काठमाडौं । अग्रज साहित्यकार भुवनहरि सिग्देलको ३५औं कृति ‘लालस’ उपन्यास प्रकाशित भएको छ । यो पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो । काठमाडौंमा आइतबार एक समारोहबीच समालोचक राजकुमार बानियाँ, उपन्यासकारद्वय शैलेन्द्र अधिकारी र तर्कना शर्मा, प्रकाशक श्रीमती शोभा पौडेल, डिजाइनर सन्तोष दाहाल र लेखक भुवनहरि सिग्देलले संयुक्त रूपमा सो पुस्तक विमोचन गरेका हुन् ।
उपन्यास सबै खालका पाठकको मन जित्न सफल हुने कुरामा ढुक्क रहेको प्रकाशक पुष्पराज पौडेलले बताए । ‘लालस’ उपन्यासमा संवेदनशील भावुकता, लालित्यपूर्ण भाषाशैली र करुणामय बोधमय रहेको पनि प्रकाशक पौडेलले बताए । पाठकका लागि यो पुस्तक विशेष खुराक रहेको पनि उनले दाबी गरे ।
पुस्तकको एक अंश सुनाउँदै उपन्यासकार सिग्देलले भने, ‘बहुमुखी अनुभवका अन्तर्मुखी उच्छालमा तरंगित आख्यानको गण्डकीजस्तो लाग्ने ! धन, दम्भ, अहंकार र द्वेषबाट जन्मिएका अद्भुत पात्र र तिनैले बनाएका कथाको माखेसांलो ! घृणा, धोका, प्रपञ्चका घटना र परिघटनाको महाजाल अनि त्यही त्रिवेणीमा घुमेको भुमरी ! पारदर्शी र अपारदर्शी नूतन जीवनबोधको अनुष्ठान ! यथार्थमा कल्पनाको अर्क मार्जनजस्तो ! विस्मयकारी घटना, लिप्सा, भोक र भोगको मनोविज्ञान हो, लालस !’ आफ्नो यो पुस्तक ऐतिहासिक कथावस्तुमा आधारित रहेको पनि उनले जानकारी गराए ।
शिखा बुक्सबाट प्रकाशित उक्त उपन्यासकोे मूल्य ४२५ रहेको छ । ‘लालस’ आजबाट नै बजारमा उपलब्ध रहेको प्रकाशकले बताएका छन् ।






