माङसेबुङको सामाजिक सुरक्षा भत्ता सचिवको गोजीमा

इलाम । इलामको माङसेबुङ गाउँपालिकाका ३ जेष्ठ नागरिक सामाजिक सुरक्षाको अधिकारबाट वञ्चित भएका छन् । वडा नम्बर २ सुमसाजुमका जेष्ठ नागरिक हरिप्रसाद श्रेष्ठ, हरिप्रसादकी पत्नी पुर्णमाया श्रेष्ठ र अर्का जयमंगल श्रेष्ठले आर्थिक वर्ष २०७६।०७७ को दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।

उनीहरुले कानुन बमोजिम लगत कट्टा भएर भत्ता नपाएका भने होइनन्, वडा सचिवले नै भर्पाई गरेर बुझिलिएको भएपनि सचिवले आफूहरुलाई भत्ता रकम नदिएको उनीहरुको गुनासो छ । दोस्रो चौमासिकको ३ जनाको १२ हजार रुपैयाँका दरले ३६ हजार रुपैयाँ तत्कालिन वडा सचिव सुलभ दहाले बुझेर आफैंले खर्च गरेको पाइएको छ ।

सचिव दहालले आफैंले भर्पाई गरेर बुझेको रकम सम्बन्धित जेष्ठ नागरिकको संरक्षकले पटकपटक माग गर्दा समेत दिएका छैनन् । ‘म तीन पटक आफ्नो बाबु आमाको भत्ता लिन सचिवज्यू कहाँ गएँ । तर उहाँले दिनुभएन, दुःख मात्र दिनुभयो’ हरिप्रसाद र पूर्णमायाका छोरा धनप्रसाद श्रेष्ठले भने, ‘सुरुसुरुमा त फोन गर्दा एकदुई दिनमा दिन्छु भन्नुहुन्थ्यो । आजकल त फोन नै उठाउन छाड्नुभयो ।’

यता वडा अध्यक्ष पुष्पराज कार्कीले ३ जनाकै सामाजिक सुरक्षा भत्ता वडा सचिवले बुझिलिएको र सचिवसँगै भएकाले उपलब्ध गराइदिन आफूले पटकपटक ताकेता गरेको बताए । तर वडा अध्यक्षको ताकेता समेत वेवास्ता गर्दै तत्कालिन वडा सचिव दहालले पीडितलाई रकम उपलब्ध गराएका छैनन् । दहाल अहिले २ नम्बर वडामा छैनन् । उनी हाल ३ नम्बर वडामा कार्यरत छन् ।

यस विषयमा जिज्ञासा राख्दा तत्कालिन वडा सचिव दहालले आफूले भर्पाई गरेर बुझिलिएको स्वीकार गर्दै तत्काल आफूसँग नगद नभएकाले केही दिनमा उपलब्ध गराईदिने प्रतिवद्धता जनाए । त्यसो त पीडित तिनै जना जेष्ठ नागरिकले तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता भने पाएका छन् । अघिल्लो चौमासिकको भत्ता रकम दोश्रो वा तेश्रो चौमासिकमा प्राप्त गर्न सकिने कानुनी व्यवस्था भएको भएपनि उनीहरुले तेस्रो चौमासिकको भत्ता मात्र पाएका हुन् ।

अघिल्लो चौमासिकमा सो रकम फिर्ता भएको भए पछिल्लो चौमासिकमा दुवै चौमासिकको रकम निकासा हुने हो । तर अघिल्लो चौमासिकको रकम वडा सचिवले नै बुझेको हुनाले अभिलेखमा स्वतः रकम बुझेको देखिएको हुनाले पछिल्लो चौमासिकमा एक चौमासिकको रकम मात्र आएको हो । तेस्रो चौमासिकको रकम बैंकिङ प्रणालीमार्फत वितरण गरेका हुनाले प्रक्रिया पुगेका सबैले सामाजिक सुरक्षा भत्ता पाएका छन् ।

ऐनमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति बसाइँ सरी अन्यत्र गएमा, असहाय एकल महिलाले विवाह गरेमा, ऐन बमोजिम सामाजिक सुरक्षा भत्ता पाउन योग्य नभएमा, मृत्यु भएमा, तोकिए बमोजिमका अन्य अवस्थामा मात्र भत्ता कटौती हुने व्यवस्था छ । सामाजिक सुरक्षा नियमावली, २०७६ को दफा ४ (२) (क) मा असक्त जेष्ठ नागरिक, अशक्त र असहाय नागरिक, असहाय एकल महिला वा आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता निसको संरक्षक माथवर वा स्याहार सुसार गर्ने व्यक्तिलाई उपलब्ध गराउन सकिने व्यवस्था उल्लेख छ ।

सामाजिक सामाजिक सुरक्षा ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम संघीय सरकारले चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । सरकारले स्थानीय तहमार्फत तोकिएको प्रक्रिया र माध्यमबाट चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको हो । पछिल्लो तथ्याङ्क अनुसार माङसेबुङ गाउँपालिका २ मा २ सय ८१ जना सामाजिक सुरक्षा भत्ता पाउने नागरिक छन् ।

नेपालको संविधान बमोजिम नागरिकहरुको सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्ने उद्देश्यले जेष्ठ नागरिक, आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई सुरक्षा भत्ता वितरणको व्यवस्था गरेको हो । सोही अनुसार तोकिएका नागरिकले चौमासिक रुपमा नै सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।

यता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली सुवेदीका अनुसार तीन जनामध्ये जयमंगल र पूर्णमाया श्रेष्ठले दोस्रो चौमासिक अनुपस्थित रहेको र रकम नबुझेको हुँदा खातामा जम्मा भएको बताए । सुवेदीले वडा सचिवसँग बुझ्दा गाउँमा उनीहरु आफैँ नआई परिवारका व्याक्तिले बुझेको हुनसक्छ तर पैसा त दिएकै छु भन्ने कुरा आएको पनि प्रमुख प्रशासकिय अधिकृत सुवेदीको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 472 times, 1 visits today)

epaper

ताजा समाचार

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक जारी