हरेक वर्ष चार नारायणको मेला भर्न प्यम्ह नारांद्यः सीकः वनेगु भन्दै नोवरहरूले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार कार्तिक शुक्ल एकादशी हरिबोधिनी एकादशीका दिन भक्तपुरका चाँगुनारायण, स्वयम्भू हल्चोकका इचंगुनारायण, फर्पिङका शेष नारायण र गोदावरीका विशंखुनारायण स्थानमा गई मेला भर्ने गर्छन् । हरिबोधिनी एकादशीदेखि सकिमिला पूर्णिमासम्म यसलाई भीष्म पञ्चक पनि भनिन्छ । यो अवधिमा विष्णु भगवान् नारायणको आराधना गर्नाले इच्छ्याइएको वर प्राप्त हुने विश्वासले गर्दा नै उपत्यकाका भक्तजनहरूले यी चार नारायणको पूजा गर्न जाने गरेका हुन् । यो हरिबोधिनी एकादशीका दिन व्रत बसेर सखरखण्ड, पिंडालु, बदाम र फलफूल खाएर भत्तजनहरूले श्रद्धापूर्वक मान्ने गर्दछन । हरिबोधिनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ ।

वर्षको २४ वटा एकादशी हुने भए तापनि हरिशयनी र हरिबेधिनी एकादशी भनि वर्षमा दुईपटक मात्र विशेष रूपमा मान्ने गर्दछन् । असार शुक्लपक्ष एकादशीका दिन भगवान् विष्णु नारायण मस्तसँग सुत्ने दिनलाई हरिशयनी एकादशी भनिन्छ । यो दिन क्षीर सागरमा सुतेका नारायण हरिबोधिनी एकादशीका दिन मात्रै बिउँझिने हो । अर्को एउटा भनाइअनुसार हरिशयनी एकादशीदेखि सुतिरहेका नारायणलाई मार्ने यही मौका हो भनी मुर नामक दैत्यले नारायण भगवान्लाई मार्न भनी अगाडि जाँदा नारायणका शरीरबाट दिव्य अस्त्रले सुसज्जित एउटी कन्या उत्पन्न भई त्यस दैत्यलाई मारिदिएको दिनको रूपमा पनि यो हरिबोधिनी एकादशी मान्ने गरिएको हो भनिन्छ ।

चार नारायणको मेला भर्ने भन्दै चाँगु, इचंगु, शेष । विशंखुनारायण स्थानमा गई दर्शन गरेता पनि बूढानीलकण्ठ नारायणलाई पनि मान्ने गरिन्छ । बूढानीलकण्ठ नारायणको उत्पत्ति’bout एउटा ऐतिहासिक तथ्य पाइन्छ । कलिगत संवत १५०० तिर राजा हरिदत्त बर्माको शासनकालमा बूढानीलकण्ठ रहेको स्थान किसानहरूले धान सुकाउने स्थान थियो । एकपटक सुकाई राखेको धान सबै चामल भएको देखी अचम्म मान्दै किसानहरूले राजा हरिदत्त बर्मालाई सुनाउँदा राजाले त्यस ठाउँमा उत्खनन गराउँदा एउटा ठूलो आकारको उत्तानो परिरहेको नारायणको मूर्ति देखियो ।

जमिन खन्दा मूर्तिको नाक अलिकता चोइटिएको स्थानबाट रगत र दूध एकैचोटि बग्न थाल्यो । यस्तो दृश्य देखेर आत्तिएका राजाले उपत्यकाका चार नाकामा स्थित चाँगु, शेष, इचंगु र विशंखुनारायणलाई क्षमा पूजा गरेर चार नारायणको मेला भर्ने परम्परा चलाएका हुन् । गोपाल वंशावलीमा ६९७ सालमा राजा विष्णु गुप्तले पानीमा उत्तानो परिरहेका बूढानीलकण्ठ नारायणको निर्माण गराएको कुरा उल्लेख गरिएको छ । हरिबोधिनी एकादशीदेखि सकिमिला पूर्णिमा सम्म बूढानीलकण्ठ नारायण स्थानमा ठूलो मेला लाग्दछ ।

चार महिना अघि आषाढ शुक्ल एकादशीका दिन आआफ्ना घरमा रोपेका तुलसीको बोटको विवाह गर्ने पर्वको रूपमा मनाइने भएकाले पनि यो हरिबोधिनी एकादशीको ठूलो महŒव रहिआएको छ । आषाढ शुक्ल हरिशयानी एकादशीका दिन क्षीर सागरमा शयन गरिरहेका भगवान् नारायण यो दिन जागा हुने भएकाले पनि यो दिनलााई ‘हरिबोधिनी एकादशी’ भनिएको हो । यो दिन गरिने चारायणको उपासनाले धेरै फल प्राप्त हुने कुरा पुराणमा उल्लेख गरिएको छ । पुराणका अनुसार यो दिन स्नान, दान, तप आदि गर्नाले निक्कै धेरै फलदायी हुनेछ ।

चतुर्मास भरी नारायणको उपासना गर्ने परम्पराअनुसार भगवान्को महिमा पाठ गरिन्छ भने विभिन्न स्थानमा श्रीभगवद् महापुराणको पाठ पनि गरिन्छ

भगवान् नारायण क्षीर सागरमा शयन गरिरहेको समयमा कुनै पनि शुभमंगल कार्य गर्न हुँदैन भन्ने मान्यताअनुसार यो चतुर्मासको समयमा शुभ विवाह, व्रतबन्ध, नयाँ घरमा प्रवेश आदि कार्य गरिँदैन । ज्योतिष मान्यताअनुसार पनि यो समयमा साइत निस्कदैन । शुभमंगल कार्य गर्न हरिबोधिनी एकादशीपछि अर्थात् चतुर्मासपछि मात्र साइत आउने भएकाले मंसिर महिनामा विवाह आदि असल कर्म गरिन्छ । वैदिक परम्परामा भने सूर्य उत्तरायण भएपछि मात्र विवाह ब्रतबन्ध आदि गर्ने आदेश दिइएको छ । चतुर्मास भरी नारायणको उपासना गर्ने परम्पराअनुसार भगवान्को महिमा पाठ गरिन्छ भने विभिन्न स्थानमा श्रीभगवद् महापुराणको पाठ पनि गरिन्छ ।

उपत्यकाका यी चार नारायण चाँगु, इचंगु, शेष र विशंखुको अत्यन्तै ठूलो महŒव छ । उपत्यकाको उत्तरपूर्व दिशामा स्थित चाँगुनारायणको मन्दिर प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थ स्थल पनि हो । काठमाडौंबाट १३ किलोमिटर टाढा यो मन्दिर करिब ५ हजार फिट उचाइमा रहेको छ । दोलागिरी पर्वतमा पाँचौं शताब्दीमा लिच्छविकालीन राजा मानदेवले बनाएको चाँगुनारायण मन्दिरलाई प्राचीन काष्ठकला, धातुकला र प्रस्तर कलामा उत्कृष्ट नमुनाको रूपमा लिन सकिन्छ । पेगौडा शैलीमा बनाइएको चाँगुनारायणको मन्दिर परिसरमा भएका विभिन्न मूर्ति र शिलालेखले प्राचीन समयको कला संस्कृतिलाई प्रदर्शन गरिरहेको देखिन्छ । यो मन्दिरको ढोका अघिल्तिर भव्य गरुडको मूर्ति र एक जोडी सिंह पनि छन् । मन्दिरभित्र रहेको प्रस्तर मूर्तिमा गरुडसँगै बसेका नारायणका चार हातले शंख, चक्र, गदा र पद्म समाइएको छ । नेपाल महात्यमा मनमती नदीमा स्नान गरी दोलागिरी पर्र्वतमा रहेका चाँगुनारायणको पूजा गर्ने मानिसलाई परलोकमा बैकुण्ठ वास पाइने कुरा उल्लेख गरिएको छ ।

उपत्यकाको दक्षिण पश्चिम दिशामा पर्ने काठमाडौंबाट १५ किलोमिटर टाढा अवस्थित रहेको छ, शेष नारायण मन्दिर । उपत्यकााको प्रसिद्ध शक्ति पीठ दक्षिणकालीसँगै फर्पिङमा शेषनारायणको मन्दिर पर्वतको खोंचमा छ । पर्वतको पहराबाट नारायणको मन्दिरलाई शेष नागले झैं ओडाइरहेकाले पनि शेष नारायण भनिएको हो भन्ने जनविश्वास छ । रमणीय प्राकृतिक वातावरणको मनोरम दृश्यले भरिपूर्ण यो मन्दिरको परिसरमा महादेवका साथै विभिन्न देवताका प्रस्तर मूर्ति पनि छन् । मन्दिरको मुन्तिर भागमा कुण्ड पनि छ । एक तल्ले मन्दिरभित्र गरुडमा सवार भएका चार हात भएका नारायणको प्रस्तर मूर्ति छ । शिखर नारायणका नामले पनि परिचित शेषनारायणको मन्दिर भगवान् श्रीकृष्णका छोरा प्रद्युम्नले बनाएका हुन् भनिन्छ ।

उपत्यकाको उत्तरपश्चिम कोणमा अवस्थित इचंगुनारायणको मन्दिर काठमाडौंबाट आठ किलोमिटर टाढा छ । पेगोडा शैलीले बनाइराखेको दुई तल्ले मन्दिरको दाँयाबाँया प्राकृतिक मनोरम दृश्य देखिन्छ । यसरी प्राकृतिक मनोरम दृश्यसँगै सानो थुम्कोमा रहेको यो मन्दिरमा कुँदिराखेको कलाले मन्दिरलाई आजसम्म पनि आकर्षक बनाई राखेको छ । मन्दिरभित्र रहेका नारायणले आफनो चार हातमा शंख, चक्र, गदा र पद्म लिएका छन् । गरुडमा बसिरहेका नारायणसँगै अन्य देवताका मूर्ति पनि छन् । इचंगुनारायणको मन्दिर लिच्छविकालीन राजा हरिदत्त वर्माले बनाएका हुन् भनी वंशावलीमा उल्लेख गरिएको छ । हाल भएको मन्दिर भने १८औं शताब्दीमा बनाइएको हो भनिन्छ ।

काठमाडौंबाट १० किलोमिटरमा अवस्थित विशंखुनारायण उपत्यकाको दक्षिणपूर्व कोणमा पर्छ । गादावरीबाट सिधामाथि पर्ने स्थानमा विशंखुनारायणको मन्दिर गुफामा रहेको छ । विशंखुनारायणको मन्दिर भएको स्थानमा शंखको आकृति भएकाले विशंखु भनिएको हो भन्ने जनविश्वास छ । गुफामा रहेको यो मन्दिरबाट देखिएका चारैतिरका मनोरम दृश्य, प्राकृतिक सुन्दरता र उपत्यकाको दृश्य रमाइलो लाग्दछ । चार नारायणमध्ये अन्य तीन नारायणका जस्तै यो मन्दिरमा चार हात भएको नारायणको मूर्ति छैन । यहाँ नारायण भनी मानेर पूजा गरिने ढुंगामा अष्ट दल मात्र छ । यसैलाई भक्तजनले नारायण भनि मान्दै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,901 times, 1 visits today)

epaper

ताजा समाचार

दूरसञ्चार क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ