भूकम्प प्रभावित १४ जिल्ला मध्ये पुननिर्माणमा सिन्धुपाल्चोक अगाडी छ : सन्तोष निरौला (भिडियाेसहित)

सन्तोष निरौला : प्रमुख ,जिल्ला आयोजना कार्यन्वन इकाइ, सिन्धुपाल्चोक

२०७२ को भुकम्पबाट सिन्धुपाल्चोक भौतिक र मानवीय हिसाबले सबैभन्दा बढी क्षती भयो । भुकम्पको पराकम्पन अझै रोकिएको छैन । भुकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोकमा भुकम्प गएको ठिक एक वर्षपछि निजी आवस पुननिर्माण सुरु भएको थियो । निजी आवस पुननिर्माण सुरु भएको साढे ४ वर्षको अवधीमा निजी आवस पुननिर्माण तिव्र गतिमा अघि बढिरहेको छ । निजी आवस मात्रै होइन भुकम्पमा क्षतीग्रस्त सरकारी कार्यालय,विद्यालय लगायत अन्य संरचना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ ।

सरकारी कार्यालयहरुको त पुननिर्माण करिब सकिएको छ । भुकम्प अति प्रभावीत १४ जिल्ला मध्ये निजी आवस पुननिर्माणमा सिन्धुपाल्चोक अगाडी छ । पुननिर्माणमा उल्लेख प्रगती गरेकै कारण यो वर्षको निजामती दिवसको अवसरमा जिल्ला आयोजना कार्यान्वयन इकाइ(भवन) सिन्धुपाल्चोकका प्रमुख सन्तोष निरौला पुरस्कृत पनि भए । निजी आवस र सरकारी कार्यालयहरु पुननिर्माणको जिम्मा पुननिर्माण प्राधिकरणले जिल्ला आयोजना कार्यन्वयन इकाइ(भवन) कार्यालय खडा गरेर त्यसको जिम्मेवारी दिएको थियो । निजी आवस,एकिकृत बस्ती र सरकारी कार्यालयहरुको पुननिर्माणमा केन्द्रीत रहेर जिल्ला आयोजना कार्यान्वयन इकाई(भवन) सिन्धुपाल्चोकका प्रमुख सन्तोष निरौलासँग राजधानीकर्मी दिनेश थापाले गरेको कुराकानी :

भुकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा पुननिर्माणको अवस्था कसरी अघि बढीरहेको छ ?

निजी आवस पुननिर्माणमा सिन्धुपाल्चोक हालसम्म अग्रणी अवस्थामा रहेको छ । करिब ९० हजार लाभग्राही रहेको सिन्धुपाल्चोकमा ९५ प्रतिशतले दोस्रो किस्ताबापतको रकम लिनु भएको छ भने ९० प्रतिशतले अन्तिम किस्ता लिनु भएको छ । सबै लाभग्राहीहरुले सम्झौता गरिसक्नु भएको छ । गत वर्षको भुकम्प दिवसमा समेत हामीलाई उत्कृष्ट कार्य गरेको भनेर सम्मान गरिसकेको अवस्था छ त्यसैले हामी भुकम्प गएको जिल्लाहरुमा चलिरहेको पुननिर्माण विशेष गरी निजी आवसमा अग्रणी स्थानमा रहेका छौ ।

पुननिर्माण प्राधिकरणले पटक–पटक गुनासो सम्बोधनको समय थपिरहेको छ,यसले गर्दा यहाँहरुलाई पुननिर्माणमा केही समस्या भएको छ की ?

लाभग्राही कोही छुटेको छ की भनेर गत वर्ष प्राधिकरणले अन्तिम पटक पुन सर्वेक्षण गरेको थियो । त्यतीबेला हामीले प्राविधिकहरु खटाएर सर्वेक्षण गर्दा १८ हजार लाभग्राहीहरु हामीले केन्द्रमा पठाएका थियौ । त्यो पठाएको मध्ये २ हजार त नयाँ लाभग्राही भएर आइसकेको छ । गुनासोलाई पुनारवेदन गर्ने समय अझै बाँकी रहेको छ , पुननिर्माणको काम अझै बढीरहेको छ। सरकारले जहिले सम्म अब पुननिर्माण सकियो भनेर घोषणा गर्देन त्यो बेला सम्म यो पुननिर्माणको कार्य सकिदैन जस्तो लाग्छ ।

भुकम्पपछि निर्माण सम्पन्न भएका एकिकृत वस्ती

करिब ९० हजार लाभग्राही रहेको सिन्धुपाल्चोकमा ९५ प्रतिशतले दोस्रो किस्ताबापतको रकम लिनु भएको छ भने ९० प्रतिशतले अन्तिम किस्ता लिनु भएको छ । सबै लाभग्राहीहरुले सम्झौता गरिसक्नु भएको छ

२०६८ को जनगणनामा सिन्धुपाल्चोकको कुल घरधुरी ६८ हजार थियो,अब यही अवस्था रहने हो भने त लाभग्रांहीको संख्या त बढेको बढेकै हुने भयो नी हैन ?

त्यही त त्यो बेलाको जनगणनामा ६८ हजार थियो । १० वर्ष भइसकेको छ जनगणना भएको पनि अहिलेकै अवस्था हेर्ने हो भने त सिन्धुपाल्चोकमा लाभग्राहीको संख्या १ लाख पुग्ने जस्तो अनुमान हामीले गरेका छौ । भुकम्प गएपछि बनाएको कार्यविधिमा जुन घर भत्कीएको छ त्यो घरलाई मात्रै पुननिर्माणको अनुदान दिने नीति थियो । तर भुकम्पपछि त घरमा रहेका सबैले छुट्टा छुट्टै घर बनाउदा पनि लाभग्राही बढेको बढेकै गरेको हो जस्तो लाग्छ ।

यसो भए अब सिन्धुपाल्चोकमा पुननिर्माण कहिले सकिन्छ त ?

होइन हामीले पुननिर्माण यो वर्ष करिब अन्तिम हुने थियो तर यो वर्ष कोभिडका कारण धेरै समस्या भयो । गत वर्षको पुस १२ लाई अन्तिम मिति तोकिएको थियो । सरकारले फेरी म्याद थपियो भने यो आर्थिक वर्षमा चाँही पुननिर्माण करिब अन्तिम हुन्छ जस्तो लाग्छ ।

यहाँले नै दिनु भएको तथ्यांक हेर्ने हो भने पनि करिब ९० प्रतिशतले घर निर्माण गरिसकेका छन्,यति भएपछि त अब पुननिर्माण सकियो भनेर घोषणा गर्न मिल्छ होला नी त ?

सरकारले एउटा ‘क्राइटयरिया’ ल्याउनु प-यो कति प्रतिशत घर निर्माण सम्पन्न भएपछि पुननिर्माण सकिएको घोषणा गर्ने भनेर । अहिले पनि सिन्धुपाल्चोकका धेरै स्थानीय तहका वडाहरुले पुननिर्माण सकिएको घोषणा गरिसकेको अवस्था छ । अर्काे विषय जसलाई आवश्यक छ,उहाँहरुले घर बनाइसक्नु भएको छ । बाँकी रहेकाहरुले विस्तारै घर बनाउउदा पनि हुन्छ भन्ने मानसिकताका कारण पनि घर निर्माण गरिरहनु भएको छैन । पहिलो किस्ता लिएपनि घर नबनाउने हरु अझै पनि धेरै छन् । अन्तिम किस्ता लिएपनि अहिलेसम्म छाना नहालेका धेरै घरहरु छन् । त्यसैले मैले भन्न खोजेको चाँही आवश्यकता भएकाहरुले घर निर्माण गरिसक्नु भएको छ । जिल्लामा हामीले पुननिर्माण समयमा नै सम्पन्न गर्नका लागि धेरै सचेतनाका कार्यक्रमहरु गरिरहेका छौ तर पनि घर बनाइरहेको अवस्था छैन । अहिलेसम्मको अवस्था हेर्दा पहिलो किस्ता लिएका जम्मा ३५ जनाले मात्रै किस्ताको रकम फिर्ता गरेका छन् । पहिला रकम लिइहाले,खर्च भइहाल्यो,अहिले फिर्ता गर्ने पैसा पनि छैन घर बनाउन सक्ने अवस्था पनि छैन त्यसैले सरकारले यो भन्दा कडा कानुन नल्याउदा सम्म त समस्या नै हुन्छ जस्तो लागेको छ ।

भुकम्पपछि निर्माण सम्पन्न भएका सरकारी कार्यालय

अहिलेसम्मको अवस्था हेर्दा पहिलो किस्ता लिएका जम्मा ३५ जनाले मात्रै किस्ताको रकम फिर्ता गरेका छन् । पहिला रकम लिइहाले,खर्च भइहाल्यो,अहिले फिर्ता गर्ने पैसा पनि छैन घर बनाउन सक्ने अवस्था पनि छैन त्यसैले सरकारले यो भन्दा कडा कानुन नल्याउदा सम्म त समस्या नै हुन्छ जस्तो लागेको छ ।

१२ स्थानीय तह मध्ये पुननिर्माणको अवस्था कस्तो छ र यहाँहरुलाई जनप्रतिनिधिहरुले कतिको सहयोग गरिरहनु भएको छ नी पुननिर्माणमा ?

स्थानीय तहमा जनप्रतिनिधि आएपछि यो पुननिर्माण कार्यमा हामीलाई धेरै नै सहयोग भएको छ,यसले गर्दा पनि पुननिर्माणको गति बढेको हो । अहिले सबैको सहयोगको कारण नै सिन्धुपाल्चोकमा पुननिर्माणको रफतरा बढी नै रहेको हो । १२ स्थानीय सरकार मध्ये चौतारा साँगाचोकगढी नगरपालिका,सुनकोशी,बलेफी गाउँपालिका लगायतका स्थानीय तहमा पुननिर्माण अन्तिम जस्तै भएको छ । भोटेकोशी,हेलम्बु लगायतका स्थानीय तहमा यो गति अलि पछि नै छ । प्राकृतिक प्रकोपका कारण पनि ति स्थानीय तहमा पुननिर्माणले अपेक्षीत सुधार हुन सकेन । अब अहिले फेरी प्राकृतिक विपत्तीका कारण पुननिर्माण भएका धेरै घरहरु भत्किएका छन् । अब बाँकी रहेको पुननिर्माणको जिम्मा स्थानीय सरकारलाई नै दिनु पर्छ जस्तो लाग्छ । अहिले पनि करिब २ हजार घर सुरु नै गर्न सकिएको छैन ।

यहाँले भन्नु भए अनुसार नै अझै २ हजार घर सुरु नै गरिएको छैन,सुरु गरेपनि सम्पन्न भएको छैन,अब यसलाई बढाउनका लागि तपाँइहरुले कस्तो अभियान सञ्चालन गर्नुहुन्छ त ?

हामीले पुननिर्माणलाई तिव्रता दिनका लागि गत वर्षदेखि नै सामाजिक परिचालक र घुम्ती डकर्मीहरु थपेका छौ । हाम्ी अब सबै बस्तीहरुमा पुगेर घर किन पुननिर्माण भएन भनेर तथ्य पता लगाउँछौ । डीपीसी भएर पनि घर किन सकिएन भनेर हामी सर्वे गरिरहेका छौ । त्यो बाहेक जोखिममा रहेका लाभग्राहीहरुलाई लक्षीत गरेर हामी डकर्मीहरु आफै दिन्छौ,उहाँहरुले सामग्री दिएपछि सबै ‘लेबर कष्ट’ हामी उपलब्ध गराउँछ,यसो भयो भने छिटो हुन्छ की जस्तो लाग्छ ।

अझै पनि प्रबलीकरण(रोक्टोफिटीङ) लगायतमा समस्या देखिएको छ नी ?

सिन्धुपाल्चोकम करिब ५ सय घरहरु प्रबलीकरण गर्नुपर्ने अवस्था देखिएको छ । प्रबलीकरणका लागि १ लाख रुपियाँ लाभग्राहीहरुले पाउनु हुन्छ । तर धेरै लाभग्राहीहरु प्रबलीकरणमा इच्छुक देखिनु भएको छैन । पहिलो किस्ताको ५० हजार लिनु भयो,तर प्रबलीकरण गर्नुभएको अवस्था छैन , अब प्रबलीकरणमा परेको घर भत्काएर डीपीसी गर्ने हो भने हामी उहाँहरुलाई पुर्ण लाभग्राहीमा सुचीकृत गराउँछौ र त्यसको म्याद अझै बाँकी रहेको छ ।

भुकम्पमा सरकारी कार्यालयहरु पनि क्षती भएको थियो,सरकारी कार्यालयको पुननिर्माणको अवस्था चाँही के छ नी ?

भुकम्पमा क्षती भएका १६ सरकारी कार्यालयहरु हामीले पुननिर्माण सम्पन्न गरिसकेका छौ । अब एउटा हुलाक कार्यालय भवन मात्रै निर्माण हुन बाँकी छ , त्यो पनि केही महिना भित्रै निर्माण सम्पन्न हुदैछ । सरकारी कार्यालयको अवस्था हेर्दा हामी झण्डै सय प्रतिशतको हाराहारीमा नै पुगेका छौ ।

भुकम्पपछि विज्ञहरुले जोखिम भनेर पहिचान गरेकै स्थानमा पनि घर बनाउँदा यो वर्षको बाढीपहिरोमा धेरै घरहरु भत्किएको भनेर भनिएको छ र तपाँइहरुलाई यो आरोप पनि छ ?

भुकम्पपछि करिब २ सय ४२ बस्ती जोखिममा रहेको भनेर विज्ञहरुले प्रतिवेदन दिनु भएको थियो । त्यो मध्ये हाम्रो तिन क्याटगोरी थियो,क्याट१,क्याट २ र क्याट ३ । ति मध्ये क्याट १ बस्न मिल्ने,क्याट २ सामान्य सुधार गरेर बस्न सक्ने अवस्था र क्याट ३ ‘रेड जोन’ त्यहाँ बस्नै नसक्ने भनेर हामीलाई विज्ञहरुले रिपोर्ट दिनु भएको थियो । करिब ९० बस्ती क्याट २ र बस्नै नमिल्ने क्याट ३ मा ७० बस्ती थिए । त्यतीबेला क्याट ३ मा परेकाहरुलाई जग्गा खरिदका लागि प्राधिकरणले २ लाख सहित ५ लाख दिएको थियो । जुगलको लिदीलाई हामीले क्याट २ मा राखेका थियौ । अब हामी फेरी पनि पुनसर्वेक्षण गर्ने योजनामा छौ । बस्न नमिल्ने भनेर विज्ञहरुले रिपोर्ट दिएको स्थानमा हामीले घर बनाउन अनुदान नै दिएका छैनौ ।

भूकम्पपछि एकिकृत बस्ती निर्माणको लहर पनि सुरु भयो,सिन्धुपाल्चोकमा एकिकृत बस्तीको अवस्था चाँही कस्तो छ ?

भुकम्पपछि पहिलो पटक मेलम्ची नगरपालिकामा धुर्मुस सुन्तली फाउण्डेशनबाट एकिकृत बस्ती निर्माणको सुरुवात भयो यो नै पहिलो एकिकृत बस्ती हो । सिन्धुपाल्चोकमा अहिले २२ वटा बस्तीका लागि स्वीकृत भएको छ । ति मध्ये तिन वटा बस्ती निर्माण हुन बाँकी छ । एकिकृत बस्तीमा हामीले पुर्वाधारको काम गर्ने गरेका छौ । केही संघ संस्थाहरुले बनाएको एकिकृत बस्तीमा पुर्वाधारको काम हुन बाँकी छ । हामीले एकिकृत बस्तीमा पुर्वाधारको लागि गाउँपालिका हो भने ४ लाख,नगरपालिकामा ३ लाख र हिमाली क्षेत्र हो भने ६ लाख थप पुर्वाधारको लागि रकम दिन्छौ। हामीले एकिकृत बस्तीमा भौतीक,आर्थिक जिवन स्तर सुधारका लागि पनि बजेट दिने गरेका छौ । एउटा एकिकृत बस्ती हुनका लागि कम्तीमा पनि १० घर अनिवार्य हुनु पर्छ,त्यो भयो भने मापदण्डमा पर्छ र हामी पुर्वाधारको लागि स्वीकृत गछौ ।

भुकम्पपछि पहिलो पटक मेलम्ची नगरपालिकामा धुर्मुस सुन्तली फाउण्डेशनबाट एकिकृत बस्ती निर्माणको सुरुवात भयो यो नै पहिलो एकिकृत बस्ती हो

हामीले अहिलेसम्म एकिकृत बस्तीमा १ करोड रुपियाँसम्म पुर्वाधारको लागि खर्च गरेका छौ । अहिलेसम्म मोडल रुपमा बनेका बस्ती मध्ये त्याङथलीको बस्ती राम्रो छ । दात्तृ निकायको सहयोगमा निर्माण भएका एकिकृत बस्तीमा समुदायको गुनासो देखिएको छ । संघ संस्थाहरुको सीमित बजेटका कारण पनि भने जस्तो घर हरु र अन्य पुर्वाधारको काम नहुदा त्यहाँ बस्नेहरुको गुनासो देखिएको छ । अब एकिकृत बस्तीमा बस्नेहरुका लागि पुननिर्माण प्राधिकरणले आयआर्जन लगायतका कामहरु सुरु गर्नुपर्छ जस्तो लाग्छ । हामीले एकिकृत बस्तीमा पुर्वाधारको कामहरु हुदा त्यही बस्तीकालाई नै समिति बनाएर काम गर्न दिने गरेका छौ,त्यसो गर्दा केही आउ आर्जन पनि हुने र आफ्नो बस्ती पनि राम्रो सँग निर्माण हुने भएकाले हामीले त्यो उपायबाट कामहरु गरिरहेका छौ ।

तपाइको प्रतिक्रिया
(Visited 714 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान