काठमाडौं । हरि लम्साल पेशाले संगीतकार हुन् । उनले यस अघि चलचित्र सम्बन्धि संगीत वाहेक अरु काम गरेका थिएनन् । तर यसपटक उनी एकाएक चलचित्र निर्माण र निर्देशनमा उत्रिएका छन् । गजल संगीतमा आफ्नो फरक परिचय स्थापित गरेका हरिले आफ्नो निर्देशन एवम् निर्माणमा नयाँ चलचित्र ‘बाः एक योद्धा’ निर्माण गरेका छन् । अहिले उनी संगीत सृजना भन्दा यो चलचित्रको निर्माणमा व्यस्त छन् । चलचित्रलाई आगामी १९ भदौमा रिलिज गर्ने उनले बताएका छन् ।
यो चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, शबी थापा, अनिल बुढाथोकी, माओत्से गुरुङको अभिनय रहेको छ । हरि लम्साल कार्यकारी निर्माताको रूपमा रहेको यो चलचित्रमा मुख्य निर्माताको रूपमा अमेरिकामा बस्दै आएका वसन्त लम्साल रहेका छन् । चलचित्रको कथा हरिले नै तयार गरेका हुन् । परिवारमा बुबाको भूमिका र संघर्षको कथा उनले यो चलचित्रमा उठान गरेका छन् । यो चलचित्रमा लेखनसँगै संगीत पनि हरि लम्सालकै रहेको छ ।
चलचित्र पाश्र्व संगीतकार तथा पाश्र्व गायनमा परिचय बनाएका गायक एवम् संगीतकारहरू केही समय यताबाट चलचित्र निर्माणमा उत्रिएका छन् । यसै क्रममा डेढ दशक अघि संगीतकार तथा गायक यसकुमार चलचित्र निर्माणमा उत्रिएका थिए । उनले आफ्नो लगानीमा तीन वटा चलचित्र निर्माण गरे । ती तीन चलचित्र मध्ये ‘बाटो मुनीको फूल’ र ‘बाटो मुनीको फूल २’ व्यवसायिक रुपमा सफल भयो । उनको तेस्रो चलचित्र ‘छिरिङ’ भने व्यवसायिक रुपमा सफल हुन सकेन । यि तिन वटै चलचित्रमा आफू निर्मातासँगै अभिनेता र संगीतकारको रूपमा समेत उनी प्रस्तुत भए ।
यशकुमारपछि चलचित्र निर्माण तथा निर्देशनमा अर्का संगीतकार नारायण रायमाझी पनि उत्रिए । संगीतकार तथा गायक रायमाझीले यो १३ वर्षमा तीन वटा चलचित्र ‘गोर्खा पल्टन्’, ‘परदेशी’ र ‘परदेशी २’ निर्माण तथा निर्देशन गरिसकेका छन् । उनले आफ्नो चलचित्रमा संगीत पनि आफैँले गरेका छन् । यी संगीतकारलाई चलचित्र निर्माण कार्य फापेको छ । किनकी उनका यी तीन वटै चलचित्र व्यवसायिक रुपमा हिट भएका छन् ।
संगीत सृजनामा व्यस्त रहेका चेतन सापकोटा पनि एक दशक अघि ‘भाग सानी भाग’ मार्फत कार्यकारी निर्माताको रूपमा चलचित्र निर्माणमा उत्रिएका थिए । उनले अभिनेता सविन श्रेष्ठ र अभिनेत्री केकी अधिकारीलाई यो चलचित्रमा मुख्य भूमिकामा उतारेका थिए । चलचित्रका संगीतकार समेत चेतन आफैँ थिए । यो चलचित्रले आफ्नो लगानी सुरक्षित गरेर केही कमाएको उनको कथन छ । त्यतिबेला चलचित्रको कथा मन परेर आफू निर्माणमा लागेको उनले बताए ।
यस्तै गायक तथा संगीतकार यम बराल पनि चलचित्र निर्माणमा उत्रिएका थिए । उनले ८ वर्ष अघि आफ्नो कथामा चलचित्र ‘भैरे’ निर्माण गरेका थिए । यो चलचित्रमा उनी कार्यकारी निर्माताको रूपमा थिए । दयाहाङ राई, बिक्रान्त बस्नेत, वर्षा सिवाकोटी, सुरक्षा पन्त, सुनिल थापाको मुख्य भूमिका रहेको यो चलचित्र पनि व्यवसायिक रुपमा लगानी उठाउन सफल भएको यमले बताए ।
यो क्रमलाई अग्रज संगीतकार कशम्भुजीत बासकोटाले पनि अघि बढाए । ७ वर्ष अघि शम्भुजीतले आफ्नो लगानीमा चलचित्र ‘चौका दाउ’ निर्माण गरेका थिए । यो चलचित्र व्यवसायिक रूपमा सफल समेत भएको थियो । यो चलचित्रको कथा बासकोटाले नै लेखेका थिए । जसमा संगीतकार पनि उनी आफैँ थिए । वर्षा राउत, सन्तोष पन्त, तैयव शाहलगायतका कलाकारको यो चलचित्रमा मुख्य भूमिका थियो ।
दुई वर्ष अघि संगीतकार तथा गायक प्रकाश सपुत पनि चलचित्र निर्माणमा उत्रिए । उनले आफ्नो गृह व्यानरमा चलचित्र ‘वसन्त’ निर्माण गरे । यो चलचित्रमा उनी निर्मातासँगै निर्देशक, कथाकार, संगीतकार, गायक, नायक जस्ता विविध भूमिकामा प्रस्तुत भए । प्रकाससँगै स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘वसन्त’ व्यवसायिक रूपमा भने सफल हुन सकेन । त्यसपछि चलचित्र निर्माणलाई चटक्कै छाडेर उनी अभिनयमै व्यस्त रहेका छन् ।
यस्तै अर्का संगीतकार तथा गायक रामकृष्ण ढकाल पनि यसपटक चलचित्र निर्माणमा उत्रिए । उनले आफ्नो लगानीमा चलचित्र ‘मालती मंगले’ निर्माण गरे । विजय वराल र वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र ‘मालती मंगले’ गत २५ वैशाखमा चलचित्र घरमा रिलिज भएको थियो । तर यो चलचित्र व्यवसायिक रुपमा भने सफल हुन सकेन ।
यति बेला अर्का संगीतकार अर्जुन पोखरेल पनि चलचित्र निर्माणमा उत्रिएका छन् । उनले नयाँ चलचित्र ‘वेहुली’ निर्माण गरेका छन् । यो चलचित्रलाई १२ भदौबाट चलचित्र घरमा रिलिज गर्ने सोमबार काठमाडौँमा आयोजित एक समारोहबिच निर्माता एवम् संगीतकार आर्जुनले बताए । अर्जुन यो चलचित्रका कार्यकारी निर्माता हुन । यसमा रहेका सबै गीतमा अर्जुनकै संगीत रहने छ ।
उनको यो चलचित्रमा पारस बम ठकुरी (कुलब्वाय) दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेललगायतको अभिनय रहेको छ । चलचित्रको कथा प्रभावशाली भएका कारण साथीहरूसँग आफू यो चलचित्रमा निर्माताको रुपमा प्रस्तुत भएको संगीतकार अर्जुनले बताए । यो चलचित्रलाई जन्म अष्टमीको अवसर पारेर आगामी १९ भदौमा नेपालसहित विभिन्न देशमा रिलिज गरिने पनि निर्माता एवम् संगीतकार आर्जुन पोखरेलले जानकारी गराए । आफूलाई माधव शर्माले लेखेको यो चलचित्रको कथा मन परेका कारण यसको निर्माणमा जोडिएको पनि उनले जानकारी गराए ।
सम्बन्धित समाचार
नेपालमा पनि बन्न थाल्यो पुरानो चलचित्रको ‘रिमेक’
मौलिक खानासँगै काठमाडौंको टोल टोलमा चलचित्र महोत्सव
‘सुरिलो रुख’लाई ४ लाख पुरस्कार
जाँच समितिले किन हटायो धुमपान र मद्यपानका सचेतना ?
मौलिक गीत बिगार्ने ९५ वटा युट्युब च्यानल विरुद्ध उजुरी
सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
‘हली’ टिजरमा महिनावारी पीडा
७ दिवसीय छायांकन कार्यशाला गोष्ठी सम्पन्न






