तिहारै आयो लौ झिली मिली
हे सुन हजुर भैलिनी आइन् आँगन…
तिहारमा सबैभन्दा बढी बज्ने र गाइने गीत हो यो । चलचित्र स्वर्गको यो गीतलाई लोचन भट्टराई र नूतनसिंह प्रधानले गाएका हुन् । जसमा अभिनेत्री गौरी मल्लको अभिनय गरेको छ ।
अभिनेत्री गौरीका अनुसार यो गीत आउनुभन्दा अघि तिहारमा भैली खेल्ने चलन केही फरक थियो । त्यतिबेला गीत गाउनुको सट्टा देउसीजस्तै भैली पनि भट्याइन्थ्यो । तर, तिहारै आयो लौ झिली मिली…गीत चलचित्र स्वर्गमा आएकै वर्षबाट तिहारमा भैलिनीहरूले यो गीत गाउन थालेको हुन् । यो गीतलाई तिहारमा गाउने क्रम अहिलेसम्म पनि जारी रहेको उनले बताएकी छन्, ‘जब तिहार आउँछ, तब मेरो यो गीत बज्ने र यसमा नाच्ने गरिन्छ । त्यतिबेला चलचित्र स्वार्गको यो गीत, यो गीतमा आफूले नाचेका ती पलहरू मा झलझली सम्झने गर्छु ।’
आफ्नो घरमा देउसी भैली खेल्न आउनेहरूले यो गीत गाउँदा गौरीलाई झनै रमाइलो लाग्दो रहेको छ । यो गीतमा जब उनलाई भैलिनीहरूले तानेर नचाउँछन । त्यतिबेला आफू घरमा भैलिनीहरूसँग भन्दा पनि त्यो चलचित्रका भैलिनीहरूसँग नाचिरहेको महसुस हुँदोरहेछ ।
यो तिहारको भैलिनी गीतको छायांकन माघमा गरिएको थियो । दिनभरि चलचित्र स्वर्गको क्लाइमेक्स फाइट छायांकन गरेपछि राति यो गीतको छायांकन गरिएको गौरीले बताइन् । यो गीतको छायांकन पूरा गर्न करिब चार रात लागेको थियो । चाँगुनारायणको एउटा घरमा सेट बनाएर यो गीतको भिडियो छायांकन गरिएको थियो । गौरीको अनुसार शिव श्रेष्ठ र उनको घरको सेटमा यो गीतको छायांकन गरिएको थियो । १०१ फरेनहाइटको ज्वरो र खोकीले सताउँदा सिटामोल खाँदै आफूले यो गीतको छायांकन गरेकाले पनि यो गीत आफ्नीलाई निकै महŒवपूर्ण भएको उनले बताइन् ।
शम्भु प्रधानको निर्देशनमा तयार भएको चलचित्र स्वर्गको यो गीतले नेपालमा भैलिनी संस्कृतिमा नाचगानको विकास गरेको यी अभिनेत्रीको दाबी छ । यसपछि थुप्रै भैलिनी गीत आए पनि यो गीत नै कालजयी बन्न सकेको उनले बताइन् । शताब्दीसम्म पनि यो गीत तिहारमा बजिरहने यी अभिनेत्रीको विश्वास छ ।
अभिनेत्री गौरी मल्लको भनाइमा उनलाई सबैभन्दा मनपर्ने पर्व नै तिहार हो । तिहारमा प्रकृति पूजा, पशुपन्छीको पूजा, दीपावली, भाइटीकाजस्ता विविध कार्यका कारण पनि आफूलाई तिहार बढी मनपर्ने गरेको पनि गौरीले बताइन् ।
बाल्यकालमा उनी तिहार भनेपछि भुतुक्कै हुन्थिन् ।
साथीहरूसँग रातभर भैली खेल्न गौरीलाई निकै रमाइलो लाग्यो । उनी पैसाभन्दा फलफूल सेल संकलन गर्न पाउँदा अझ खुसी हुन्छिन् । भैली खेल्न जाँदा लडेका घटना र धेरै पैसा पाउँदाको खुसी पनि उनले सुनाइन् । तिहार संस्कृति प्रकृति र मानिसलाई जोड्ने र सम्मान एक अर्काबीच सम्मान गरिने भएकाले पनि यो पर्वको महŒव बढी हुने गरेको पनि उनले बताइन् ।






