काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा विशेष महाधिवेशन पक्षले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको भन्दै शशांक कोइराला पक्षले आपत्ति जनाएको छ ।
पार्टीको विवाद समाधान नहुँदै महाधिवेशनका गतिविधि अघि बढाए कांग्रेस संरचनागत रूपमा विभाजनतर्फ जाने चेतावनीसमेत दिइएको छ ।
विशेष महाधिवेशन पक्षलाई शशांकको चेतावनी
कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी मुद्दामा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको डिभिजन बेञ्चको निर्णयविरुद्ध पुनरावलोकनका लागि निवेदन दिएको र सर्वोच्चको पूर्ण इजलासबाट पुनरावलोकनको अनुमति (निस्सा) प्राप्त भइसकेको उल्लेख गर्दै शशांक कोइराला पक्षले अहिले उक्त मुद्दा अदालतमा विचाराधीन रहेको जनाएको छ ।
शशांक कोइरालाले जारी गरेको विज्ञप्तिमा यही अवस्थामा विशेष महाधिवेशनबाट गठित पक्षले १५औँ महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै कोइराला पक्षले विशेष महाधिवेशनका कारण कांग्रेसको केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित रहेको दाबी गरेको छ ।
‘यस्तो गम्भीर विवादको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले अधिवेशन वा महाधिवेशन गरे पार्टीका सबै तहमा संरचनागत रूपमा विभाजनको प्रक्रिया सुरु हुने’ विज्ञप्तिमा उल्लेख छ ।
पार्टी विभाजनको प्रभाव आगामी स्थानीय तह तथा प्रदेश सभा सदस्य निर्वाचनमा समेत पर्ने दाबी गर्दै कोइराला पक्षले विशेष महाधिवेशन पक्षलाई अधिवेशन वा महाधिवेशन आयोजना नगर्न आग्रह गरेको छ ।
विज्ञप्तिमार्फत कांग्रेसका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई त्यस्ता गतिविधिमा सहभागी नहुनसमेत अपिल गरिएको छ ।
कांग्रेसभित्र पार्टीको आधिकारिकता र नेतृत्वको विषयलाई लिएर विवाद चर्किएपछि संस्थापन र विशेष महाधिवेशन पक्षबीच समानान्तर गतिविधि हुँदै आएका छन् । पछिल्लो समय विशेष महाधिवेशन पक्षले १५औँ महाधिवेशनको कार्यतालिका अघि सारेपछि विवाद थप पेचिलो बनेको हो ।
सम्बन्धित समाचार
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
यो सरकारले समयमै रासायनिक मल सुनिश्चित गर्न सकेन : प्रचण्ड
देवानगञ्ज-कप्तानगञ्ज घटनामा न्यायिक आयोग गठन गर्न काँग्रेसको माग
कोपमा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीको निमन्त्रणा
निराशालाई आशामा बदल्ने दायित्व कांग्रेसले लिनुपर्छ: देउवा
आफ्नै दलका सांसदप्रति गृहमन्त्री असन्तुष्ट
देउवा नेतृत्वमा १५ औं महाधिवेशन: बिमलेन्द्र निधि (प्रतिवेदनसहित)
रास्वपामा को-को भए पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य ?






