्टी एकीकरण पछि पहिलो पटक बसेको कार्यकारिणी समितिको बैठक ६ दिनसम्म चल्नेछ ।
पार्टी एकीकरण पश्चात बसेको पहिलो बैठकको पहिलो दिन परिचय कार्यक्रम गरेर सकिएको छ । जसपा कार्यकारिणी सदस्य मनिषकुमार सुमनले पहिलो बैठकको पहिलो दिन परिचय गरेर सकिएको बताए । बिहिबार बिहान ११ बजे पुनः बैठक बस्ने गरी सकिएको बताउँदै परिचय लामो समयसम्म चलेको बताए ।
‘पहिलो बैठकको पहिलो दिन भएकाले शुरुमा २÷३ मिनेट भित्रमा परिचय दिन भनिएको थियो’ सुमनले भने, ‘तर म यो आन्दोलन, त्यो आन्दोलन, यो संगठन, त्यो संगठन, यो पार्टी त्यो पार्टी भन्दा भन्दै दिनभर त्यसैमा बित्यो, भोली (बिहिबार) देखीको बैठकमा नियमित एजेण्डामा छलफल हुन्छ ।’
जसपा नेता प्रकाश अधिकारीका अनुसार पार्टी एकीकरण÷समायोजन निर्देशिका, राजनीतिक प्रतिवेदन, सांगठनिक कार्ययोजना, समसामयिक राजनीति लगायतका बिषयमा छलफल हुने एजेण्डा तय गरिएको बताए ।
बैठक जसपा अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त अध्यक्षतामा बसेको छ । पार्टीमा दुई अध्यक्ष ठाकुर, यादव र वरिष्ठ नेतात्रयमा अशोक राई, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो रहेका छन् । अन्य नेताहरुको जिम्मेवारी बाँडफाँड तथा वरियता चयन यही बैठकबाट हुने बताईएको छ ।
जसपा विधान अनुसार ५३ सदस्यीय कार्यकारिणी समिति छ । तर यहाँ दुई जना अझै चयन गर्न बाँकी छ । यही कार्यकारिणीमा रहेका सदस्यहरु नै पदाधिकारी हुनेछन् । वरिष्ठ नेता, सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिव, प्रवक्ता लगायतका पदाधिकारी आवश्यक्ता अनुसार चयन गरिने विधानमा व्यवस्था छ । यि पदाधिकारी कार्यकारिणी सदस्य भएकाले मात्रै पाउँनेछन् ।
राजेन्द्र श्रेष्ठ र लक्ष्मणलाल कर्णको दुई सदस्य कार्यदलले समायोजनको मापदण्ड सहितको प्रतिबेदन नेतृत्वलाई बुझाईसकेको र सो प्रतिवेदनका ’boutमा छलफल गर्दै समायोजन प्रक्रिया अगाडी बढाउँने जसपाले जनाएको छ । पार्टी एकीकरणकै बेला नै समान्ताका आधारमा संगठन समायोजन गर्ने सहमती भएको थियो ।
शिर्ष नेताहरुका बीचमा जसपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने सहमती भएको छ । यसमा कुनै किसिमको विवाद नभएको जसपा स्रोतको दावी छ । संघीय परिषद १ हजार १ सय १ सदस्य रहने बिषयमा समेत सहमती जुटिसकेको छ । यस्तै संसदीय दलको नेतामा महतोलाई चयन गरिने बताईएको छ ।
१ हजार १ सय १ को संघीय परिषद्, ७ सय ५१ सदस्यीय केन्द्रीय समिति, १ सय १ सदस्यीय राजनीति समिति बनाउँन शिर्ष नेताहरुका बीचमा गृहकार्य भएको छ । तत्कालीन समाजवादीमा २५ पदाधिकारी र ४ सय ३१ केन्द्रीय सदस्य थिए । तत्कालीन राजपामा पदाधिकारीको संख्या १ सय ३५ र केन्द्रीय सदस्य ८ सय रहेको बताईएको छ ।
यसका साथै पार्टीका केन्द्रीय तहका अन्य निकायहरु सल्लाहकार, विज्ञ परिषद्, निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोगका साथै पार्टीका विभाग, प्रदेश परिषद्, प्रदेश समिति, पहिचानमा आधारित प्रादेशिक संरचना, प्रदेश सल्लाहकार समिति, प्रदेश विज्ञ परिषद, प्रादेशिक आयोगहरु, गैरभगोलिक विशेष प्रदेश समितिलगायत स्थानीय तहका संरचना टुंगो लगाउन अझै बाँकी नै छ । यि सबै प्रक्रिया पुरा गरेर जसपा महाधिबेशनमा जान्छ । तर महाधिबेशन कहिले गर्ने, सिद्धान्त, विचार आदी बिषयमा अझै केही टुंगो लागेको छैन् ।






