काठमाडौं । नेपाल सरकारले करिब ८ हजार मेगावाटका जलविद्युत आयोजनाको अध्ययन सुरु गरेको छ । सरकारले दुई वर्षअघि नै बिजुली उत्पादनको लक्ष्य राख्दै ऊर्जासम्बन्धी श्वेतपत्रमा १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । सो लक्ष्य प्राप्त गर्न सरकार आफैंले लगानी गर्न र स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न जलविद्युत्आयोजनाको अध्ययन सुरु गरेको हो ।
विद्युत् विकास विभागले हाल ७ हजार ८२३ मेगावाटबराबरका ३० वटा आयोजनाको अध्ययन गरिरहेको विभागकी प्रवक्ता निसा रिजालले बताइन् । विभागले जलविद्युत्आयोजनाको अध्ययनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ । रिजालले साना ठूला गरेर ३० वटा आयोजनाको अध्ययन भइरहेको बताइन् । विभागले हाल सयमेगावाटभन्दा बढी क्षमताका ११ वटा आयोजनामा आफैंले अध्ययन गरिरहेको छ । त्यसमध्ये केही आयोजनाको अध्ययन प्रतिवेदन आउने क्रममा रहेको छ भने कुनैमा भर्खरै अध्ययन सुरु भएको छ ।
हाल अध्ययन गरिरहेको मध्ये सबैभन्दा ठूलो आयोजना खिम्ती शिवालय जलाशययुक्त आयोजना हो, जसको क्षमता १ हजार ८ सय २३ मेगावाट छ ।
सय मेगावाट भन्दा बढीका १२ वटा आयोजना सय मेगावाट भन्दा साना र ५० मेगावाटभन्दा ठूला ७ आयोजना र ११ आयोजना ५० मेगावाट भन्दा कमका रहेका छन् । सरकारले अध्ययन गरिरहेको सबै भन्दा ठूलो १ हजार ८ सय ५३ मेगावाटको खिम्ती शिवालय जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन यसै आर्थिक वर्षदेखि सुरु भएको छ । त्यस्तै,१ हजार १सय१६ मेगावाटको सुनकोसी–२, ८ सय ४४ मेगावाटको कालीगण्डकी स्टोरेज, ६ सय ७९ मेगावाटको तल्लो अरुण, ५ सय ३६ मेगावाटको सुनकोसी–३, ५ सय १० मेगावाटको बुर्वाङखोला, ३ सय ७२ मेगावाटको अरुण–४, ३ सय ७७ मेगावाटको नौमुरे स्टोरेज, ३ सय ३५ मेगावाटको माथिल्लो अरुण, २ सय ७६ मेगावाटको एसआर–०६ स्टोरेज, १सय११ मेगावाटको कोखाजोर स्टोरेज, १सय मेगावाटको माथिल्लो झिम्रुक स्टोरेज जलविद्युत् आयोजना रहेका छन् ।
सय मेगावाट भन्दा साना आयोजना सातवटा रहेका छन् । जसमा ५० मेगावाटको बेनी कालीगण्डकी, ६० मेगावाटको चमेलिया, ७८ मेगावाटको घुस्ना खोला, ९० मेगावाटको कन्काई बहुउद्देश्यी जलविद्युत् आयोजना, ८१ मेगावाटको लोहारे खोला–१, ९३ मेगावाटको शारदा बवई स्टोरेज र ६४ मेगावाटको यन्मा खोला जलविद्युत् आयोजना रहेका छन् ।
त्यस्तै, ५० मेगावाटभन्दा साना ११ वटा आयोजना रहेका छन् । १५ मेगावाटको सारु खोला, २ दशमलव १२ मेगावाटको नाग्मती, १५ मेगावाटको कवाडी खोला, ४९ दशमलव ५ मेगावाटको लाटट्ी कर्णाली, १९ दशमलव २८ मेगावाटको तल्लो चमेलिया, २५ दशमलव ३० मेगावाटको मध्ये इखुखोला, ३२ मेगावाटको भीमदाङ खोला, ६ दशमलव २० मेगावाटको बुढीगंगा, २ मेगावाटको छ्याँदुखोला, १७ दशमलव ५५ मेगावाटको जावाखोला, १५ दशमलव ४३ मेगावाटको जुगडा बुडीगंगा जलविद्युत् आयोजना रहेका छन् ।
सरकारसँग अध्ययन भएका आयोजना सीमित रहेकाले ठूला आयोजनाको अध्ययनमा केन्द्रित भएको छ । विद्युत् विकास विभागमार्फत अध्ययन भइरहेका आयोजना लगानी जुटाउँदै अघि बढाएर सरकारी लक्ष्य प्राप्त गर्ने उद्देश्य रहेको छ । विभागले हाल अध्ययन गरिरहेको मध्ये सबैभन्दा ठूलो आयोजना खिम्ती शिवालय जलाशययुक्त आयोजना हो, जसको क्षमता १ हजार ८ सय २३ मेगावाट छ ।






