खोटाङ । दिवंगत शिक्षक शुभशेर राईको सम्झनामा स्थापना गरिएको ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शुक्रबार जिल्लाकै एक शिक्षक र उत्कृष्ट अङ्क ल्याउने एक विद्यार्थीलाई पुरस्कृत गर्दै थप चारजनालाई सम्मान गरेको छ ।
४३ वर्ष शिक्षण पेसामा बिताएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका स्वर्गीय राईको पाँचौँ वार्षिक पुण्यतिथि तथा प्रतिष्ठानको चौथो साधारणसभाको अवसरमा दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रम आयोजना गरि पुरस्कृत तथा सम्मान गरेको हो ।
परिवारका १९ सदस्यले वार्षिक कमाइको ०.५ प्रतिशत योगदान गर्दै चार वर्षअघि स्थापना गरेको ११ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोषबाट उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको प्रतिष्ठानका महासचिव लक्ष्मीप्रसाद खनालले जानकारी दिए । ‘जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार–२०८३’ साकेला माध्यमिक विद्यालय रतन्छामा कार्यरत शिक्षक इन्द्रकुमार तामाङलाई ५५ हजार ५५५ रुपैयाँ नगदसहित प्रदान गरिएको छ ।
त्यसैगरी ‘जिल्ला उत्कृष्ट विद्यार्थी पुरस्कार’ चम्पावती माध्यमिक विद्यालय बुइपाका कक्षा–७ का छात्र आनन्द श्रेष्ठलाई सात हजार ७७७ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ । यसबाहेक ‘जिल्ला शिक्षक नेतृत्व सम्मान’ सरस्वती माविका शिक्षक टंक कटुवाल, ‘उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष सम्मान’ हिमालय माविका अध्यक्ष सप्तमणि राई, ‘जिल्ला उत्कृष्ट प्रधानाध्यापक सम्मान’ लक्ष्मी माविका प्रधानाध्यापक कृष्णबहादुर राई र ‘दीर्घसेवी शिक्षक सम्मान’ जनता आधारभूत विद्यालय नेर्पाका प्रधानाध्यापक झमप्रसाद आचार्यले प्राप्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा एमाले केन्द्रीय सदस्य एवम् पूर्वसामाजिक विकासमन्त्री उषाकला राई र प्रतिष्ठान अध्यक्ष देवबिक्रम राईले पुरस्कार तथा सम्मानपत्र वितरण गरेका थिए । कार्यक्रममा स्वर्गीय शिक्षक राईको तस्बिरमा माल्यार्पण गरिएको र परिवारले यसवर्ष सङ्कलन गरेको ९० हजार रुपैयाँ प्रतिष्ठानलाई हस्तान्तरण गरेको समेत जनाइएको छ ।
सम्बन्धित समाचार
गछिया युवा समाजको वार्षिकोत्सवमा ६० विद्यार्थीलाई शैक्षिक सामग्री
इनरुवाको ग्रीनसिटीमा १२ हजार बिरुवा रोपिँदै
साझा फूलबारीमा सबै जातजाति र धर्मका फूल फुल्नुपर्छ : प्रदेश प्रमुख खापुङ
अलैँची रोप्न व्यस्त इलामका किसान
विद्यार्थीलाई आईपीओमा जोड्दै इलामको रोङ
माङसेबुङमा ‘अपाङ्गता भएका नागरिक घरपरिवारलाई बिमा कार्यक्रम’
जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु
सामाजिक परीक्षणमा एफडब्लुएलडीको प्रशंसा






