काठमाडौं । गायिका प्रकृति सम्पदाले आफ्नो स्वरमा नयाँ गीत ‘माया साँचेको’ बजारमा ल्याएकी छन् । शुक्रबार काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई चलचित्र निर्देशन साकार पन्तले निर्देशन गरेका हुन् ।
यो गीतको भिडियोमा अभिनेत्री बेनिशा हमालको अभिनय रहेको छ । पछिल्लो समय चलचित्रको छायांकन नहुँदा फुर्सदमा रहेकी बेनिशाले यो गीतको भिडियोमा प्रशंसनीय अभिनय गरेकी छन् । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको भिडियोमा रोमन मानन्धरको छायांकन रहेको छ । रवि सायमी डीओपी रहेको भिडियोमा सुरेश काफ्लेको ड्रोन रहेको छ ।
यो भिडियोका निर्देशक साकारले भिडियो सुन्दर बनाउन आफ्नो पूरै टिम खटिएको र गीतको भावअनुरूप लोकेसन छनोट गर्न धेरै मिहिनेत गरेको पत्रकार भेटघाटका क्रममा बताए । वरिष्ठ अभिनेता सन्तोष पन्तले भिडियो निकै राम्रो बनेको सो कार्यक्रममा बताए । गीतसँगै भिडियो र लोकेसन निकै मन परेको पनि पन्तले बताए ।
अभिनेत्री बेनिशाले एउटै परिवारको सदस्यझंै भएर मिहिनेतका साथ काम गरेको सुनाइन् । हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियो धम्पुस आसपास खिचिएको हो ।
गायिका प्रकृतिले शब्दको सारअनुसार आफूले गाएको र सोहीअनुरूप भिडियो निर्माण भएको कार्यक्रममा बताइन् । आफू व्यावसायिक गायिका भइनसकेको भए पनि दर्शक, श्रोताको प्रेरणाले गायनमा अघि बढ्न हौसला मिलेको पनि उनले कार्यक्रममा बताइन् ।






