ब्युझिँदै बिजारे चौर

भक्तबहादुर शाही

 झाङ सैपाल हिमालसँगै हुस्सुले बिजारे टम्म ढाक्छ । क्षणभरमै हुस्सु र घामको रापले चौरसँग हुस्सु र सुर्यले लुकामारी गरेको हेर्न लायकको छ । गुन्यूचोलोमा सजिएकी युवती वनतिर र घर फर्किन लस्करबीच बिहानी र बेलुकीपख पाटनलाई रमाइलो बनाउँदोरहेछ । बिहेवारी नभए पनि यसभेगका युवतीमा गहना र चुरा लगाउने चलन रहेछ । विवाह भए÷नभएको सिउँदोको सिन्दुरबाट वा सोधेरमात्र चिनिन्छ ।

पाटनमा गाई चराउने गोठाला कोही दण्डी बियो खेलेर रमाइरहेका हुन्छन् भने कोही कर्पेदी । बालपन चौरमै बिताएकी कैयौं चेली माइत फर्किंदा बिजारेमा नबसी माइतै आउँदिनन् अरे †

वैशाख र जेठमा काफल, ऐेसेलु र चुत्रा टिप्न जानेको चौरमा ओइरो लाग्दोरहेछ । छिमेकी चामुण्डाविन्द्रासैनी नगरपालिका जम्बुकाँध लयाटीविन्द्रासैनी, चामुण्डा र विशालाबाट काफल ऐसेलु र चुत्रा खान चौरमै बास बस्दा रहेछन् । अनि, दुई दिनपछि घर फर्किन्छन् ।

वसन्त ऋतुसँग चराचुरुंगीको आवाज र चौरवरिपरि पलाएको पालुवा मनमोह बनाउँदा बिजारे चौर झनै रमणीय देखिन्छ । कोइलीको मिठो स्वरले चौरमा बसेका युवायुवती र आन्तरिक पर्यटकलाई यताउता जान मनै लाग्दैन ।

बालपन चौरमै बिताएकी कैयौं चेली माइत फर्किंदा बिजारेमा नबसी माइतै आउँदिनन् अरे !

संघीय सरकार गठनसँगै बिजारे चौरमा सडक पुगेको छ । सधैंजसो दुई–तीन घर रहेको बिजारेमा सडक पहुँचसँगै धमाधम नयाँ घर निर्माण हुन थालेका छन् । स्थानीयबासी जितबहादुर विष्ट वनभोज खानका लागि आगन्तुक चौरमै बस्ने गरेको बताउँछन् । पश्चिम दैलेखका अधिकांश विद्यालय भ्रमण बिजारे चौर हो । चिसो दिनभन्दा गर्मीमा वनभोज खान चौरमा आउँदछन् । सबैभन्दा बढी त विजयादशमी र तिहारमा भीड लाग्ने गर्दछ । बिजारेनजिकै महत्वपूर्ण मानिने धौलापडा गुफा र ठुली छहरी भएकाले पर्यटकका लागि बिजारे चौरलाई पश्चिम दैलेखको महत्वपूर्ण स्थान मानिन्छ ।


समुन्द्री सतहीबाट २३ सय उचाईमा रहेको बिजारेमा वर्षेनी दुईपटक मेला लाग्छ । ओझेलमा रहेको पर्यटकीयस्थल बिजारे पुग्न पर्यटन मन्त्रालयको पार्ट–२ कार्यक्रममार्फत ट्रयाक खोलेपछि गाउँपालिकाले वर्षेनी बिजारेको सडक निर्माणका लागि बजेट बिनियोजन गर्ने गरेको ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाही बताउँछन् ।

पर्यटकलाई बिजारे पुग्न असजिलो नहोस् भन्नका लागि सडक स्तरोन्नति गरिएको छ । बाह्रै महिना बिजारेमा यातायात पुग्छ । ठाटीकाँध गाउँपालिका–६ पाँचलामा गठित बागेश्वरी असल शासन युवा क्लबले जिल्लास्तरीय क्रिकेट आयोजना गरी प्रचारप्रसार गरेको थियो । क्लब अध्यक्ष भक्तबहादुर रोकायले धेरैजसो खेलाडीले चौरको रौनकतामा रमाएको स्मरण गरे ।

दैलेखमा रहेका दुईमध्ये द्वारी झरना क्षेत्र १ सदरमुकामबाट ७ कोष टाढा र ठुली छहरी झरना चौरबाट एक किलोमिटर खोचमा रहेको छ । झरनानजिकै धौलापडा गुफा पनि छ । दैलेखको एकमात्र मदानताल पुग्न चौरबाट तीन घण्टा पैदल लाग्छ भने नागे गुफा, बेहुली लेक, तिनचुलेजस्ता सेता हिमालले चौर हेरिरहेजस्तो लाग्छ ।


करिब ३ घण्टा दूरीमा चामुण्डाविन्द्रासैनी नगरपालिका –३ स्थित जलगुफा छ । करिब २५ मिटर लामो गुफाभित्र संरक्षण अभावले राम, हात्ती, शिवपार्वती जनावरलगायतका मूर्ति चोरी हराएका छन् । केही समयअघि देखिएका केही मूर्तिसमेत चोरी भइसकेका छन् ।

कर्णाली राजमार्गबाट दायाँ रामघाट सिगासैन सडक खण्डको १९ किलोमिटरमा बिजारे चौर पर्छ । नजिकैको ठुली छहरीबाट २० मिनेट उकालोपछि चौर भेटिन्छ ।

दैलेखका पर्यटकीयस्थलमा रहेका पञ्चदेवल मूर्ति, बेलासपुर मन्दिर, शिरस्थान, कोटिला, नाभीस्थान, पादुका मन्दिर, नेपाली भाषाको पहिलो शिलालेख रहेको दुल्लु, पाथरनाउली र पौवा चिनाए पनि पश्चिम दैलेख ठाटीकाँध गाउँपालिकामा रहेको मैदान ताल, चामुण्डाविन्द्रासैनी नगरपालिका –३ मा रहेको जलगुफा, धौलापडा गुफा, ठुली छहरी झरना, लकान्द्रको बिजारचौर र भिमपाइला भने गुमनाम छन् ।

तपाइको प्रतिक्रिया
(Visited 980 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?