भान डाइकले सिजन गुमाउन सक्ने

लन्डन । इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । प्रिमियर लिगको पछिल्लो खेलमा एभर्टनविरुद्ध चोट बोकेका डाइकको घुँडाको सल्यक्रिया गर्नुपर्ने देखिएको हो ।

मर्सिसाइड डर्वीमा लिभरपुलले शनिबार एभर्टनसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । नेदरल्यान्डका २९ वर्षीय डिफेन्डर पहिलो हाफमा एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डसँग ठोक्किएका थिए । त्यसपछि उनी चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । चोटका कारण उनी कति समय मैदान बाहिर रहन्छन् भन्ने टुंगो लागेको छैन । तर, उनले कम्तीमा पनि यो सिजन गुमाउने सम्भवना रहेको छ । भान डाइकले अगाडिको चुनौतीका लागि म तयार रहेको बताएका छन् ।

सेल्टिक र साउथह्याम्टनका पूर्व डिफेन्डरको चोटको जाँच क्रममा घुँडामा क्षति पुगेको देखिएको छ । चोटको प्रकृति गम्भीर प्रकारको छ । ‘म निको हुन केन्द्रित छु । त्यसका लागि सबै चिज गर्नेछु । म चाँडोभन्दा चाँडो मैदान फर्कनेछु,’ उनले भनेका छन् । ‘स्पष्ट निराशाको बाबजुत म एक दृढ विश्वासवाला व्यक्ति हुँ । म कठिनाइभित्र अवसरमा विश्वास गर्छु । भगवान्को सहयोगबाट यो सुनिश्चित गर्न चाहन्छु, म पहिलेभन्दा अझ फिट र बलियो बनेर फर्कनेछु,’ भान डाइकले भने ।

शल्यक्रिया लामो समय चल्ने र लिभरपुलका डिफेन्डर कति समय मैदान बाहिर रहने टुंगो छैन । शल्यक्रिया तत्काल गरिने छैन र यसको व्यवस्था अहिलेसम्म गरिएको पनि छैन । क्लब स्रोतका अनुसार उनी यस सिजन मैदान फर्कने सम्भावना कठिन छ । उनको पुनरागमन उनको पुनस्र्थापनामा निर्भर रहनेछ । सन् २०१८ मा ७५ मिलियन पाउन्डमा लिभरपुल आएपछि भान डाइक क्लबका मुख्य खेलाडी बनेका छन् । उनले क्लबबाट दुई सिजन खेलेका छन् ।

भान डाइकको आगमनसँगै प्रिमियर लिगको पहिलो सिजन उपविजेता बनेको लिभरपुलले दोस्रो सिजनमा ३० वर्षपछि उपाधि जितेको थियो । गत वर्ष च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि जित्दा भान डिजिक क्लबका मुख्य खेलाडी थिए । उनले लिभरपुलबाट १३० खेल खेल्दा १३ गोल गरेका छन् । यो सिजन उनले ८ खेल खेल्दै एक गोल गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

दुर्गम संखुवासभाको सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण