सिन्धुपाल्चोक । सुन जस्तो पहेले धातु देखाएर पैसा लुट्न खोज्ने दुइ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाह्रविसे नगरपालिका–२ कर्थलीका दुई युवाले आफुहरुसँग सुन छ भन्दै केही दिन अघिदेखि काठमाडौंका एक युवासँग ‘डिल’ गर्दे आएका थिए । सुन किन्न खोज्ने र बिक्री गर्न खोज्ने बिच पैसाको ‘डिल’ हुदै गर्दा इलाका प्रहरी कार्यालय बाह्रविसेको टोलीले सुनकोशी गाउँपालिका–७ स्वाँराबाट ति युवाहरुलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले बाह्रविसे–२ का २४ वर्षीय भिमबहादुर तामाङ र सोही वडाका २३ वर्षका राजन तामाङलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक देवेन्द्रबहादुर शाहाले जानकारी दिए ।
‘एक किलो फाइन गोल्ड लेखिएको पहेलु धातु रहेछ, उनीहरुले २५ लाख रुपैयाँमा डिल गरेका रहेछन्’, प्रहरी निरीक्षक शाहाले भने– ‘पहेलु बस्तु सुन हो की हैन हामी परिक्षणका लागि पठाउँछौ ।’ ‘सुन खरिद गर्ने व्यक्ति केही दिनदेखि ती युवाहरुसँग सम्र्पकमा थिए, अलि बढी नै रकमबाट डिल भएर अन्तिममा २५ लाख रुपैयाँमा कुरा मिलेको रहेछ प्रहरी निरीक्षक शाहाले भने– ‘सुन खरिद हुनै लाग्दा हामी पुगेर उनीहरुलाई पक्राउ गर्न सफल भएका छौं ।’
प्रहरीले ती युवाको साथबाट एक थान मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । बाह्रविसे आसपसामा यसअघि पनि नक्कली डलर देखाउँदै लुट्ने सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेपछि केही वर्ष यतादेखि नक्कली डलर कारोबार रोकिएको थियो । नक्कली सुन देखाएर रकम लुट्न खोजेको भने यो पहिलो पटक हो ।






