कम्युनिष्ट पार्टीहरुबीच फेरि एकता गर्छौं : पुन

ओखलढुंगा । माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले नेपालका सबै कम्युनिष्ट पार्टीबीच एकता हुने बताएका छन् ।
ओखलढुंगामा शनिबार पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पुनले सबै धारा र प्रवृत्तिका कम्युनिष्ट शक्तिलाई एकताबद्ध गरिने बताए ।

आफूहरुले समाजवाद कार्यान्वयन गर्ने सही नियतका साथ एमालेसँग एकता गरेको भए पनि केपी ओलीले स्वार्थको रणनीतिका रुपमा प्रयोग गरेकाले एकता दिगो नभएको पुनको भनाइ थियो । ‘केपी ओलीले समाजवादका लागि, कम्युनिष्ट आन्दोलन बलियो बनाउनका लागि नभई प्रधानमन्त्री पदमा पुग्ने स्वार्थले एकता गर्नुभएको रहेछ भन्ने घटानक्रमहरुले पुष्टि गरेको छ’, पुनले भने ‘ढिलो चाँडो फेरि कम्युनिष्ट पार्टीहरु एकतामा जानुपर्छ । कम्युनिष्ट पार्टीको एकता आवश्यक छ ।’ पुनले तर, अब एकता गर्दा विचार र प्रवृत्तिगत रुपमा माओवादी पार्टी र आन्दोलन हाबी हुने गरी गरिने स्पष्ट पारे ।

उनले माओवादीले सबै धारका कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्न एकताको झण्डा उठाउने जानकारी दिए । ‘एकता हिजो पनि जरुरी थियो, आज पनि जरुरी र आवश्यक छ, फेरि पनि एकताको बाटोबाट अगाडि जानुपर्छ’, उनले भने ‘माओवादी केन्द्रले फेरि ध्रुवीकरणको प्रयास गर्छ, एकताले प्रयास गर्छ । हामी एकताको झण्डा उठाउँछौं ।’ यद्यपि तत्कालै एकताको सम्भावना भने नरहेको उनको भनाइ थियो । पुनले माओवादीले एमालेसँग गठबन्धन गरेपछि गरेका गल्तीका लागि पूर्णकालिन कार्यकर्ता, जनमुक्ति सेना, शहदि तथा बेपत्ता परिवारलाई खोजीखोजी एकताबद्ध बनाउने र एकै ठाउँमा उभिने वातावरण बनाउने बताए । ‘अब हामी हाम्रा मान्छे खोज्छौं, ०६४ मा ३४ लाख भोट थियो । अहिले १६ लाखमा झरेको छ । हामी बीचमा गल्ती भयो, असल नियतले गठबन्धन गरियो । आफ्नो शक्ति, विचार सुदृढ गरेर आफ्ना मान्छेलाई गोलबन्द गरेपछि मात्र हुने रहेछ भनेर हामी गाउँगाउँ जान्छौं । पूर्णकालिन कार्यकर्ता, जनमुक्ति सेना, भाइते, अपांग, शहीद बेपत्ता परिवार खोज्छौं’, पुनले भने ।

भोटको राजनीतिमा पार्टी कहिले सानो र कहिले ठूलो हुने भन्दै पुनले मुलुक अहिले पनि माओवादी एजेण्डामै अघि बढेकाले आफूहरु कमजोर नभएको दाबी गरे । विगत १५/२० वर्षदेखि मुलुकको राजनीति माओवादी आन्दोलन वरिपरि घुमेको र अहिले पनि माओवादीका एजेडा मुलुकको एजेण्डाका रुपमा स्थापित भएको चर्चा गरे । भोटकै राजनीतिमा पनि कमजोर नरहेको उनको दाबी छ । पछिल्लो स्थानीय तहको निर्वाचन परिणामका आधारमा देशभर माओवादीका १६ लाख मतदाता रहेको भन्दै पुनले आगामी निर्वाचनसम्म उक्त संख्या दोब्बर बनाइने घोषणा गरे ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ