काठमाडौं । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैंका लागि खसीबोका बिक्री गर्ने भएको छ । कम्पनीले बिहान ८ बजेबाट थापाथलीस्थित कार्यालयबाट खसीबोका बिक्री गर्न लागेको हो । कम्पनीले खसीबोकाको प्रतिकेजी मूल्य ५ सय ६० रुपैयाँ निर्धारण गरेको छ । जसमा प्रतिकेजी १० रुपैयाँ छुट गरेर उपभोक्तालाई प्रतिकेजी ५ सय ५० रुपैयाँ बिक्री गर्ने कम्पनीले जानकारी गराएको छ ।
खाद्य व्यापार कम्पनीले बजार मूल्य नियन्त्रण गर्न दसैंमा खसीबोका र च्यांग्रा बिक्री गर्दै आएको छ । नेपालीको महान्चाड दसैंको समयमा निजी क्षेत्रले बजारमा मनपरी मूल्य लिएर उपभोक्ता नठगून् भन्ने उद्देश्यले सरकारी स्वामित्वमा रहेको कम्पनीले दसैं खसीबोका बिक्री गर्दै आएको हो ।
व्यापार कम्पनीले यो दसैंका लागि १ हजार ६ सय खसीबोका र १४ सय च्यांग्रा बिक्री गर्ने योजना बनाएको भएपनि १ हजार खसीबोका मात्र बिक्री गर्ने भएको छ ।
खाद्य व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले यो वर्षमा किसानको गोठमा नै च्याग्राको मूल्य महँगो पर्ने भएकाले यो दसैंमा कम्पनीले च्यांग्रा बिक्री गर्ने कार्यक्रम स्थगित गरेर खसीबोका मात्र बिक्री गर्ने बताइन् ।
सूचना अधिकारी सुवेदीले किसानको गोठमै प्रतिकेजी च्यांग्राका मूल्य ७ सय रुपैयाँभन्दा बढी पर्दा काठमाडौं आइपुग्दा धेरै नै महँगो पर्ने भएपनि कम्पनीले यो दसैंमा च्यांग्रा बिक्री गर्ने कार्यक्रम नै स्थगित गरेको बताइन् ।
सूचना अधिकारी सुवेदीका अनुसार कम्पनीले यो दसैका लागि ५ करोड ९९ लाख ८४ हजार रुपैयाँमा खासीबोका र च्यांग्र्रा ल्याउन बजेट छुट्याएको थियो । १६ सयवटा खसीबोका ल्याउने योजना बताएको थियो भने १४ सय च्याग्रा ल्याउने योजना बताएको थियो । १६ सयवटा खासीबोका ल्याउन २ करोड ६१ लाख २० हजार रुपैयाँ छुट्याएको थियो । यसैगरी, १४ सयवटा च्यांग्रा ल्याउन कम्पनीले ३ करोड ३८ लाख ६४ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।
यसैगरी, गतवर्ष कम्पनीको दसैंका लागि कम्पनीले ५ करोड ५१ लाख ९२ हजारमा ३ हजार खसीबोका र च्यांग्रा ल्याएको थियो । ४ करोड ५१ लाख २ हजारमा च्यांग्रा ल्याएको थियो भने खसीबोका १ करोड ४६ लाख ८० हजार रुपैयाँमा ल्याएको थियो । गत वर्षको दसैका लागि कम्पनीले १८ सय च्यांग्रा र ११ सय खासीबोका ल्याएको थियो ।
थापाथलीस्थित कार्यालयका प्रमुख पवित्र गौतमले यसवर्ष दसैंका लागि खाद्य कम्पनीका १ हजार खसीबोका मात्र बिक्री गर्ने बताए । उनले दसैंमा कम्पनीको खसीबोका च्यांग्रा दुवै बिक्री गर्ने योजना भएपनि कम्पनीले च्यांग्रा ल्याउन नसकेपछि खसीबोका मात्र बिक्री गर्न लागेको बताए ।
१ हजार खसीबोकामध्येमा ४ सय ५ वटा खसीबोका काठमाडौंको थापाथलीस्थित कार्यालयमा आइपुगेको उनले बताए । बाँकीबाटोमा ल्याउने क्रम रहेको उनले बताए । उनले विभिन्न ठाउँका संकलन गरेर ल्याएका खसीबोकामध्ये अहिलेसम्म काठमाडौं आइपुगेका धेरैजस्तो खसी भएको बताए । ४ सय ५ वटामध्ये बोका जम्मा २० देखि २५ वटा मात्र रहेको बताए कार्यालय प्रमुख गौतमले बताए ।






