नुवाकोट । कोभिड–१९ को त्रासकावीच नुवाकोटको बेलकोटगढी नगरपालिकाको बेलकोटगढीमा शनिवार सामूहिक जमरा राखिएको छ । गृह मन्त्रालयले देशभरका शक्तिपीठमा दर्शनको लागि प्रतिवन्ध लगाएपछि यस मन्दिरमा भने स्वास्थ्य सावधानी अपनाइ १२६ परिवारले सामूहिक जमरा राखेका छन् ।
बेलकोटगढी नगरपालिका वडा नं. १० स्थित बेलकोटगढीमा रहेको निरञ्जना भगवती मन्दिरको कोतघरमा यस वर्ष १८ दलितसहित १ सकय २६ परिवारले सामूहिक जमरा राखेका हुन् । कोतघर तथा दशैंघरमा जमरा राख्ने देशव्यापी प्रचलनबाहेक बेलकोटमा भने वर्षौदेखि सामूहिक जमरार राख्ने परम्परा रहँदै आएको छ । ‘परम्परादेखिको चलनलाई यस वर्ष पनि सामूहिक दूरी अपनाई स्वास्थ्य मापदण्डमा रहेर जमरा राखिएको हो’ बेलकोटगढी नपा–१० का वडाअध्यक्ष पूर्णबहादुर त्रिपाठीले भने– ‘जमरा राख्ने कि नराख्ने भन्ने अन्योलताकावीच परम्परालाई निरन्तरता दिइयो ।’ ‘राजा पृथ्वीनारायण शाहले नुवाकोट विजयी गरेपछि १८०२ पछि सामूहिक जमरा राखेको भनाई छ’ उपासे मानबहादुर रानाले भने ‘कोरोनाको संन्त्रासकावीच पनि आपसी सद्भाव धार्मिक सहिष्णुणतालाई कायम राख्ने काम महामारीका वीचमा पनि गरिएको हो ।’

पुस्तौदेखि मन्दिरमा सामूहिक जमराको अभ्यास चलेपनि केही वर्षदेखि मन्दिरमा जमरा राख्नेहरुको संख्या बढेको थियो । तर, यस वर्ष गृह मन्त्रालयले देशभरका शक्तिपीठमा दर्शन गर्न नजान आदेश गरेसँगै सामूहिक जमरा राख्ने कि नराख्ने भन्ने अन्यौलता छाएका कारण यस वर्ष गतवर्षको तुलनामा जमरा राख्नेको संख्या पनि घटेको निरञ्जना भगवती गढी क्षेत्र विकास समितिका सचिव श्यामराज कँडेलले बताए । यो मन्दिरमा दलित र गैरदलितवीच कुनै भेदभाव नहुने गरेको र समान रुपमा व्यवहार गरिने र जमरासमेत एकै ठाउँमा राखिने चलन लामो समयदेखि चलेको मन्दिरका पुरोहित नरनाथ पौडेलले बताए ।
वडादशैंसहितका अन्य पर्व मेला सञ्चालनको लागि र्पथ्वीनारायण शाहको पालादेखि नै गुठीको व्यवस्था गरिएपनि गुठीबाट पुजा सञ्चालन हुन नसकेको गढी क्षेत्र विकास समितिका अध्यक्ष कालीबहादुर तिवारीले बताए । मन्दिरको गुठी व्यवस्थित हुन नसकेका कारण बढादशैं पर्व सञ्चालनको लागि बेलकोटगढी नगरपालिकाले विगत तीन वर्षदेखि आवश्यक रकम प्रदान गर्दै आइरहेको बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताए । यो मन्दिरमा काठमाडौं हनुमान ढोकाको बैद्दिक विधि अनुसार बढादशैं पुजा सञ्चालन हुँदै आएको छ ।






