बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । संक्रमितको संख्या दिनहुँ बढ्दो छ । हरेक दिन सय भन्दा बढी संक्रमित थपिदै गएका छन् । संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार कोरोना भाइरसको दोस्रो लहर सुरु भए यता हालसम्म १ हजार ६ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने कोरोना संक्रमणका कारण १९ जनाले ज्यान गुमाइ सकेको छन् । जिल्लाका आठवटै पालिकामा संक्रमण तिब्र गतिमा फौलदै गएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म बढैयाताल गाउँपालिकामा सबै भन्दा बढी कोरोना संक्रमित देखिएका छन् । बढैयाताल गाउँपालिकामा १३८ महिला र १६४ पुरुष गरी ३०२ जनामा कोरोनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि यो पालिकाका सबै भन्दा बढी छ । यो पालिकामा हालसम्म ५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइ सकेका छन् ।
गुलरिया नगरपालिकामा कोरोना संक्रमितको संख्या २७९ पुगेको छ । कोरोनाको दास्रो लहर सुरु भएयता गुलरिया नगरपालिकाका ३ जनाले ज्यान गुमाएका छन् । बारबर्दिया नगरपालिकामा कोरोना संक्रमितको संख्या २३२ पुगेको छ । भने कोरोना संक्रमणका कारण २ जनाको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार दोस्रो लहर सुरु भएयता बाँसगढी नगरपालिकामा २३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण यो पालिकामा १ जनाको ज्यान गएको छ ।
मधुवन नगरपालिकामा हालसम्म १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो पालिकाका २ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिकामा १८० जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरि हालसम्म राजापुर नगरपालिकामा १४० र गेरुवा गाउँपालिकामा १०१ जनामा कोरोना संक्रमण देखिएको छ । भने राजापुर नगरपालिकामा ४ जना र गेरुवा गाउँपालिकामा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता संक्रमित भएका मध्ये हालसम्म ३१७ जनाले कोरोना जितेका छन् ।
जिल्लामा संक्रमितको संख्या बढ्दै जाँदा उपचारमा निकै ठूलो समस्या आइपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । कोरोना संक्रमितको उपचारका लागि जिल्लाका ८ वटै पालिकामा आइसोलेसन निर्माण गरिएपनि प्रयाप्त नभएको स्वास्थ्यकर्मीको भनाई छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार जिल्लाका विभिन्न स्थानिय तहमा १८७ वटा आइसोलेसन वेड रहेको छ । जसमा ९९ वटा वेड अक्सिजनसहितका रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बुधबार बसेको बैठकले गुलरिया नगरपालिकास्थित साविक महिला विकास कार्यालयको भवनमा २५ वेड कोभिड अस्पतालबाट प्रारम्भिक सेवा सुरु भएकोका यसलाई तत्कालै पूर्णरुपमा संचालनमा ल्याउने, कोरोना संक्रमण फैलने क्रम तिब्र भएको हुँदा विरामीको उपचारका लागि अत्यावश्यक रहेको अक्सिजन अभाव हुन नदिन जिल्लाका ८ वटै स्थानिय तहले कोभिड विशेष अस्पतालमा कम्तिमा २० वटा ठूलो अक्सिजन सिलिण्डरको व्यवस्था गर्ने र सबै स्थानिय तहले कोभिड मैत्री अक्सिजनसहितको एम्बुलेनसको व्यवस्था गर्ने लगाएतका निर्णय गरेको छ ।





