लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबसँग सम्झौता नवीकरण गरेका छन् । स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले बिहीबार थप दुई वर्षका लागि नयाँ सम्झौता गरेका हुन् । यससँगै ग्वार्डिओला सन् २०२३ सम्म सिटीमा रहनेछ । ग्वार्डिओलाको सम्झौता यसै सिजनको अन्त्यसम्म रहेको थियो ।
४९ वर्षीय प्रशिक्षक ग्वार्डिओला सन् २०१६ मा जर्मन क्लब बायर्न म्युनिखबाट सिटी आएका थिए । त्यसअघि उनी क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक रहेका थिए । सिटीसँगको नयाँ सम्झौतापछि ग्वार्डिओलाले सिटीमा राम्रो आतिथ्यता रहेको र यहाँको खेलाडी, अफिसियल, समर्थक, म्यानचेस्टरका जनता, सिटीको अध्यक्ष र मालिकबाट राम्रो साथ पाइरहेको बताए ।
उनले सिटीमा रहँदा ठुलो सफलता पाएको र एकैसाथ ट्रफी र गोल गर्न सफल हुँदा गौरवको महसुस भइरहेको बताए । ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले तीन इएफएल कप, दुई प्रिमियर लिग, दुई एफए कम्युनिटी सिल्ड र एक एफए कप जितेका छन् । ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले च्याम्पियन्स लिग भने जित्न सकेको छैन ।






