इलाम । देशकै प्रमुख पर्यटकीयस्थल हो, कन्याम । सूर्योदय नगरपालिकामा पर्ने कन्याम घुम्नकै लागि नेपालबाट मात्र होइन, भारत र भुटानबाट समेत घुम्न आउँछन् । मनोरम चियाबारीका सेल्फी लिनकै लागि विशेषगरी कन्याममा भीड लाग्छ । आजभन्दा तीन बर्षअघि सम्म कन्याम नै इलामको एक मात्र प्रख्यात चियाबारी भनेर चिनिन्थ्यो । सुगम क्षेत्र र सडकपायक भएकाले जो कोहीको मन कन्याममा तानिन्थो । अहिले पनि कन्याम प्रख्यात छ । तर, कन्यामझँै चियाबगान र उक्तिकैै प्रख्यात बनेको छ, देउमाई नगरपालिकामा पर्ने पानीटार ।
तीन बर्षसम्म पानीटारका ’boutमा अधिकांश जिल्लाबासीलाईनै थाहा थिएन । चियाबारी भन्ने वित्तिकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार ओझेलमा थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरेपनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो ।
स्थानीय तह र सम्बन्धित निकाय(पर्यटनसँग सम्बन्धी)ले चासो नदिएकै कारण पानीटार ओझेलमा पर्यो । तर, अहिले पानीटारले पूरै काचुली फेरेको छ । स्थानीयबासी मात्र होइन अन्तर जिल्लाको पर्यटकको पनि नयाँ गन्तब्य बनेको छ, पानीटार । कतै अग्लो र कतै होचो । तर, मिलेको चियाबारी यहाँको मुख्य आकर्षण हो ।
अन्तु विस्र्याउने चिसो र पर्यटक तान्ने वनभोजस्थल यहाँको अर्को विशेषता हो । पर्यटक मात्र होइन, पानीटारमा अहिले चलचित्र खिच्ने र म्युजिक भिडियो बनाउने क्रमपनि शुरु भएको छ ।
हिउँदमा मनोरञ्जनका लागि आउने गतिलो गन्तब्य पानीटार बनेको यहाँका पर्यटन व्यवसायी पासाङ शेर्पा बताउँछन् । शेर्पाका अनुसार मिडियाका प्रचारले नै पानीटार पर्यटकीय क्षेत्र बनेको हो । ‘कुनै निकायले यसको प्रचारका लागि चासो देखाएनन् । मिडियाको प्रचारले नै अहिले पानीटार पर्यटकीय क्षेत्र बन्दै छ ।’ शेर्पाले भने,‘आउँदो साल माथिल्लो क्षेत्रबाट(गाग्रेभञ्ज्याङबाट) आउने कच्ची सडक पक्की भएपछि आवागमनका लागि झनै सहज हुन्छ ।’
पछिल्लो समय म्युजिक भिडियो र चलचित्रको छाँयाङ्कन गर्ने स्थल हो पानीटार । केही समयअघि मात्रै युट्युवमा सर्वाधिक रुचाइएको म्युजिक भिडियो ‘तीनपाते’देखि प्रियङ्का कार्की र आयुस्मान देशराज जोशी अभिनित ‘प्रेम दिवस’मा चलचित्रमा समेत पानीटारको सुन्दर चियाबारी राखिएको छ । प्राकृतिक छाँयांकनस्थलका रूपमा विकास हुँदै गरेको यहाँ आकर्षण चियाबारी र शान्त क्षेत्र भएकाले आफूहरू यस क्षेत्रमा सुटिङ गर्न आउने गरेका छन ।
पानीटारमै भेटिएका पुष्पले आफूले चियाबारी भन्ने वित्तिकै कन्याम र अन्तु मात्रै बुझेपनि पछिल्लो समय पानीटारबाट प्रभावित बनेको सुनाए । ‘इलाम त पहिले पनि आएको थिए । तर, पानीटार) आएको थिइन । प्राकृतिक क्षेत्रको प्रचार अनि दर्शकको आँखा अड्याउने ‘भर्जिन ल्याण्ड’ भएकाले धेरै चलचित्रकर्मी आउने गरेको निर्देशक तामाङ बताउँछन् । चलचित्र कृष्णलीलाको छाँयांकनका लागि पानीटार आएका थिए ।

श्रीअन्तु, कन्याम, माइपोखरीमा बर्षैभर पर्यटक घुम्छन् । यी क्षेत्रका बासिन्दा कमाइ खाने मेलो नै पर्यटक हो । होमस्टे, होटल खोल्ने, लोकल परिकारको स्वाद चखाउने कारणले नै पर्यटक पल्किन्छन् । तर, पानीटारमा चाहिँ अहिले सम्म व्यवस्थित खानपान र वस्ने ठाउँको अभाव छ । भर्खरै पर्यटकीय क्षेत्र बन्दै भएकाले पनि होमस्टे खुल्ने क्रममा छन् । पर्यटक बढ्दै जाँदा स्थानीयबासीले घर–घरमा होटल सञ्चालन गर्न थालेको पर्यटन व्यवसायी पासाङ शेर्पा बताउँछन् ।
अहिले सम्म पानीटारमा व्यवस्थित होटल छैन । वस्ने व्यवस्था नभएकाले लामो समय पानीटारमा रहदैनन् । अब भने पर्यटन व्यवसायीकै सहकार्यमा वस्ने प्रावधान मिलाउने योजना बनाउँदै आएको समेत शेर्पा बताउँछन् । अहिले पानीटारमा शनिबार र शुक्रबार करीव दुई सयको हाराहारीमा पर्यटक भित्रन्छन् । विशेषत घुमघाम र हिउँदमा वनभोज आउनेको सङ्ख्या बढी हुन्छ । ‘अहिले वनभोजका लागि त हामीले स्थानीय सिंहदेवी सामुदायिक वनको २५ प्रतिशत क्षेत्रमा वनभोज क्षेत्र वनाएका छौ ।’ यहाँ निजी र सामुदायिक दुई किसिमको चियाबारी छ । चलचित्र निर्देशक केवल तामाङले भनेझैं पानीटारको प्रवद्र्धनमा स्थानीय तहको ध्यान गएको देखिदैन ।
यता, नगरपालिकाले पनि पानीटारमा मात्र नभई पर्यटकीय क्षेत्रमा आफ्नो ध्यान नगएको स्वीकार्छ । नगरका प्रवक्ता एवम् वडा नं. ३ का वडाध्यक्ष दावा तामाङले आफूहरू सडक निर्माणका काममा खटिएकाले पर्यटनमा ध्यान नगएको बताए । सबै पक्षको ध्यान जाने हो भने पानीटारमा केही बर्षमै पर्यटकीयस्थल वन्ने पर्यटनकर्मी शेर्पाको भनाइ छ । पानीटारमा खानेपानी अभाव टार्नका लागि केही महीना अघि मोटरबाट तानेर उपलब्ध गराउन थालिएको छ ।
सडक पक्की हुने मात्रै हो भने पानीटारमा अझै पर्यटकको ओइरो लाग्छ । तर, यसतर्फ खासै चासो देखिदैन । पानीटार पुग्न गाग्रेभञ्ज्याङबाट समस्यामुलक ग्राभेल हिँड्नु पर्छ । बलौटे माटोमा माथिको ग्राभेलकै कारण जोखिमपूर्ण बाटो हिँड्नु पर्छ । यति बाटो पक्की भएमा धेरै सहज हुने स्थानीय पर्यटनकर्मीको भनाइ छ ।
स्थानीय तहको चासो गएर नगरकै पर्यटकीय क्षेत्रको लिस्टमा परेमा मात्र पनि पानीटार केही माथि उठ्न सक्छ । नगरले भौतिक निर्माणलाई प्राथमिकता दिँदा पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । देउमाई नगरको प्रमुख पर्यटकीय क्षेत्र पानीटार समेत नगरको प्राथमिकतामा नपर्दा अन्य पर्यटकीय क्षेत्रको स्थिति कस्तो होला भनेर अनुमान गर्न सकिन्छ ।
स्थानीय तहमात्र नभई प्रदेश र संघीय सरकारकै पनि आँखा पानीटारमा पुगेको छैन । जसले गर्दा पानीटार विकासमा कति बर्ष पछि पर्नु पर्ने हो पत्तो छैन । हेर्नलाई मनोरम भएपनि सुविधा नहुँदा चित्त दुखाइको क्षेत्र बनेको छ, पानीटार । सामान्य चौतारो लगायतको विकास भएपनि अन्य भौतिक संरचना निर्माण यहाँ भएकै छैन ।
भौतिक विकासलाई नै प्राथमिकतामा राखेको नगरपालिकाले बताएपनि यो विकास भने यहाँ भएको देखिदैन । सामान्य भवन मात्र दृश्यावलोकनका लागि निर्माण हुँदा सबै क्षेत्रको पानीटार अवलोकन गर्न सकिन्छ । यसतर्फ चासो जानु आवश्यक देखिन्छ ।
पानीको अभावमा पानीटार
नामै पानीटार, जो कोहीलाई लाग्छ, प्रशस्त पानी होला । तर, यसको ठिक उल्टो पानीटारमा पानीको हाहाकार छ । गत बर्ष पानीको समस्या हटाउन मोटरबाट पानी तानियो । यसपछि पानीपनि आयो तर यो पर्याप्त छैन । यसका लागि नगरले पानीको आयोजना नै भित्र्याउनु पर्ने देखिन्छ । सम्भावित क्षेत्र भएकाले पनि पानी ल्याउन चासो हुनु आवश्यक देखिन्छ । वनभोज क्षेत्रका रुपमा विकास भएपनि पानी अभाव हुँदा वनभोजमा आउने समस्यामा पर्ने गरेका छन् ।
पर्यटकीय क्षेत्र पानीटारमा फोहोर व्यवस्थित हुन सकेको छैन । पर्यटकले जथाभावी प्लाष्टिकजन्य वस्तु फ्याक्नाले कुरुप वन्दै गएको छ । यतातर्फ पर्यटनकर्मीको चासो जानु आवश्यक देखिन्छ । यही क्रममा फोहोर बढ्दै जाने हो भने आउँदा पानीटार पुग्न पर्यटक हिच्किचाउन सक्छ । कम्तीमा चियाबारीको यत्रतत्र डस्टविन बनाएमा मात्रैपनि केही हदसम्म फोहोर हट्न सक्छ । यसतर्फ, पर्यटनकर्मी मात्रै होइन, पर्यटक पनि सचेत हुनुपर्ने देखिन्छ ।
मनोरम क्षेत्र घुम्न जाने अनि फोहोर बनाएर फर्किदा अरुलाई असर पर्ने पनि पत्तो पाउनु पर्छ । जथाभावी फोहोर फ्याक्नाले चियाबारीको सौन्दर्य गायव बनाउँछ । पानिटार मात्र होईन यहाँ बाट नजिकै रहेको सिद्विथुम्का डाँडा र देउमाई नगरपालिकाकै गुथा थुम्कि सूर्योदय र सूर्यस्थका लागि पनि परिचित छ । गुफा थुम्कि पुग्दा थुम्का थुम्कामा रहेका चियाका बुट्टा र त्यहाँ रहेको पोखरीले त्यहाँ गुग्ने पर्यटकलाई दिनबितेको पत्तै हुँदैन ।
इलाम सदरमुकामदेखि करीव ३० किमीको दूरीमा पर्ने पुग्न इलाम सदरमुकाम–बिब्ल्याँट्टे बजार–नेपालटार र गाग्रेभञ्ज्याङ पुगेर अलिकति झर्नुपर्छ । सदरमुकामबाट गाग्रेभञ्ज्याङसम्म पक्की र गाग्रेभञ्ज्याङदेखि केही ओरोलो कच्ची सडककोयात्रा पछि पानीटार पुगिन्छ ।
त्यति मात्र होईन झापाको विर्तामोड–शनिशरे हुँदै मंगल’boutको बाटो पनि पानीटार पुग्न सकिन्छ । पछिल्लो समय सदरमुकामको बाटो भन्दा झापाबाट आउने बाटो छोटो भएकाले बढी पर्यटक यही बाटो आउँछन् । यो बाटो झापाबाटै ५३ किमी हिड्दा नै मंगल’bout सडक खण्डमै पर्र्छ पानीटार ।






