नेपालको सबैभन्दा ठूलो र पुरानो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय अहिले आलोचनाको केन्द्रमा रहेको छ । यस मातहतका क्याम्पस तथा निकाय पनि टीकाटिप्पणी र आलोचनाको विषय बन्न पुगेका छन् । सबैभन्दा पुरानो र सबैको गुरु भएका कारणले पनि यो आफैमा अब्बल हुनु जरुरी थियो । अहिले देशमा निजी विश्वविद्यालय छ्याप्छयाप्ती खुल्दा यसले आफ्नो विगत र विरासतको अब्बल रूपमा रक्षा गर्नु जरुरी थियो । त्यसो हुन सकिरहेको देखिँदैन । विशाल र भव्य पूर्वाधारसहित देशव्यापी झांगिन पुगेको यो विश्वविद्यालय प्राणबिनाको शरीरमा रूपान्तरतण त हुँदै छैन भन्ने प्रश्न उठिरहेको छ । देशभरका मेधावी विद्यार्थी तथा खोज अनुसन्धानकर्ता र जानी तथा विद्वत्वर्गको केन्द्र बनिरहेको त्रिवि अबका दिनमा गम्भीर आलोचनाको विषय बन्नु आफैंमा लज्जाको विषय हो । यसको शैक्षिक तथा पूर्वाधार निर्माणका लागि आन्तरिक प्रशासन जीवितै छ । भीसी कार्यरत रहेकै छन् । हरेक विषय र विभागका डीनहरू पनि बर्करार नियुक्ति पाएर बसिरहेकै छन् । तर, कमजोरी के कुरामा रह्यो र आज त्रिवि आलोचनाको केन्द्रमा रहन पुगेको छ ? गम्भीर आत्मसमीक्षा हुन जरुरी छ ।
यो गम्भीर विषय बनिरहेको छ । आलोचनाको प्रमुख कारण हो, यसले विद्यार्थीलाई परिवर्तित परिस्थितिअनुसार अध्ययन अध्यापन गराउन सकिरहेको छैन । शैक्षिक गुणस्तर कायम गर्न सकिरहेको छैन । ज्ञान र खोजको भोक जागृत गर्न र नयाँ नयाँ कुराको अध्ययन र अनुसन्धान गर्न गराउन सकिरहेको छैन । यसले बदलिँदो समयलाई सम्बोधन गर्न र भविष्यलाई आशा र सिर्जनातिर डो-याउन सकिरहेको छैन । बर्सेनि अर्बौं रुपैयाँ यसमा कार्यरत कार्मचारीका लागि खर्च गरिए पनि तदनुरूपको उपलब्धि यसले देखाउन सकिरहेको छैन । देशभरका विद्यार्थीको आशा र आकर्षण यस संस्थाप्रति हुन सकिरहेको छैन । बरु विकर्षण बढिरहेको छ । देशको मुहार बदल्ने शिक्षाको मेरुदण्डका रूपमा रहेको केन्द्रीय विश्वविद्यालय यस्तो रुग्ण अवस्थामा रहनु देशका लागि शुभ कुरा हुँदै होइन । एउटा चिनियाँ उखान छ– ‘एक वर्ष बाँच्नुछ भने धान रोप, १० वर्ष बाँच्नुछ भने रुख रोप र यदि सय वर्ष बाँच्नुछ भने शिक्षा रोप ।’ शिक्षा व्यक्तिको सय वर्षे जीवनका लागि हो । समाज रूपान्तरणका लागि हो । देशको मुहार परिवर्तनका लागि हो । त्यसैले पनि त्रिविको रुग्णताको नकारात्मक असर आगामी सयौं तथा हजारौं वर्षसम्म हुने स्पष्ट छ ।
त्रिवि र यस मातहतका शैक्षिक संस्थाहरूमा प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापकहरू कार्यरत छन् । सरकारले विनियोजित गरेको बजेट यी संस्थामा पुग्ने गरेको छ । यहाँ रहेका ल्याबहरू पनि जस्ताका तस्तै छन् । कसैको पनि सेवा सुविधामा कटौती गरिएको छैन । तर, पनि यहाँ चाहिनेभन्दा बढी राजनीति गरिएको छ । जुन पार्टीको सरकार आउँछ, त्यसैको भीसी त्रिविमा नियुक्त हुनुपर्ने परम्पराले यो प्रशासनिक क्षेत्रमा कार्यकर्ता पाल्ने थलो त हुँदै छैन भन्ने प्रश्न नउठेको पनि होइन । तर, यसको निवारण कुन विश्वास र परिपाटीमा हुने भन्ने कुराको टुंगो नै छैन । सरकार जसको आओस् वा जाओस् तर त्रिविमा शैक्षिक जागरण जरुरी छ ।






