पैसा कमाउन मलेसिया गएका भीमबहादुरको शव जब बाकसमा आयो…

धनकुटा । पैसा कमाएर परिवारलाई शुख दिने आसमा विदेशिएका धनकुटाको चौबिसे गाउँपालिका–३ सोगुमका भीमबहादुर मगरको शव बाकसमा प्याक भएर घर आएको छ । बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा मृत्यु भएका ४३ वर्षीय मगरको शव डेढ महिना पछि घर ल्याइएको हो ।

शनिवार राती घर आइपुगेको शवलाई आइतबार अन्त्येष्टि गरिएको छ । ११ वर्ष अघि बैदेशिक रोजगारी सिलसिलामा मलेसिया पुगेका मगरको डेढ महिना अघि मृत्यु भएको थियो । भिसाको म्याद सकिएपछि करिब ४ वर्षदेखि गैरकानुनी रुपमा मलेसियामा काम गर्दै आएका मगर तीन महिना बिरामी परेका थिए । बिरामी परेर घर फर्कने तयारी गर्दै गर्दा गत मंसिर २७ गते उनको मृत्यु भएको हो । भीमबहादुरको मृत्युले परिवार शोकमा डुबेको छ ।

कमजोर आर्थिक अवस्थाका मगर यस अघि पनि बैदेशिक रोजगारकै सिलसिलामा दुबई गएका थिए । तर, त्यहाँ भनेजस्तो तलब नपाएपछि २ वर्षमा घर फर्किए । धेरै पैसा कमाएर छोराछोरी र श्रीमतीलाई सुखसयलमा पाल्ने सपना बोकेर पुनः २०६६ साल मंसिरमा मलेसिया गएका मगर अन्ततः बाकसमा प्याक भएर आए । छोराछोरीको लाउँला खाउँला भन्ने उमेरमा श्रीमान्को मृत्यु भएपछि परिवारको बिचल्ली भएको मृतककी श्रीमती डिकमायाले गुनासो गरिन् ।

मृतकको जेठी छोरीको विवाह भइसकेको छ भने माइली छोरी र छोरा कक्षा–१२, साईली छोरी कक्षा–११ र कान्छी छोरी कक्षा–६ मा पढ्दै छन् । अब नानीहरुको पठन पाठनमा पनि समस्या भएको डिकमायाले बताइन् । मगरको मृत्यु भएपछि चौबिसे गाउँपालिकाको आप्रवासी सूचना कक्ष र सीएमआईआर नामक संस्थाको पहलमा उनको शव नेपाल ल्याइएको सूचना कक्षका सूचना सहायक सुरेन्द्र लिम्बूले बताए । मगरको शव नेपाल ल्याउन प्रवासमा रहेका नेपाली दाजुभाई र मृत्तक परिवारले गाउँमा चन्दा संकलन गरेका थिए । संकलित रकमबाट शव नेपाल ल्याइएको भएपनि काठमाडौंबाट घरसम्म शव ल्याउन भने बैदेशिक रोजगार बोर्डले निःशुल्क शवबाहन उपलब्ध गराएको थियो ।

भिसाको म्याद सकिएर गैरकानुनी रुपमा काम गर्दै आएका कारण मगरलाई नेपाल सरकारको तर्फबाट सहयोग भएन । तर पनि उनले काम गर्दै आएको कम्पनीबाट क्षतिपूर्ति उपलब्ध गराउन पहल भईरहेको चौविसे गाउँपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 521 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित