काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल दिनरात नभनी कार्यक्षेत्र खटिएकाे बताउछन् । एक वर्षे कार्यकालमा देशकै राजधानीमा सुधारमा धेरै काम भएकाे उनकाे दावी छ । कोभिड–१९ संकट, सुरक्षा सुदृढ र कालोबजारी रोक्नसमेत उनी सक्रिय छन् । सकारात्मक सोचका धनी दाहाल कुशल समन्वयकर्ता पनि हुन् । भ्रष्टाचारमा शून्य सहनशीलता उनको ‘मूलमन्त्रै’ हो । उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोना कहर संकट समाधान, कालोबजारी रोक्न र शान्ति सुरक्षा सुव्यवस्थित बनाउन प्रभावकारी भूमिकामा छन्, उनी । पछिल्लो अवस्था र एकवर्षे कार्यकालका उपलब्धिमा केन्द्रित रहेर उनै दाहालसँग गरिएको राजधानी कुराकानी
काठमाडौंमा जारी निषेधाज्ञा कसरी प्रभावकारी बनाइँदै छ ?
हामीले आमजनतालाई कोरोना संक्रमणबाट बचाउनकै लागि निषेधाज्ञा जारी गरेका हौं । काठमाडौंमा संक्रमण दर बढेकाले अप्रिय निर्णय गर्न बाध्य भयौं । तर, अत्यावश्यक वस्तु आपूर्ति सहज बनाउन बिहानी समय निषेधाज्ञा केही खुकुलो पारिएको छ । सरकारी निकायमा जिम्मेवारीबोध र सर्वसाधारण अनुशासित भइदिए कोरोना संकटमाथि छिट्टै विजयी हुन्छौं । निषेधाज्ञा कार्यान्वयन गर्न जनताबाट सहयोग पाइएको छ । हामी पनि सुरक्षा निकायलगायत सरकारी निकायलाई समन्वयात्मक रूपमा परिचालन गरेर निषेधाज्ञा प्रभावकारी बनाउन सफल भइरहेका छौं ।
काठमाडौं प्रवेशको एकवर्ष भयो । यस अवधिमा कस्ता महत्वपूर्ण काम भए ?
सरकारले दिएको जिम्मेवारी पालना सवालमा सधैं इमान्दार भएर भ्रष्टचारमा शून्य सहनशीलता नीतिअनुसार अघि बढ्दै आएको छु । काठमाडौं उपत्यका संघीय राजधानी पनि भएकाले यहाँ ७७ जिल्लाकै मानिसको बसोबास छ । जसका कारण विभिन्न समस्या सिर्जना हुन्छन् । ती समस्या कुशलतापूर्वक सम्बोधन गर्न सफल भएजस्तै लाग्छ । अहिले कोरोना संकट समाधान र नागरिकलाई यसबाट बचाउन विभिन्न प्रयास जारी छ । काठमाडौं आएलगत्तै चीनका राष्ट्रपति सि चिनफिङ नेपाल आउनुभयो । त्यतिखेर सुरक्षाको ठूलो चुनौती थियो तर सुरक्षा व्यवस्था अत्यन्त प्रभावकारी र उदाहरणीय बनाउन सफल भयौं । जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीको सामूहिक समन्वय र सक्रियताका कारण सम्भव भयो । त्यो सुरक्षा व्यवस्था यति प्रभावकारी भयो कि संसारले प्रशंसा ग-यो ।
काठमाडांैमा विभिन्न चाडपर्व तथा जात्रा मनाइन्छन्, सभा समारोह आयोजना गरिन्छ । यसमा पनि गत वर्षको इन्द्रजात्रालाई अत्यन्त व्यवस्थित बनाउन सफल भयौं । यसैगरी, बंगलादेशका राष्ट्रपतिको भ्रमणलाई पनि सुरक्षा हिसाबले अत्यन्तै मजबुत बनाउन सफल भयांै । साफ गेम चुनौतीपूर्ण थियो, त्यसलाई पनि सुरक्षा प्रदान गर्दै भव्यतापूर्वक सफल बनायांै । सुरुका दिन ‘भिजिट नेपाल’को सुरक्षा व्यवस्था प्रभावकारी बनायौं । यद्यपि, कोभिड–१९ का कारण सफल भएन ।
कोभिड सुरु भएपछि देखिएका समस्या कसरी समाधान भइरहेको छ ?
कोभिड सुरु भएपछि नियन्त्रण गर्न सरकारले सुरुका दिन जारी गरेको लकडाउन सफल बनाउन रातदिन नभनी कार्यस्थल खटियौं । सुरक्षा निकायका पदाधिकारीको सहयोगका कारण लकडाउन निकै व्यवस्थित भयो । त्यसक्रममा ‘होल्डिङ सेन्टर’ निर्माणदेखि आइसोलेसन बनाउने, पास व्यवस्थापन, संकटमा परेकाको उद्धारस्ता समस्या अहोरात्र खटेर समाधान ग-यौं । त्यसका लागि सहजीकरण, संक्रमणबाट पनि जोगाउनुपर्नेलगायत समस्या’bout सबैसँगको सहकार्य र सहयोगमा समाधान गर्न सफल भयाै।
रातदिन खटिँदाको अनुभूति… ?
कोरोना महामारीले विश्वजस्तै हामीलाई पनि ग्रसित बनाएको छ । तैपनि, चुनौतीसँग डटेर समाधान गर्न सकिए समाधान निकाल्न सकिन्छ भन्ने तथ्यका आधारमा रातदिन फिल्डमै छौं । सीमासीमामा पुगेर गस्ती र पेट्रोलिङ नियमित बनाइहेका छौं । लकडाउन व्यवस्थित बनाउनेक्रममा हामी ६ महिनाको अवधिमा निरन्तर अघि बढेर विद्यमान संकट निवारण गरिरहेका छौं । अझै यो संकट समाधानका लागि धेरै खटिनुपर्ने अवस्था छ । काठमाडांैमा निषेधाज्ञा जारी छ । त्यसैले आमनागरिकले भोग्नुपरेका समस्या नजिकबाटै अनुभूति गरिरहेका छौं । अहिले पनि संक्रमण बढेको अवस्था भएकाले सतर्क र संवेदनशील हुनुपर्ने अवस्था छ ।
अन्तर्सरकारी निकाय समन्वय कस्तो छ ?
लकडाउनको चौतर्फी छ । यो असर बयान गरेर साध्य छैन । निषेधाज्ञा सफल बनाउने दायित्व ‘प्रहरी प्रशासनको मात्रै हो कि ?’ भन्ने बुझियो, त्यसरी बुझ्नु हुँदैनथ्यो । त्यसैले ‘सेक्टरल मिनिस्ट्री’बाट संयुक्त संयन्त्र बनाएर लकडाउन र निषेधाज्ञा सफल बनाउनेदेखि जनताका समस्या र गुनासा समाधान गर्ने किसिमले अघि बढ्न राम्रो हुन्छ । जनस्तरबाट सरकारी निकायको प्रभावकारी समन्वय हुन नसकेको हो कि भन्ने गुनासा आइरहेका छन् । हामीले ती गुनासा सकारात्मक रूपमा लिएर अघि बढ्नुपर्छ । सीसीएमसी र गृह मन्त्रालयबाट दिइएका निर्देशन पनि प्रभावकारी कार्यान्वयन गरिरहेका छांै । हामी चौतर्फी समन्वय गर्दै अघि बढिरहेका छौं । जिल्लास्तरमा दर्जनौं पटक बैठक बसेर तत्कालीन समस्या निकास खोज्ने काममा छौं । काठमाडांै, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग मैलै नै समन्वय गर्दै सामूहिक एकता र निर्णयका आधारमा अघि बढिरहेका छौं ।
कोभिड नियन्त्रणमा नागरिकको जिम्मेवारी पनि उत्तिकै छ नि ?
सबैभन्दा ठूलो जिम्मेवारी नागरिककै हो । सरकारी निकायले सहजीकरण र नागरिकका समस्या समाधान प्रयास गर्ने हो तर कोभिड फैलन नदिन सबैभन्दा ठूलो नागरिककै भूमिका हुन्छ । संक्रमण भएमा लुक्ने वा भाग्ने कार्य गरिनु भएन । कतिपय त क्वारेन्टाइनबाटै भागेका छन्, यो गलत हो । त्यसैले नागरिकमा अनुशासन अत्यावश्यक छ । कोभिड व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण छ । यस्तो अवस्थामा कसैले पनि लपारवाही गर्नुहुँदैन । सबै सचेत बन्नैपर्छ । सबैले आआफ्नो भूमिका इमानदारीतापूर्वक पालना गर्नुपर्छ । कोभिडले कसैलाई चिन्दैन । जोसुकैलाई बाँकी नराख्ने भएकाले सबै सचेत, संवेदनशील र अनुशासित बन्नुपर्छ ।
काठमाडौंमा कोभिडका कारण पूर्वाधार र विकास निर्माणका कार्य रोकिएका हुन् र ?
केही सुस्त भए पनि भौतिक पूर्वाधार र सडक निर्माण रोकिएका छैनन् । लकडाउना काठमाडौंका सडक रातारात चिल्ला बनाइनेक्रम जारी छ । खाल्टाखुल्टी पुरिनेक्रम जारी छ । सम्माननीय प्रधानमन्त्रीज्यूले सबै खाल्टाखुल्टी पुर्न दिनुभएको निर्देशन पालना गर्दै राजधानीका खाल्टाखुल्टी पुर्ने काम सरोकारवाला निकायले गरिरहेका छन् । बाग्मती, विष्णुमति करिडोरदेखि चक्रपथमा सडक निर्माण र मर्मत गर्ने कार्यलाई तीव्रता दिइरहेका छांै । लकडाउनपछि तत्कालै सुरुङ मार्ग निर्माण कार्यलाई पनि तीव्रता दिएका छौं । यसको जग्गा प्राप्ति काम सम्पन्न गरेका छौं । यसैगरी फास्ट ट्र्याकको जग्गा प्राप्तिलाई पनि पूरा गरेका छौं । यस्तै, चक्रपथ महाराजगन्जमा दोस्रो चरणको सडक विस्तार सुरु गरेका छौं । तीनकुनेको जग्गा अधिग्रहण कार्यलाई अघि बढाएका छौं । यसरी मेरो करिब एक वर्षको कार्यकालमा शान्ति सुरक्षा अवस्था मजबुत बनाउनेदेखि कोभिड संकट व्यवस्थापन गर्दै जिल्लामा भौतिक पूर्वाधार निर्माणलाई समेत द्रुत गतिमा अघि बढाइएको छ । यसका साथै जिल्ला प्रशासन कार्यालयको आन्तरिक कार्यविधि (एसओपी) तयार पारिसकेको छु ।
आन्तरिक कार्यविधि बनाउनुको उद्देश्य ?
यहाँ आएपछि सर्वसाधारणलाई दिने सेवा सहज बनाउने उद्देश्यले आन्तरिक कार्यविधि (एसओपी) बनाएको छु । आन्तरिक कार्यविधिले दुई महत्वपूर्ण कार्य गर्छ । एउटा संस्थागत स्मरण दिन्छ । दोस्रो, काममा एकरूपता दिन्छ । यसले प्रणाली बनाउँछ । त्यसमा ‘क्लिक’ गरेपछि सबै कामका तौरतरिका देखाउँछ र सोहीअनुसारका काम हुन्छ । हामीले वार्षिक प्रगति पनि तयार गरिसकेका छौं । समग्रमा काठमाडांैको शान्ति सुरक्षा अवस्था अत्यन्तै सुदृढ छ । कोभिड संकट व्यवस्थापनमा पनि सफलता हासिल गरिरहेका छौं । भ्रष्टाचारमा शून्य सहनशीलता नीति अख्तियार गर्न सफल भएका छौं । सबै सरकारी कार्यालयमा सेवाप्रवाह प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका छौं ।
कालोबजारी र कार्टेलिङ रोक्न कतिको सफल भइयो त ?
अहिले तरकारीलगायत केही खाद्य वस्तुको मूल्य अत्यधिक बढ्यो भन्ने गुनासो आइरहेको छ । यसरी अस्वाभाविक रूपमा भइरहेको मूल्यवृद्धि रोक्न वाणिज्य विभागसँग सहकार्य गरी अनुगमन टोली खटाइरहेका छौं । काठमाडौं उपत्यकामा २० लाख मास्क कालोबजारी गर्नेलाई कारबाही गरेपछि सबै डराए । अर्को सुलभ प्रकरण थाहा नै छ । थर्मलगनको कालोबजारी गर्ने ठूलो व्यापारिक घरानियाँका सुलभ अग्रवाललाई पक्राउ गरी कारबाही गरेपछि अरुले गर्न सकेनन् । यसरी कालोबजारी गर्नेलाई निरुत्साहन गरी कालोबजारी रोक्न पूर्ण रूपमा सफल भइरहेका छौं । यसैगरी, अढाई करोडको जुवा मुद्दा पनि चलाएर कारबाही ग-यौं । कालोबजारी गर्ने व्यक्तिमाथि ठुल्ठूला कारबाही ग-यौं, जसका कारण छिटफुटबाहेक ठुल्ठूला घटना घट्न पाएनन् भन्ने विश्लेषण हो । हामीले लकडाउनका समय पनि आपूर्ति व्यवस्था अन्यन्त सहज बनायौं । ग्यास, खाद्यान्न, तेल आत्यावश्यक सामग्री अभाव हुन दिएका छैनांै । नागरिकको हरेक दुःखसुखको साथी बन्न सफल भइरहेका छौं । मेरो एक वर्षे कार्यकाल अत्यन्त सफल भयो । आमजनता समस्या केन्द्रबिन्दुमा राखेर काम गरें । नागरिकलाई परेको असहजता ठाउँका ठाउँ पुगेर समाधान पहल गरें ।
तत्कालीन अवस्थामा सबै प्रकारका समस्या समाधान गर्ने योजना कसरी बढ्दै छ ?
कोभिड सन्त्रासबाट बच्नु र बचाउनु नै प्रमुख लक्ष्य हो । लकडाउन र निषेधाज्ञा समयमा पनि कालोबजारी गर्ने सोच कसैले राखेको छ भने उनीहरूलाई ठाउँका ठाउँ कारबाही गर्नेगरी टोली परिचालन गर्नेछांै । नियमित अनुगमन गरेका छौ । कालोबजारी र कार्टेलिङ तथा कृत्रिम अभाव सिर्जना गरी आमजनतालाई दुःख दिने र ठग्ने जोसुुकैलाई कान्ुनी कठघरामा ल्याउन पछि पर्नेछैनौं । कालोबजारी गर्नेमाथि कठोर कदम चाल्नेछौं । योजना बनाएर संयुक्त अनुगमन गरेका छौं ।
यो समय सबैबाट के अपेक्षा छ ?
हामी कोभिड सन्त्रासमा भएकाले त्यसबाट बच्न मुख्य तीन काम गरौं– मास्क लगाऔं, भौतिक दुरी कायम र स्यानिटाइजर लगाऔं । यी ग-यौं भने दायित्व पूरा हुन्छ । र, सहजै बच्न सकिन्छ । पालिकासँग विनम्र अनुरोध छ– साधनस्रोत सम्पन्न भएकाले उनीहरूले आआफ्नो पालिकामा क्वारेन्टाइन बनाउनुपर्छ । सबै एनजिओ–आइएनजिओ नागरिकलाई सुरक्षा प्रदान र सरकारलाई सहयोग गर्नेगरी लाग्नुपर्छ । उनीहरूले सरकारसँग सहकार्य गर्नुपर्छ । तर विडम्बना उनीहरू हराए । यस्तो अवस्थामा गैरसरकारी संस्थाको भूमिका नदेखिनु दुर्भाग्यपूर्ण अवस्था हो । सबैले आआफ्नो ठाउँबाट निष्ठा र इमानदारीतापूर्वक काम गर्नुपर्छ भन्ने मान्यता हो ।






