पर्वमा कोरोनालाई बेवास्ता नगरौं

नेपाली समाजमा कोरोना महामारी संक्रमणको अंक उकालो लागिरहेका बेला दसैं, तिहार र छठजस्ता ठूला चाड पर्वहरू एकपछि अर्को गरी लाइन लागेर आए । समयले पनि यस्तै गरायो र ऋतुले पनि यस्तै दोहो¥यायो । तर, हामी भने आफैंमा सतर्क हुनु जरुरी थियो र छ पनि । तथापि तिहारमा केरोनाको महामारी नभएझैं खुला रूपमा गतिविधि भएका देखिए । यसले स्थितिलाई थप चिन्ताजनक बनायो । त्यसैले पनि महामारी संक्रमित बिरामीको संख्या बढ्दो छ । यसलाई नभएको र नदेखेको झैं गर्नु हुँदैनथ्यो । समुदायमा एक जनाले ‘म एक जना त हुँ नि’ भनेर त्यसो गर्न थालियो भने हरेक मानिस एक जना नै हुन्छ । तर, त्यसको असर हजारौं जनामा पर्न जान्छ । आखिर त्यो एक जना पनि बच्न सक्दैन । परिवार व्यक्तिबाट बन्ने र समाज परिवारबाट बन्ने भएकाले हामी समाजबाट कोही पनि अछुतो र एक्लो छैनौं । त्यसमा पनि हामी एकै परिवार त हौं नि वा नातेदार त हो नि भनेर पनि बच्न सक्दैनांै । ठीक यहीँनेर आँखा चिम्लन पुग्यौं । हामी एकापसमा आफन्त हौं नै तर हामीमध्ये कसैमा भएको महामारीको संक्रमण भने हाम्रो आफन्त होइन । यसमा आँखा चिम्लने गर्नु ठूलो गल्ती हो ।

पर्वहरूमा तराईमा सबैभन्दा महत्वका साथ मनाइने पर्व छठ हो । यो हाम्रो आँगनमा आइपुगेको छ । यसको तयारी घरघरमा भइरहेको छ । ससाना नानीहरूदेखि युवा, अधबैंसे र ज्येष्ठ नागरिकसम्म यो पर्वको आगमनमा निकै खुसी छन् । मन चहचह बनाएको छ, पर्वले । सूर्यलाई अर्घ दिने सामान तयारी गरिरहेका छन्– हजुरआमा, आमा, दिदीबहिनी र समस्त चेलीहरूले ! भावना प्रवल भएको छ । श्रद्धाले आत्मा ओतप्रोत भएको छ । मनले आँटिरहेको छ– सामूहिक रूपमा किन नहोस्, सामाजिक दूरी कायम गरेर नै अस्ताउँदो सूर्यलाई अर्घ दिऊँ । तर, घाटमा अर्घ दिन जाँदा आफन्त आएका छन्, छिमेकी नै आएका छन् र गाउँकै मानिसहरू छन् । किन नभेटूँ र किन सँगै जोडिएर अस्ताउँदो सूर्यलाई अर्घ नदिऊँ ? आखिर सामीप्यले अँगालो हाल्छ, सबैलाई अर्घ दिन हतारो हुन्छ । त्यसपछि एकक्षण त हो, भगवान्ले पनि त बचाउलान् भन्नेसम्मको मन हुन जान्छ । यसैबाट कोरोनाले थप संक्रमणको बाटो पाउन सक्छ । त्यसैले सतर्क रहेर घरघरबाटै सूर्यलई अर्घ दिऔं ।

अर्कोतिर चिसो पनि बढ्दै छ । यही बेलामा निमोनियाको अत्यधिक डर बढेर गएको छ । अरू वर्षहरूमा भन्दा यो वर्ष चिसो पनि निकै नै छ । महामारीको संक्रमण पनि बढ्दै गइरहेको छ । हरेक व्यक्ति हरेकसँग सतर्क रहनुपर्ने बेला आएको छ । यसले गर्दा मात्र महामारीको संक्रमणबाट बच्न सकिने अवस्था उत्पन्न हुन गएको छ । महामारी हामी सबैको साझा दुश्मन हो । हामी उक्त महामारीका सिकारजस्तै हौं । त्यसैले हामी भुलेर पनि त्यसको आक्रमणको घेरा र निशानाभित्र पर्नुहुँदैन । त्यसको सबैभन्दा उत्तम उपाय हो, सामाजिक दूरी कायम राख्नु । लापर्बाही नगर्नु र हरदम सतर्कता अपनाइरहनु । त्यसैले, घरघरमा चाडपर्व मनाऔं, सतर्कता अपनाऔं ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

यी प्रदेशका केही स्थानमा आज भारी वर्षाको पूर्वानुमान