काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । आज शनिबार बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सीता नेपालीले संसदीय दलका नेताविरुद्धको अविश्वासको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।
बैठकमा उपस्थित १८ जना संसदहरुले अविश्वासको प्रस्तावविरुद्ध मत हालेका हुन । नेकपा कर्णाली प्रदेशको संसदीय दलमा ३३ जना सांसद छन् । ति मध्ये पूर्व माओवादी केन्द्रका १० जना र पार्टीका वरिष्ठ नेता माधव नेपाल समूहका आठ जना सांसद बैठकमा उपस्थित थिए ।
सुर्खेतमै रहेर पनि कँडेल समूहबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा लागयतका नेता भने बैठकमा उपस्थित भएनन् । असोज २५ गते सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले संसदीय दलका नेता एवम् मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।






