काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष चारमा पर्ने सम्भावनालाई जीवितै राखेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको चौथो मिनेटमा तेज तामाङको क्रस पासलाई स्टेफन विनोङ समीरको हेडरलाई गोलरक्षक विशाल श्रेष्ठले गोललाइनबाट बचाउँदा अग्रता लिन चुकेको काठमाडौंले पाँचांै मिनेटमा अग्रता लिएको हो ।
पाँचांै मिनेटमा तेज तामाङले सेन्टर लाइनबाट दिएको लामो पासमा गोलरक्षक अघि बढेको अवस्थामा गोल गर्दै काठमाडौं रेजर्सलाई १–० को अग्रता दिलाए । गोल लाइनबाट मानबहादुर परियारले बचाउने प्रयास गरे पनि सफल हुन सकेनन् । लगत्तै छैटौं मिनेटमा सुमन लामाले लगेको बलमा विश्वास श्रेष्ठले लडाएपछि रेफ्री कविन व्यन्जनकारले बुटवल लुम्बिनीलाई पेनाल्टी प्रदान गरेको थियो । तर, विलियन ओपोकु एसेइडुको पेनाल्टीलाई काठमाडौंका कप्तान तथा मार्की खेलाडी विकेश कुथुले बचाउँदै बराबरी टारे ।
१३औं मिनेटमा मेसौके ओलुमोउको प्रहारलाई विशाल श्रेष्ठले दोस्रो प्रयासमा नियन्त्रणमा लिन सफल भए । १८औं मिनेटमा कर्नराट आएको बलमा छिरिङ गुरुङको प्रहार डिफेन्डरले ब्लक गरे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सुदिल राईको पासमा आशीष राईको पेनाल्टी बक्सबाहिरको प्रहार क्रसबारमा लागेर फर्कंदा काठमाडौं अग्रता दोब्बर पार्नबाट चुक्यो ।
५३औं मिनेटमा विश्वास श्रेष्ठको क्रस पासलाई बुटवल लुम्बिनीका गोलरक्षक विशाल श्रेष्ठले मुस्किलले बचाए । ६४औं मिनेटमा आशीष लामाको प्रहार पोस्टबाट थोरै बाहिरिँदा बुटवल लुम्बिनी बराबरीबाट चुक्यो । काठमाडौं रेजर्सका सुदिल राई इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । काठमाडौंकै मार्की खेलाडी तथा गोलरक्षक विकेश कुथु प्लेय अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ हात पारे ।
जितपछि काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले बुटवल लुम्बिनीविरुद्धको खेल डु अर डाईमा रहँदा जित्नै पर्ने दबाबमा खेल्दा जित हात पार्न सकिएको र ३ अंकमा खुसी रहेको बताए । उनले प्ले अफमा पुगेको अवस्थामा फिनिसिङलाई थप सुधार गर्दै लैजाने बताए । बुटवल लुम्बिनीका प्रशिक्षक सनोज श्रेष्ठले सुरुवाती गोल खाँदा र डोमिनेट भएर खेल्नुपर्दा हार बेहोर्न पुगेको बताए ।
जितपछि काठमाडौं चार खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको धनगढी एफसी र विराटनगर सिटी एफसीसँग समान ७ अंक भए पनि काठमाडौं गोलअन्तरमा पछि परेको हो । पराजित बुटवल लुम्बिनी ४ खेलबाट ५ अंक जोडेर चौथो स्थानमा झरेको छ । पोखरा थन्डर्स ५ अंक जोडेर पाँचांै स्थानमा रहेको छ । ललितपुर ३ अंक जोडेर छैटौं तथा चितवन २ अंक जोडेर पुछारमा छ । ललितपुर र चितवनको शीर्ष चारमा पर्ने सम्भावना न्यून छ । लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ वैशाखमा खेल्नेछन् ।
यस खेलमा पराजित हुने टोलीले २९ वैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० वैशाखमा खेल्ने छन् । फाइनल १ जेठमा हुनेछ । लिगमा बुधबार धनगढी एफसी र पोखरा थन्डर्सबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् ।
व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।






