चीनलाई उपहार दिएको गैंडामध्ये एकको मृत्यु

ललितपुर । चीन सरकारलाई उपहारस्वरूप दिइएको दुई जोडीमध्ये एक गैंडाको मृत्यु भएको छ । गत वर्ष भदौमा सांघाई वाइल्ड एनिमल पार्कमा पठाइएको ‘सोल्टी’ र ‘मितिनी’ गैंडामध्ये सोल्टीको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । सोल्टीको मृत्युपछि मितिनी एक्लिएको छ ।

‘गैंडा मृत्यु भएको सामान्य जानकारी मात्र आएको छ,’ विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले भने, ‘यस’bout बुझ्न टोली पठाउने तयारी भएको छ । त्यहाँ पुगेर नबुझी मृत्यु’bout थप भन्न सकिँदैन ।’

यद्यपि, विभागका एक कर्मचारीअनुसार सोल्टी गैंडाको पेटको समस्याका कारण मृत्यु भएको हो । नेपालले ‘सोल्टी’ र ‘मितिनी’अघि ‘रुपसी’ र ‘भद्र’ नामक जोडी गैंडालाई चिमे लङ सफारी पार्कमा पठाएको थियो । त्यहा“ पठाइएका अन्य तीन गैंडाको अवस्था भने सामान्य रहेको विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

‘सोल्टी गैंडाको मृत्यु भएको छ,’ उनले भने, ‘अरू तीन गैंडाको अवस्था ठीक छ ।’ उनका अनुसार सोल्टी गैंडाको मृत्यु’bout अनुगमन गर्न नेपाली टोली त्यसतर्फ जाने तयारी भए पनि कोरोना भाइरस संक्रमण त्रासका कारण जान सकिरहेको छैन ।

नेपाल र चीनबीच वन्यजन्तु संरक्षणमा वैज्ञानिक सहयोग आदानप्रदानका साथै सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले २६ असार २०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई दुई जोडी एकसिंगे गैैंडा उपहार दिने निर्णय गरेको थियो । गैंडा प्रदान सम्बन्धमा तत्कालीन वन तथा भू–संरक्षण मन्त्रालय र चीनको तत्कालीन द स्टेट फरेस्ट्री एड्मिनिस्ट्रेसनबीच २०१७ अप्रिलमा सहमति भएको थियो ।

एकसिंगे नेपाल र भारतमा मात्र पाइने लोपोन्मुख प्रजातिको गैंडा हो । प्राचीन समयमा एकसिंगे गैंडा पाकिस्तान, चीन, नेपाल र भारतका साथै बर्माका केही भागमा पाइने गरे पनि अहिले नेपाल–भारतमा सीमित छ । नेपालले चितवन राष्ट्रिय निकुञ्जमार्फत भारत, चीन, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रियालगायत देशमा २८ गैंडा उपहारस्वरूप पठाइसकेको छ ।

विश्वमै दुर्लभ एकसिंगे गैंडा संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो । पछिल्लो गणनाअनुसार नेपालमा गैंडा संख्या ६ सय ४५ छ भने चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ गैंडा छन् । सरकारले आगामी १ चैतबाट सुरु गर्ने गैंडा गणनामा ३० देखि ४० हात्ती प्रयोग गर्ने तयारी गरेको छ । एउटा हात्तीमा २ देखि ३ जनशक्ति खटाएर क्यामरा ट्र्यापिङलगायत माध्यमबाट गणना गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईका अनुसार १ सय ४० देखि १ सय ५० जनशक्ति प्रयोग गर्ने तयारी भएको छ । चितवन–पर्सा, बर्दिया र शुक्लाफाँटा गरी तीन ब्लक बनाएर गणना गर्न लागिएको हो । क्यामरा, जीपीएस, डाटा सिटलगायत उपकरण गणकले प्रयोग गर्नेछन् । त्यस क्रममा विभिन्न उपकरण, सवारीसाधन, हात्तीको खुराक, भत्ता, गणकको खानेबस्ने, भत्तालगायत व्यवस्था गरिने जनाइएको छ ।

यसपटक गणनाका लागि सरकारले १ करोड १० लाख ३५ हजार बजेट विनियोजन गरेको छ । हरेक ४–४ वर्षमा गैंडा गणना हुने गरे पनि गत वर्ष बजेट अभावका कारण रोकिएको थियो । सबै निकुञ्जमा गणना गर्न एक महिना लाग्ने विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठको अनुमान छ । गत वर्षको वर्षा याममा बाढीले धेरै गैंडा बगाएको र चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ९ महिनाको अवधिमा ४१ भन्दा बढी गैंडा मरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 434 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल