अव्यवस्थित राजधानी र बागमतीको व्यथा

बागमती नदी सरसफाइ गर्न सुरु गरेको ४ सय साता भयो । ४ सय साताको समय भनेको लामो अवधि हो । यस अवधिमा बागमती सरसफाइ अभियानसँग गासिएका संघ, संस्था, व्यक्ति विशेषलगायतको ठूलो योगदान रहेको छ । बागमती नदीलाई स्वच्छ बनाउनका लागि अहिलेसम्म अर्बौं रुपैयाँ खर्च पनि भई सकेको तथ्यांक छ । परिणामत नदी सफा हुन सकेको छैन । एकातिर सफाइ गरिँदै छ भने अर्कोतिर नदीमा फोहरमैला फाल्ने काम पनि रोकिएको छैन । यसरी हेर्दा बागमती सरसफाइ आयोजनाले काम गर्दै जाने तर नागरिकले फोहरका पोका, प्लास्टिक, मृत जनावर, ढललगायतका फोहरजन्य वस्तुहरू नदीमा फ्याँक्दै जाने हो भने जति प्रयास गरे पनि बागमती नदी सफा हुने देखिँदैन ।

कुनैै पनि कार्यक्रम सफल बनाउनका लागि राज्य र नागरिकको सामूहिक सहभागिता आवश्यक हुन्छ । नागरिकलाई कुनै पनि कार्यमा संलग्न हुनका लागि विशेष गरेर दुई प्रकारका मापदण्डले काम गरेको पाइन्छ । एउटा नागरिक आफंै सचेत भएर आफ्नो टोल, छिमेक, गाउँ, ठाउँ वा सहर आफैं बनाउने वा सफा राख्ने । अर्को राज्यले नीति नियम बनाएर नागरिकलाई ऐन कानुनभित्र राखेर कार्य गर्न बाध्यकारी अवस्था सिर्जना गर्ने । बागमती नदी सरसफाइको अभियानको सन्दर्भमा माथि उल्लिखित दुई वटै मापदण्ड लागू भएको देखिँदैन । न त राज्यले बागमतीलगायतका नदीहरूमा फोहर फ्याक्न नपाउने नीति नियम नै बनाएको छ, न त नागरिकहरूले नदीलगायत सहरी क्षेत्रलाई सफा, स्वच्छ राख्नका लागि सभ्य नागरिकको कर्तव्य नै पालना गरेको पाइन्छ । यस सन्दर्भमा बागमती नदीको आजको दुर्दसामा पु¥यााउन राज्य एवं उपत्यकावासीको प्रत्यक्ष वा परोक्ष संलग्नतामा रहेको पाइन्छ ।

हरेक ठाउँमा सहरीकरणको विकाससँगै यसले निम्त्याउने समस्या पनि सँगसँगै गाँसिएर आउने गर्दछन् । विश्व इतिहासको अध्ययनले कतिपय देशहरूले शहरका नदीहरूलाई स्वच्छ, सफा, हराभरा बनाउनका लागि नागरिकहरूको अतिक्रमण रोक्न नदीहरूलाई कानुन त अधिकार सम्पन्न बनाएको देखिन्छ । न्युजिल्यान्डकोे ह्वाङानुई नदी फोहर भएपछि त्यहाँको संसद्बाट विधेयक पारित गरी जीवित मानिसले पाउनेसरह अधिकार दिएर नदी फोहरसम्बन्धी कुनै पनि कार्य गर्ने नागरिकलाई दण्डसजायको व्यवस्था गरेकाले नदी सफा एवं स्वच्छ भएको दृष्टान्त छ । यसैगरी, भारतको उत्तराखण्डको उच्च अदालतले पनि त्यहाँका गंगा र जमुना नदीहरूलाई सफा बनाउनका लागि ती नदीहरूलाई मानिससरह अधिकार प्रदान गर्ने फैसला गरेको पाइन्छ । उल्लिखित देशले बागमतीजस्तै फोहर भएका नदीलाई स्वच्छ, सफा र आकर्षक बनाउनका लागि अधिकारसम्पन्न बनाएका हुन् ।

काठमाडौं उपत्यकाभित्रका नदी नाला, सडक, पोखरी, वनबाटिकालगायत सार्वजनिक स्थलको संरक्षण र संवद्र्धन गर्न राज्यले विशेष मापदण्ड, नीति, नियम र कानुनको व्यवस्था गर्न जरुरी छ

हाम्रा आदिकवि भानुभक्त आचार्यले राजधानीलाई अलकापुरी, कान्तिपुरी नगरीका नाम दिएका थिए । यो नगरीमा विष्णुमती, शिवमती, रुद्रमती, इक्षुमती, मनमती, हनुमन्ती र नख्खुलगायतका खोला वागमती नदीमा मिसिन्छन् । उल्लिखित खोलालाई बागमतीजस्तै फोहर एवं प्रदूषित बनाइएको छ । बागमती नदी सरसफाई अभियान चलाइरहँदा अन्य खोलाको सरसफाइमा ध्यान दिएको पाइँदैन । काठमाडौं उपत्यकावासीहरूले फोहर फ्याँक्ने, ढल मिसाउने, मरेका जीवजन्तु फ्याक्ने ठाउँको रूपमा यी खोलानाला प्रयोग भइरहेका छन् । न त राज्यको यसमा ध्यान गएको छ, न त सहरवासीमा यी नदीको सरसफाइ र संरक्षण गर्ने चेतनाको विकास भएको भएको पाइन्छ ।

राजधानीको मुटुमा बहने बागमती नदीको प्रदूषणले सहरको शोभा घटेको छ । एउटा सभ्य, भव्य र सालिन सहरका वासिन्दा भन्न लाजमर्दो भएको छ । प्रजातान्त्रिक राज्यको राजधानीको गरिमा क्षय भएको छ । यो सहरमा राष्ट्रपति, सरकार प्रमुख, सरकारका मन्त्रीगणहरू र राजनीतिक पार्टीका नेतागणलगायत नीति निर्माता, वातावरणविद्, पढेलेखेका र देश दुनियाँ घुमेका देखेका व्यक्ति एवं व्यक्तित्वको बसोवास छ । देशको उच्च ओहोदाका व्यक्ति वागमती नदीकै नामबाट राखिएको थापाथलीको पूलबाट ओहर दोहर गर्दछन् । अझै मन्त्री क्वार्टर र सिंहदरबारको बीचमा छ, बागमती नदी बगेको छ । बागमतीबाट निस्किएको दुर्गन्धबाट बँच्न नाकमुखमा नकाव (माक्स) लगाएर हिँड्ने देशका ठूला भद्र भलादमी, गैरसरकारी संघ÷संस्थाका व्यक्ति, व्यक्तित्व एवं पढेलेखेका लेखक, कवि, कलाकार, समाजसेवी कोही पनि वाग्मती नदीको यथार्थ व्यथाबाट अनभिज्ञ छैनन् ।

काठमाडौं जनताका प्रतिनिधि बस्ने ठाउँ हो । विदेशी, पाहुना, पर्यटक तथा धर्मालम्बीको आकर्षक सहर हो । कूटनीतिक नियोगका व्यक्ति एवं व्यक्तित्वको बसोबास गर्ने स्थल हो । देशलाइ नेतृत्व गर्ने र नीति निर्माता बस्ने केन्द्रीय प्रशासनिक ठाउँ हो । सिंहदरबार, प्रतिनिधिसभा, तथा राष्ट्रिय योजना आयोग रहेको शक्तिकेन्द्र हो । तर, विडम्बना ! बत्तिमुनिको अध्यारो भनेझैं हाम्रो राजधानीका नदीहरू मात्र होइन, यो सहरमा हरेक क्षेत्र फोहर छन् । फोहर, मैलो, धुलो, धुवाले प्रदूषित एवं अस्तव्यस्त सहर भएको छ काठमाडौं ।

राजधानीको सभ्यता र भव्यताको एउटा महत्वपूर्ण शोभा बागमती नदी हो । बागमती सरसफाइ आयोजना चलेको धेरै वर्ष भए तापनि यसको सकारात्मक परिणाम नआउनका पछाडि नगरवासीकै क्रियाकलाप जिम्मेवार छ । साँच्चै नै काठमाडौं उपत्यकाका नदीहरूलाई सफा, स्वच्छ, हराभरा बनाउने हो भने यी नदीलाई न्युजिल्यान्डकोे ह्वाङानुइ र भारतको गंगा र जमुना नदीले प्राप्त गरेको अधिकार दिन आवश्यक देखिन्छ । अर्थात् नदीमा फोहर फ्याँक्ने, अतिक्रमण गर्नेजस्ता कार्यमा संलग्न व्यक्तिलाई राज्यले कडाभन्दा दण्डसजायको व्यवस्था गरिनुपर्दछ ।

त्यसो त राज्यले उपत्यकावासीहरूलाई ढल निकासा गर्ने सुविधाको प्रबन्ध गर्न पनि त्यत्तिकै जरुरी छ । यसो गर्दा नदीको दुवैतर्फको करीडोरमा ढलपाइप निकास गरेर उपत्यकाको दक्षिण सीमासम्म पु-याउन जरुरी हुन्छ । ढलहरूबाट निस्किएको फोहरलाई अहिलेको प्रविधिसँग जोडेर सेनिटेसन प्लान्टको निर्माण गरिनुपर्दछ । यसको साथै बागमतीलगायतका नदी एवं खोलाको किनारमा सुरु गरिएका सडक समयमा नै सम्पन्न गरी ग्रीनवेल्ट बनाउन विलम्ब गर्न हँुदैन ।

बागमती सरसफाइ आयोजनाले काम गर्दै जाने तर नागरिकले फोहरका पोका, प्लास्टिक, मृत जनावर, ढललगायतका फोहरजन्य वस्तुहरू नदीमा फ्याँक्दै जाने हो भने जति प्रयास गरे पनि बागमती नदी सफा हुने देखिँदैन

काठमाडौं हरेक नेपालीको सपनाको सहर हो । शिक्षा, स्वास्थ्य, रोजगारी, बन्द, व्यापारलगायतका सुविधाहरू भएको सहर हो । त्यसैले ७७ वटै जिल्लाका मानिसहरूको आकर्षकको सहर बनेको छ राजधानी । लगभग ४० लाख जनसंख्या भएको यो सहरमा मानवता, दया एवं मित्रभावको खडेरी छ । सहरवासी पैसाको दौडधुपमा घडीको सुईसँगै सञ्चालित भएजस्तो देखिन्छ । यहाँ कालो बजारी, चोरी, तस्करी, असुरक्षा तथा बिचौलियाको पनि त्यत्तिकै बिगबिगी छ । प्रत्येक दिन चोरीका घटना बढिरहेका छन् । समाजमा जिउँदाको जन्ती र मर्दाको मलामीको भावना पातलिँदै गएको कुरा अग्रज पुस्ताको अनुभव छ । विद्वान् इमर्सनले सुखको स्रोत मानिसको हृदयमा हुन्छ भनेका छन् । हृदयमा उत्पन्न हुने आत्मिक सुख प्राप्त गर्नका लागि परोपकारी भावनाको विकास गर्न आवश्यक हुन्छ । मानव सेवाको खाँचो हुन्छ । यसरी हेर्दा राजधानी भौतिक रुपले मात्र प्रदूषित छैन, मानवीय चिन्तनको स्तरमा पनि कमजोर बन्दै गएकाले सहरको कथा र व्यथा चोटिलो छ । त्यसैले समाजलाई नागरिक शिक्षाको विषयवस्तुले प्रशिक्षित बनाउन आवश्यक ठानिन्छ ।

काठमाडौंलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुविधा सम्पन्न सहर बनाउनका लागि धेरै काम गर्न बाँकी छ । एकातिर यहाँका नदीनाला सफा, स्वच्छ एवं आकर्षक बनाउन आवस्यक छ भने अर्कोतिर यहाँका पार्क, वनवाटिका, चौरहरूमा बोटविरुवा र फूलहरू लगाउनुपर्दछ । काठमाडौं उपत्यकाभित्र रहेका मठ, मन्दिर, गुम्बा विहार, चैत्यलगायतका सम्पदाहरूको जीर्णोद्वार, सुधार र संवर्धन गर्न जरुरी छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक हिसाबले यो सहर जति सम्मन्न छ, त्यही अनुरूपमा यसको संरक्षण आवश्यक छ ।

यसको साथै सफा रिङरोड, धुलो र हिलोरहित भित्रीबाटाहरू, व्यवस्थित यातायातको व्यवस्था, सुविधा सम्पन्न पार्किङको प्रबन्ध, सार्वजनिक शौचालयहरू निर्माणलगायतको सुविधा आधुनिक सहरका अनिवार्य मापदण्ड हुन् ।
अन्त्यमा, राज्यको कमजोर व्यवस्थापन र नागरिकको स्वेच्छाचारी व्यवहारले काठमाडौं प्रदूषित सहर भएको हो । काठमाडौं उपत्यका भित्रका नदी नाला, सडक, पोखरी, वनबाटिकालगायत सार्वजनिक स्थलको संरक्षण र संवद्र्धन गर्न राज्यले विशेष मापदण्ड, नीति, नियम र कानुनको व्यवस्था गर्न जरुरी छ । उपत्यकावासीले पनि यो सहरलाई व्यवस्थित, सफा, स्वच्छ एवं आकर्षक बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्दछ ।

तपाइको प्रतिक्रिया
(Visited 839 times, 1 visits today)

epaper

ताजा समाचार

एमालेले स्वीकार्यो बादलको प्रतिवेदन, अब केन्द्रीय कमिटीमा छलफल हुने