झापा । लिग विजेता सान मिगेल मछिन्द्र क्लबले सिजनको पहिलो उपाधिका रूपमा तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको झिलझिलेस्थित स्थानीय गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा आइतबार भएको फाइनलमा रुस्लान थ्रीस्टार क्लबलाई १–० ले पराजित गर्दै मछिन्द्रले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो ।
थ्रीस्टारका खेलाडी असोक खवासले मछिन्द्रका खेलाडी एडिलाजा सोमिडेलाई पेनाल्टी बक्समा फउल गरेपछि प्राप्त पेनाल्टीले मछिन्द्र च्याम्पियन बन्न सफल भएको हो । मछिन्द्रका बिमल घर्ती मगरले पेनाल्टीमा गोल गर्न सफल भएका थिए । लिग सकिएलगतै ‘ए’ डिभिजनक टोली सताक्षी गोल्डकप खेल्न पुगेका थिए । सुरुवाती खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टी गोल नै मछिन्द्रलाई जितमा लागि निर्णायक बनायो ।
२३औं मिनेटमा पेनाल्टी एरिया नजिकबाट थ्रीस्टारका लालरामवियाको प्रहार पोटबाट थोरै बाहिरिँदा थ्रीस्टार बराबरीबाट चुक्यो । ३९औं मिनेटमा अशोक खवासको पासमा लालरामवया पुन चुके । ४३औं मिनेटमा मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ बिट भएको अवस्थामा लालरामवियाको प्रहार रक्षक देवेन्द्र तामाङले गोललाइनबाट क्लियर गर्दै बराबरी टारे । ४६औं मिनेटमा रेजिन सुब्बाको पासमा विमल घर्तीमगरको प्रहार आकासियो ।
६१औं मिनेटमा दीपेश घलेको प्रहार आकासियो । ६६औं मिनेटमा एन्द्रियस नियाको हेडर रिवाउन्ड हुँदा विशाल राई ‘बी’ को प्रहार थ्रीस्टारका गोलरक्षक पूर्ण चेम्जोङले पन्च गर्दै बचाए । ७४औं मिनेटमा मिक्छेन तामाङको फ्रि–किक क्रसबारमा लागेर फर्कदा थ्रीस्टार चुकचुकाएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा मछिन्द्र १–० ले विजयी हुँदै च्याम्पियन बन्न सफल भयो । मछिन्द्रका देवेन्द्र तामाङ फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार पाए ।
उपाधिसँगै मछिन्द्रले ६ लाख रुपैयाँ हात पा-यो । उपविजेता बनेको थ्रीस्टारले ३ लाख रुपैयाँमा चित्त बुझायो । थ्रीस्टारका कप्तान बिक्रम लामा प्रतियागिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले ५० हजार रुपैयाँ हात पारे । प्रतियोगताभर दुई गोल गरेका थ्रीस्टारका सञ्जोक राई सर्वाधिक गोलकर्ता भए । उनले २५ हजार रुपैयाँ हात पारे
मछिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, मछिन्द्रकै पिटर सेगुन उत्कृष्ट रक्षक, मछिन्द्रकै रेजिन सुब्बा उत्कृष्ट फरवार्ड चुनिए । थ्रीस्टारका रुपेश केसी उत्कृष्ट मिडफिल्डर चुनिए ।
मछिन्द्रका प्रवेश कटुवाल उत्कृष्ट प्रशिक्षक भए । उनीहरूले समान २० हजार रुपैयाँ हात पारे । आयोजक सतासीधाम स्पोर्टिङ क्लबका सञ्जित राई उदीयमान खेलाडी घोषित भए । उनले २० हजार रुपैयाँ पाए ।
विजयी टोली तथा खेलाडीलाई अखिल नेपाल फुटबल क्लब (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, आयोजकका अध्यक्ष रमेश लावतीलगायतले पुरस्कृत गरे ।






