काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको दक्षिण एसियाली प्रारम्भिक छनोटअन्तर्गत प्लेअफको पहिलो खेलमा बुधबार घरेलु मैदानमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबको सामना गर्दै छ । खेल नेपाली समयानुसार साँझ ५ः३० बजे दशरथ रंगशालमा हुनेछ ।
खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रीलंकाका प्रशिक्षक झिलाउ अलपेन्सुले टोलीले थोरै तयारी गरे पनि राम्रो नतिजा ल्याउने प्रयास गर्ने बताएका छन् । उनले कोभिड–१९ संक्रमणका कारण आफ्ना खेलाडी पुलिस ड्युटीमा व्यस्त रहेकाले फुटबल प्रशिक्षण राम्रो गर्न नसकेको बताए । ‘हामीले खेलका लागि लामो तयारी गरेका छैनौं । हाम्रा सबै खेलाडी पुलिस ड्युटीमा खटिएका कारण फुटबल प्रशिक्षण हुन सकेन ।
जनवरीको अन्तिमतिर मात्र हाम्रा खेलाडी एकसाथ जम्मा भएका हुन् । त्यसपछि दुई महिना प्रशिक्षण गरेर हामी नेपाल आएका हौं,’ उनले भने । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले टोलीको तयारी निकै राम्रो भएको बताए । ‘हाम्रो तयारी निकै राम्रो भएको छ । गत साता किर्गिस्तानको यु–२३ टोलीविरुद्ध खेल्न पाउनुले हामीलाई धेरै फाइदा पुगेको छ ।
हामीले आफ्नो तयारी कुन स्तरमा थियो भन्ने मापन गर्न पायौं,’ उनले भने । ‘हामीले अफ्रिकी टोलीसँग खेल्दा शारीरिक रूपमा बलिया खेलाडीसँग कसरी खेल्ने भन्ने भेउ पायौं । श्रीलंका पुलिससँग पनि तीन अफ्रिकी खेलाडी छन् । हामीले उनीहरूविरुद्ध पनि रणनीति बनाएका छौं । हरेक टोलीमा आफ्ना बलिया खेलाडी हुन्छन् नै त्यसको सामना गर्न हामी तयार छौं,’ न्यौपानेले थपे ।
टोलीका कप्तान भरत खवासले आर्मीका लागि यो राम्रो अवसर रहेकाले खेलाडी त्यसलाई सदुपयोग गर्न तत्पर रहेको बताए । ‘क्लब लाइसेन्स प्राप्त गर्नु र यस्तो प्रतियोगिता खेल्न पाउनुलाई हामीले अवसरका रूपमा लिएका छौं । हाम्रो तयारी पनि राम्रो भएको छ । आशा गरौं भोलि हाम्रो तयारीअनुसार प्रदर्शन हुनेछ,’ उनले भने ।
एएफसी कपमा आर्मीले यसपटक समूह चरण पुग्न प्लेअफका तीन खेल जित्नुपर्नेहुन्छ । प्रशिक्षक न्यौपानेले हाललाई समूह चरण पुग्ने आर्मीको लक्ष्य रहेको बताएका छन् । एएफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाको प्लेअफ छनोटबाट अघि बढ्ने टोली एएफसी कपको समूह ‘डी’ मा रहनेछ ।
पहिलो खेलमा आर्मीले श्रीलंका पुलिसलाई पराजित गरे दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबको सामना गर्नेछ । बेंगलुरुविरुद्ध खेल भने १४ अप्रिलमा गोवामा हुनेछ । सो खेल जितेमा आर्मीले २१ अप्रिलमा प्लेअफ फाइनलमा खेल्नेछ । प्लेअफकै अर्को पोलमा माल्दिभ्सको क्लब इगल्स र भुटानको थिम्पु सिटीले माल्दिभ्समा खेल्नेछन् ।






