वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर किन्न सर्वसाधारण त्यसैले बढी पुग्ने गरेका हुन् । यो मौकाको फाइदा उठाउँदै पर्साको वीरगन्जमा एक औषधी व्यवसायीले कालोबजारी गरी सर्वसाधारणलाई ठगी गरेको पाइएको हो ।
पर्सा प्रहरीले उनलाई पक्राउ गरेपछि वास्तविकता सहतहमा आएको छ । कोरोनाले गाँजेको वीरगन्जमा अक्सिमिटर बिक्री गर्दा कालोबजारी गरी ग्राहकलाई ठगी गर्ने ती औषधी व्यवसायी पक्राउ परेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । ‘उनको पसलमा रीतपूर्वक छापा मार्दा १२ थान अक्सिमिटर पनि फेला प¥यो,’ उनले भने । आफ्नै घरमा औषधी पसल राखेर कालोबजारी गरेको फेला परेपछि वीरगन्ज महानगरपालिका–१६ नगवाका ३२ वर्षीय औषधी व्यवसायी रामहरि तिवारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । औषधी व्यवसायी तिवारीले १ हजार ९ सय पर्ने अक्सिमिटरलाई ३ हजार ५ सयभन्दा बढी मूल्यमा बिक्री गरेको पाइयो ।
पक्राउ परेका अभियुक्त तिवारीलाई कालोबजारीसम्बन्धी कसुरमा कार्बाही प्रक्रिया अगाडि बढाइँदै छ प्रहरी नायव उपरीक्षक खनालले बताए । कोरोना महामारीको यस्तो समयमा पनि अन्य धेरै औषधी पसलमा समेत अक्सिमिटर र औषधीमा कालोबजारी हुने गरेको सर्वसाधारणको आरोप छ । कालोबजारी ऐनअनुसार कसुर गरेको ठहर भएमा एक वर्ष कैद र २ लाख ५० हजार जरिमाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।






