काठमाडौं । मुलुकको विज्ञापन बजारलाई नियमन गर्दै व्यवस्थित र अनुशासित बनाउने उद्देश्यले सरकारद्वारा गठित विज्ञापन बोर्डले आफ्नो कार्य प्रारम्भ गरेको छ । बोर्डले बुधबारदेखि कार्यालयसमेत स्थापना गरी आफ्नो कामलाई प्रभावकारी रूपमा अघि बढाएको हो ।
काठमाडौंको बबरमहलस्थित हुलाक सेवा विभाग परिसरमा स्थापना गरिएको विज्ञापन बोर्डको नयाँ कार्यालय भवनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गरेका छन् । गुरुङले देशभरको विज्ञापनलाई एकीकृत गर्दै समानुपातिक वितरण हुने गरी व्यवस्थापन गर्ने विषयलाई केन्द्रबिन्दुमा राखेर आवश्यक नीति बनाउनुपर्ने आवश्यकता औंल्याए । मन्त्री गुरुङले हाल विज्ञापन क्षेत्रमा देखिएका विकृतिलाई पूर्ण रूपमा हटाउने गरी सोहीअनुसारको नीति निर्माण गरिनुपर्नेमा जोड दिए । उनले विज्ञापन बोर्डले ऐन नियमको परिधिमा रहेर विज्ञापन नियमन गर्ने ऐन २०७६ तथा नियमावली २०७७ को मर्म र भावनाअनुसार विज्ञापन प्रवद्र्धन गर्ने मापदण्ड निर्धारण गर्ने एवं सबै सरोकारवालासँगको सहभागितामा विज्ञापनका कामलाई थप प्रभावकारी बनाउन निर्देशनसमेत दिए ।
विज्ञापन बोर्डका अध्यक्ष एवं सञ्चार मन्त्रालयका सहसचिव डिल्लीराम शर्माका अनुसार बोर्डले आफ्नो कार्य प्रभावकारी रूपमा अघि बढाइरहेको छ । उनले मन्त्रीले दिएको निर्देशन र विज्ञापन बोर्डको उद्देश्यअनुसार आफूहरूले कार्य प्रारम्भ गरेको जानकारी दिए । अध्यक्ष शर्माका अनुसार बोर्डले दुईवटा बैठकसमेत सम्पन्न गरी आन्तरिक कार्यविधि, बजेट र कार्यक्रम बनाउने निर्णय गरेको छ । बोर्डले रणनीतिक कार्ययोजना बनाएर विज्ञापन नियमन, प्रवद्र्धन तथा मापदण्ड निर्धारणलगायतका विषयमा महत्वपूर्ण नीति तथा योजना बनाउने अध्यक्ष शर्माले बताए । विज्ञापन बोर्डका सदस्यहरूमा थानेश्वर गौतम, प्रेमकुमार श्रेष्ठ, महेन्द्र शेरचन, शुभशंकर कँडेल, बलराम थापा, चन्द्रप्रसाद न्यौपाने र वन्दना दनुवार रहेका छन् भने सचिवका रूपमा जानुका सुवेदी रहेकी छिन् ।






