नेपाल विविधताले धनी, भौगोलिक रूपमा तराई, पहाड, हिमाल अनि वातावरणको हिसाबले फरकफरक वातावरण भएको देश अनि भाषाको हिसाबले १ सय २९ भाषा, त्योभन्दा बढी जातजाति भएको देश । चाडपर्व, संस्कृति, भेषभूषा रहनसहन ठाउँपिच्छे फरकफरक । यस्तो विविधता भएको देशमा यो विविधताको संरक्षण र प्रचारप्रसारका लागि देशभरि रहेका स्थानीय एफएम रेडियोले ठूलो भूमिका खेलिरहेका छन् । नेपालमा रेडियोको इतिहास सुरु भएदेखि नै रेडियोले भाषालाई प्राथमिकता दिन थालेको पाइन्छ । २० चैत २००७ बाट सिंहदरबारभित्रबाट राष्ट्रिय रेडियो प्रसारण हुन थालेपछि भने भाषाभाषी र संस्कृतिको विषयलाई रेडियोले राम्रोसँग उठाउन थाल्यो । विस्तारै विस्तारै रेडियोमा नेपालीबाहेकका अन्य भाषाभाषीका अगुवाले पनि आफ्नो भाषामा प्रसारण भएको रेडियो कार्यक्रम माग गर्न थाले । तर, रेडियो नेपालले सबै भाषालाई समेट्न सकेको थिएन । २०५४ सालबाट एफएम रेडियोले प्रसारण अनुमति पाएपछि धेरै भाषाले रेडियोमा स्थान पाउन थाले । अहिले सबै जिल्लामा खुलेका एफएम रेडियोले स्थानीय भाषालाई प्राथमिकता दिन थालेका छन् ।
बर्दियामा रहेको गुरुबाबा एफएमले थारूहरूको कला, भाषा र संस्कृतिको संरक्षणमा ठूलो भूमिका खेलेको छ । त्यस्तै, बुटवलमा भएको जागरण एफएमले दलित समुदायको पहिचान र अधिकारका लागि आवाज उठाइरहेको छ । एक दर्जनभन्दा बढी सामुदायिक रेडियो महिलाले सञ्चालन गरेका छन् भने केही रेडियो आदिवासी जनजाति त केही रेडियो मधेसी समुदायले । कुनै रेडियो मुस्लिम समुदायले चलाएका छन् । बाँकेमा रहेको रुवरु एफएम मुस्लिम समुदायले सञ्चालन गरेको छ भने भक्तपुरमा रहेको ग्रेस एफएमले क्रिस्चियन समुदायलाई स्रोता बनाएर त्यस्तै खालको कार्यक्रम गरिरहेको छ । स्थानीय रूपमा सञ्चालन भइरहेका ६ सयभन्दा बढी रेडियोले भाषा र संस्कृति संरक्षणमा योगदान गरिरहेका छन् त्यसमध्ये पनि ३ सय ८५ वटा सामुदायिक रेडियोले त रेडियो खोल्नुको उद्देश्य नै विविधताको संरक्षण गर्ने भनेर राखेका छन् । फरकफरक पहिचान र विविधता बोकेका समुदायले केही रेडियो सञ्चालन गरेका छन् । भोजपुरमा रहेको चोमोलुङ्मा एफएमले राई समुदायको चाडपर्व, कला र संस्कृतिको संरक्षणका लागि त्यही समुदायका व्यक्तिलाई रेडियोमा समावेश गरेर काम गरिरहेको छ ।
विविधताको रक्षाका लागि खास जात जाति भाषा, भूगोल आदिका लागि भनेर रेडियोले विशेष विधा रोज्ने हो भने बढिरहेको रेडियोको संख्यालाई चुनौती होइन अवसरका रूपमा लिन सकिन्छ
फागुन १ गते अर्थात् फेबु्रअरी १३ तारिख पर्ने विश्व रेडियो दिवसका अवसरमा केन्द्रदेखि प्रदेशसम्म सप्ताहव्यापी कार्यक्रम भइरहँदा अहिले रेडियोले विविदता संरक्षणमा कस्तो भूमिका खेलेको छ भन्ने’bout व्यापक छलफल भइरहको छ । विविधिताको धनी देश नेपालको पहिचान जोगाउन यस्ता विविधिताकोे संरक्षण गर्न रेडियोले सघाउनुपर्छ । भाषाकै कुरा गर्ने हो भने नेपालमा आधाभन्दा बढी भाषा लोपोन्मुख अवस्थामा छन् । पछिल्लो समय लोपोन्मुख भाषाको संरक्षण र उत्थानका लागि विभिन्न क्षेत्रबाट प्रयास पनि भएका छन् । यी भाषाको संरक्षण, प्रवद्र्धन र उत्थानका लागि स्थानीय रेडियोले विशेष योगदान गर्न सक्छन् । भाषा जस्तै अन्य पहिचान र विविधतालाई सम्पत्तिका रूपमा हेरेर यसको संरक्षणको बाटो स्थानीय सरकारले लिनुपर्छ र त्यसमा रेडियोजस्तो सञ्चार माध्यमले पनि सहयोग गर्नुपर्छ । मधेसमा पुग्दा त्यहाँको मैथिली, भोजपुरी, बजिका, थारू आदि भाषाका गीत स्थानीय एफएम रेडियोमा (प्रसारण भइरहेको) घन्किरहेको सुनिन्छ भने पूर्वमा पुग्दा राई भाषाका गीत घन्किरहेका छन् । गण्डकी प्रदेशमा पुग्दा गुरुङ भाषाको गीत त सुदूरपश्चिम प्रदेश पुग्दा डोटेली भाषाको गीत स्थानीय रेडियोमा प्रसारण भइरहदा निक्कै खुसी लाग्छ । गीत मात्रै होइन स्थानीय गीत र भाकाका सर्जकलाई स्थानीय रेडियोले अन्तर्वार्ता लिएर प्रसारण गर्दा सर्जकलाई उत्साह थपिएको छ । रेडियोमा प्रसारण हुने धुनमा पनि स्थानीय बाजागाजालाई प्राथमिकता दिँदा स्थानीय गीत संगीतको संरक्षणमा रेडियोको भूमिका महत्वपूर्ण देखिन्छ ।
विश्वको पहिलो सामुदायिक रेडियो ‘भ्वाइस अफ दि माइनर’ को स्थापनादेखि नै सामुदायिक रेडियो भनेको अल्पसंख्यक, आदीवासी विभेदमा परेका र पछाडि पारिएको वर्गका लागि भन्ने अवधारणा अघि बढेकाले त्यसलाई आत्मसात् गर्दै स्थानीय आदिवासी जनजातिको पहिचान, अधिकार र भाषा संरक्षणमा सधंै सामुदायिक रेडियोकर्मी जुट्नुपर्छ । रेडियोको रेकर्डर र माइक्रोफोनले अल्पसंख्यक, आदिवासी विभेदमा परेका र पछाडि पारिएको वर्गको शक्ति बढाएको छ । उहाँहरूले आफू सञ्चारको संवाहक भएकामा आफूलाई खुसी लागेको बताइरहनुभएको छ ।
समानुपातिक र समावेशिताको सिद्धान्तलाई संविधानले आत्मसात् गरेको सन्दर्भमा समाजलाई दिशानिर्देश गर्ने निकाय सञ्चार माध्यममा पनि यो सिद्धान्त लागू हुनुपर्छ । राज्यशक्तिले यसको कार्यान्वयनमा केके गरेको छ त्यसको समीक्षा छुट्टै पाटो भयो तर रेडियोले विविधता संरक्षणलाई त आफंैले सकी नसकी योगदान गरेकै छ । सकी नसकी सबै रेडियो स्टेसनले आफ्नो रेडियो प्रसारण हुने क्षेत्रका विविध वर्गका स्रोतालाई समेट्ने प्रयास गरेका छन् । धेरै स्थानीय रेडियो स्टेसनले स्टेसनबाट प्रसारण हुने कार्यक्रम तालिकामा विविधतालाई समेट्ने गरेर तयार पारेको देखिन्छ । बिहान ५ बजेदेखि राति ११ बजेसम्म प्रसारण हुने प्रायः एफएमको कार्यक्रम तालिकामा सबै वर्गका स्रोतालाई समेट्ने प्रयास गरेको पाइन्छ ।
रामेछापको गुम्देलको चौरी गोठबाट कर्मारिन्जी शेर्पाले ल्यापटपमै रेकर्ड गरेर शेर्पा भाषाको कार्यक्रम रेडियो कैरनमा पठाउनुहुन्छ भने बाँकेका किशोरी पत्रकार चेतना आचार्य गाउँमा किशोरीको सवालमा छलफल गरेर रेडियो कार्यक्रमका लागि अडियो तयार गरी स्टेसनमा पठाउनुहुन्छ । बुहारी पत्रकारको पहिचान बनाउनुभएका रेडियो बुढीनन्दा बाजुराका कालिका उपाध्यायले गृहिणी महिलाका सवाल रेडियोमा प्रस्तुत गरिरहनुभएको छ भने धनुषाका स्वयंसेवी पत्रकार निक्की झा परिवारको लालनपालनको काम सकेर समुदायमा हुने सवालको समाचार संकलन गर्न हिँड्नुहुन्छ । राम्रो समाचार पाउनेबित्तिकै रेडियोमा पु¥याइहाल्नुहुन्छ । विषयवस्तु र पत्रकारकै हिसाबले पनि कति विविधता छ स्थानीय रेडियोमा यी उदाहरणले प्रस्ट पार्छ । विविधता बोकेका रेडियो, त्यसमा पनि विविध खालका पत्रकार उनीहरूले प्रस्तुत गर्ने विषयवस्तुमा पनि विविधता यही नै नेपाली रेडियो र रेडियोकर्मीको विषेशता हो जस्तो लाग्छ ।
भाषाजस्तै अन्य पहिचान र विविधतालाई सम्पत्तिका रूपमा हेरेर यसको संरक्षणको बाटो स्थानीय सरकारले लिनुपर्छ
महिला, आदिवासी, जनजाति, मधेसी, दलित, अल्पसंख्यकका लागि स्थानीय तह र राज्यका संयन्त्रले दिने गरेका सेवा सुविधाको कार्यान्वयनको अवस्थाको अनुगमन गर्न, गलत भएको ठाउँमा खबरदारी गर्ने अनि थप प्रचारप्रसार गर्ने काम समुदायमा रहेका सामुदायिक रेडियोले गरिरहेका छन् । आफ्नो समुदायमा रहेका विभेदपूर्ण समाजिक मूल्य, मान्यता, परम्परा, संस्कार अन्त्य गर्न सघाउने काम गरिरहेका छन् । संविधान र कानुन बनेर मात्रै पुग्दैन समाजमा रहेको विभेद अन्त्य भएन भने सबै प्रकारको विविधताको रक्षा भएन भने त्यसको औचित्य हँुदैन ।
नेपालको सामुदायिक रेडियोको अभियान राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नमुनाका रूपमा प्रसंशित छ । अझ विविधताको पाटोलाई यसरी केलाउने हो भने यसले अर्को नमुना प्रस्तुत गर्न सक्छ । विविधताको संरक्षण र सामाजिक रूपान्तरणका लागि रेडियोले खेलेको भूमिका हिसाब गरिसाध्य छैन, यसको व्यवस्थित अध्ययन र प्रभावको दस्तावेजीकरणको आवश्यकता छ । सामुदायिक रेडियोहरूको संख्यात्मक वृद्धिले मुलुकको भाषिक र सांस्कृतिक विविधतालाई उजिल्याउने मात्रै होइन, तिनको संरक्षण र सम्बद्र्धनमा समेत महत्वपूर्ण योगदान गरेको छ । विविधताको रक्षाका लागि खास जातजाति भाषा, भूगोल आदिका लागि भनेर रेडियोले विषेश विधा रोज्ने हो भने बढिरहेको रेडियोको संख्यालाई चुनौती होइन अवसरका रूपमा लिन सकिन्छ । त्यसैले स्थानीय रेडियोले आफूलाई राष्ट्रिय रेडियोजस्तो होइन, स्थानीय नै बनाउन सक्नुपर्छ । त्यसका लागि रेडियो सञ्चालकले आफ्नो समीक्षा आफैं गरेर नयाँ बाटो समात्नुपर्ने देखिन्छ ।






