इटहरी । इटहरीमा बिरामी भएको कागजात देखाएर ठगी गर्ने तीन युवक पक्राउ परेका छन्। विभिन्न अस्पतालको कागजातसहित उनीहरुले इटहरी–२ स्थित देविथान क्षेत्रमा स्थानीयसँगै छोराको मृर्गौलामा समस्या भएको, कान नसुन्ने, आँखा नदेख्ने भन्दै रकम माग्दै आएका थिए। पटक–पटक विभिन्न बहानामा पैसा माग्ने गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
खबरसँगै इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएका प्रहरीले उनीहरुको संकास्पद गतिविधि अनुसन्धान गरेका थिए। प्रहरीको टोलीले तीनै जनाले झुठो बहानामा आर्थिक सहयोग मागी ठगी गर्न खोजिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धरान १६ गैरीगाँउका २१ वर्षीय अमन मगर, भोजपुरका २५ वर्षीय मदन खत्री र झापाका ४२ वर्षीय ललित गिरी रहेका छन्। उनीहरु तीनै जना धरान १६ गैरीगाँउमा बस्दै आएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।






