विभेद र वहिष्करणको शृंखला

प्रसिद्ध दार्शनिक रुसोको भनाइ छ, ‘कथित सभ्यताको विकास हुनुअघि मनुष्य प्राकृतिक अवस्थामा थियो ।’ ‘बुद्धि र भाषाको विकास भएको थिएन मानवजीवन सहज जैविक प्रवृत्तिबाट परिचालित हुन्थ्यो ।’

जीवनमा न दुःख न सुख, न हर्ष न शोक, न करुणा न क्रुरता, न मेरो न तेरो । कर्तव्यको बन्धनबाट धेरै टाढा स्वतन्त्र र स्वच्छन्द जीवन । तर, दुर्भाग्यवश सधैं यस्तो अवस्था रहेन । रुसो भन्छन्, ‘जुन दिन एउटा मनुष्य एउटा निश्चित भूखण्डमाथि उभिएर घोषणा ग¥यो कि ‘यो मेरो हो’ र अरू मनुष्यले स्वीकार गरे कि ‘हो तेरो हो’ त्यहीँबाट व्यक्तिगत सम्पत्तिसँगै असमानता र विभेद सुरु भयो ।

विस्तारै विभेदको शृंखला लम्बिँदै गयो । मानवमा स्वार्थ, धुत्र्याइँ र लोभका साथै ‘हुने’ र ‘नहुने’ वर्गको उदय भयो । सुख, दुःख, दया, अहंकार, ईष्र्या, शोक र विस्मातको भावना विकास हुँदै गयो । सभ्यताको विकाससँगै विवाह, परिवार, नैतिकता, मर्यादा र अनुशासनका दाम्लाले मनुष्यलाई बन्धनमा जकड्दै गए । रुसो भन्छन्, ‘मानिस स्वतन्त्र जन्मिन्छ तर जन्मनासाथ सर्वत्र बन्धनमा जकडिन पुग्दछ ।’

मानव सभ्यताको इतिहास दया, करुणा एवं नैतिकताजस्ता गौरवगाथाले मात्र भरिपूर्ण छैन । यो मूल रूपमा भेदभाव, अन्याय, निर्दयता र बलियोले निर्धोलाई निरन्तर सताइरहने रौरवमय र दर्दानाक शृंखलाका क्रममा यहाँसम्म आइपुगेको हो । विभेद, वहिष्करण र वञ्चितीकरणका विभिन्न रूप छन् । जाति, धर्म, भाषा, रङ, लिङ, उमेर, आर्थिक हैसियत, राजनीतिक आस्था, पेसा, संस्कृति, शारीरिक अवस्था, क्षेत्रीयता जस्ता कुराको आधारमा शोषित, पीडित र प्रताडित हुँदै आएको छ मानव । आजको युगमा पनि यो पीडा र प्रताडना कतै पूर्ववत् र कतै भिन्न रूपमा जीवितै छ ।

मानव सभ्यताको इतिहासमा कुनै पनि जाति, क्षेत्र, धर्म, संस्कृति र देशको दबदबा लगातार रूपमा कायम भएको पाइँदैन । यो शृंखलाको अध्ययन गर्दा अन्यायमा परेको वर्ग या क्षेत्रले विजय हासिल गरेपछि उसले पनि विजितलाई दुःख दिने र सताउने नै गरेको पाइन्छ । हाम्रा पौराणिक कथाका आदित्य, दैत्य र दानवबीच कहिल्यै पनि सद्भाव कायम भएको पाइँदैन । सधंै एकले अर्कोेलाई सिध्याउनुमै सबैको ध्यान पुगेको देखिन्छ । छोटो शान्तिकाल शक्ति सञ्चय गर्ने दाउका रूपमा प्रयोग हुन्थ्यो ।

हाम्रो समाजमा विभेद र वहिष्करणमा परेका जाति र वर्गमा आफैंभित्रसमेत विभेदको अर्को शृंखला कायम छ

प्राचीन युनानी नगर राज्यको प्रत्येक युवक वीर लडाकु हुन बाध्य थियो । सबैलाई थाहा थियो, हारियो भने जित्ने पक्षको दास बनेर पिल्सिएर बस्नुपर्नेछ । हामी मनुष्यको वीरताको ठूलो बखान र महिमागान गर्छाैं तर त्यसभित्रको विवशता र वीभत्सतातर्फ कसैको ध्यान जाँदैन । यो संसारमा जति पनि वीर भए प्रायः सबै आफू दास हुनबाट बच्न र अरूलाई दास बनाउन नै भए । बरु वीरताको बाना परित्याग गरेका सिद्धार्थले मानवीय मूल्यका लागि ठूलो योगदान दिए । स्वार्थी मनुष्यले बुद्धलाई पूजा गर्न थाल्यो तर विभेदको बानी छाड्न सकेन ।

बाँके र बर्दिया जिल्लामा चिडीमार (चरा मारेर जीविको पार्जन गर्ने) भन्ने एउटा अल्पसंख्यक र लोपोन्मुख जातिको बसोवास छ । भनिन्छ, उनीहरूका पुर्खा भारतको उत्तरप्रदेशको कुनै इलाकाका राजा थिए । युद्धमा पराजित भएको हुँदा उनीहरूको भागाभाग भयो । परिस्थितिविपरीत भएपछि के लाग्छ ? हिजोका राजाका सन्तान आजका अकिञ्चन र लान्छित भएर बाँच्नुप¥यो ।

किरातहरूले विस्थापित गरेका गोपाल र महिषपाल वंशका शासकवर्ग कृषि मजदुरमा परिणत भए । लामो समय शासन गरेपछि किरातहरू पनि अपदस्थ भएर कोही भागे भने कोही किसानवर्गमा विलय भए । अजात सत्रुले वैशाली ध्वस्त पारेपछि भागेर काठमाडौं उपत्यका प्रवेश गरेका बज्जीगणका लिच्छवीहरूले नेपालको शासन हातमा लिए । पछि आफंै पराजित हुन पुगेका लिच्छवी किसान काम गर्ने ज्यापु समुदायमा समाहित भए ।

दाङलगायत थारू जातिको वर्चस्व रहेका धेरै ठाउँमा थारू राजा रहेको विश्वास छ । दाङमा अठार पुस्तासम्म थारू वंशले शासन गरेको विवरण इतिहासमा पढ्न पाइन्छ । पश्चिमी पहाडमा स्वतन्त्र मगर राज्य थिए । नयाँ शक्तिसामु टिक्न नसकेका कारण सभ्य र शालीन तरिकाले शासन गरेका उनीहरू पाखा पखेरातिर धपिएर दुखी जीवन बिताउन बाध्य भए ।

कर्णाली क्षेत्रमा लामो समय अकन्टक राज्य गरेको सम्पन्न खस राज्य गोरखाली शक्तिको अगाडि टिक्न सकेन । पराजयको पीडाले रन्थनिएका त्यस भेकका जनतालाई न त नयाँ राज्यले खोज्यो, न त उनीहरूले नै राज्य खोजे । उनीहरूलाई राज्यका तर्फबाट कुनै ममता प्राप्त होला भन्ने आशा थिएन । उनीहरू रोजगारीका लागि बरु हिन्दुस्तानतिर गए । तर नेपाल उपत्यकातर्फ छिरेनन् । तनहुँ, लमजुङ आदि गोर्खाली शक्तिबाट पराजित सेनानायक गोर्खाली सेनामा काम गर्न आए जस्तो कर्णाली क्षेत्रका सैनिक पराजयपछि मूल सैनिक प्रवाहबाट परै बस्नुमा ठूलो मनोवैज्ञानिक कारण हुनुपर्छ ।

विभेदको शृंखलामा राज्यशक्ति, धर्म, भाषा, समाज र सम्पत्तिमा जुन वर्गको वर्चस्व छ उसैको दबदबा कायम हुने गरेको छ

एउटा वर्गले अर्को वर्गलाई जितेपछि पुरानो शासकवर्गको दुर्गति गराउने चलन पुरानो हो । विजेताले विजितलाई तल्लो स्तरको काम गर्न लगाउने, तल्लो जातिमा झार्ने र राजकाजको कामतर्फ आँखै लगाउन नदिने प्रवृत्ति थियो । राजा पृथ्वीनारायण शाहले आफ्ना ससुराली मकवानपुरे सेन खलकलगायत आफूलाई सहयोग नगर्नेहरूलाई दुःख दिएको र जात पतीत गराएको इतिहास छ । समाजले उपेक्षित भनेर हेला गर्ने गरेको काम गर्न कोही न कोही चाहिने हुँदा आफ्नै जाति र धर्मभित्रका सानोतिनो अपराध गरेका मानिसलाई जात पतीत गराई त्यस्ता काम गर्न खटाएको पाइन्छ ।

पश्चिमी फ्रान्स र उत्तरी स्पेनमा क्यागेट भन्ने अल्पसंख्यक जातिलाई हेयको दृष्टिले हेरिन्थ्यो । उनीहरू छुट्टै ठाउँमा बस्न बाध्य पारिन्थे । बजारमा खानेकुरा छुन, पसलभित्र जान र अन्तरजातीय विवाह गर्न मनाही थियो । चर्चमा पस्दा छुट्टै ढोकाबाट पस्न र छुट्टै प्रार्थना गर्न बाध्य थिए उनीहरू । युरोपमा जिप्सी र यहुदीहरूलाई हेयको दृष्टिले हेर्ने चलन अझै कायम छ । जापानमा छालाको काम, मासु व्यवसाय, सरसफाइ आदि काम गर्ने र सरकारले दिएको मृत्युदण्ड कार्यान्वयन गर्नेहरूलाई अछुतको व्यवहार गरिन्थ्यो । अहिले पनि त्यस्तो विभेद जारी छ ।

इस्लाम धर्म मान्ने अरब देशहरूमा पनि छुवाछूतको भावनाको अवशेष अझै छ । भारतमा हिन्दू धर्मको छुवाछूतको विभेदबाट मुक्ति पाउन इस्लाम र क्रिश्चियन धर्म अँगाल्न पुगेका दलितलाई नयाँ धर्ममा पनि अछूतको व्यवहार गर्ने गरेका धेरै उदाहरण छन् । अमेरिका र अस्ट्रेलिया कब्जा गरेका गोराहरूले त्यहाँका आदिवासीलाई अपहेलित तरिकाले सीमान्तकृत गरिदिए । अमेरिका र युरोपमा अहिले पनि काला जातिमाथि विभेद कायमै छ । चीनमा अफ्रिकाबाट पढ्न आउने काला विद्यार्थीलाई विभेदको व्यवहार गरिन्छ ।

विभेदको शृंखलामा राज्यशक्ति, धर्म, भाषा, समाज र सम्पत्तिमा जुन वर्गको वर्चस्व छ उसैको दबदबा कायम हुने गरेको छ । नेपालको सबैभन्दा विस्तारित विभेद भनेको छुवाछूत हो । छुवाछूतको परम्परागत अर्थ एक व्यक्तिले अर्को व्यक्तिलाई अस्पृश्य मानेर नछुनु र छुनुप¥यो भने छोइछिटो या अन्य तरिकाले चोख्याउने प्रक्रिया हो । अहिले व्यक्तिले व्यक्तिलाई गर्ने छुवाछूतको विभेद करिब समाप्त भएको छ । तथापि यसका अन्य विभिन्न आयाम कायमै छन् । एउटै जलाशयको पानी प्रयोग गर्न नदिनु, मन्दिर प्रवेश गर्न नदिनु, सँगै खानपान नगर्नु, बोली वचनमा विभेद गर्नु, जातीय आधारमा विभेद खालका उखान टुक्का प्रयोग गर्नु, बस्तीको बीचमा घर घडेरी किन्न हतोत्साहित गर्नु, डेरा खोज्न आउनेलाई जात सोध्नु, कार्यस्थलमा नजानिँदो किसिमले विभेद गर्नु र राजनीति, प्रशासन र समाजको मूल प्रवाहबाट टाढा राख्नु यसका अत्याधुनिक रूप हुन् ।

नेपालको संविधानले जातीय, क्षेत्रीय, भाषिक आदि विभेद र छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने संकल्प गरेको छ । किन्तु हाम्रो समाजमा विभेद र वहिष्करणमा परेका जाति र वर्गमा आफंैभित्र समेत विभेदको अर्को शृंखला कायम छ । झट्ट हेर्दा सबै जनजातिभित्र आपसी विभेद छैन जस्तो प्रतीत भए तापनि कतैकतै त्यहाँ पनि विभेद छ ।

पुरानो शासन व्यवस्थाले कायम गरेको दलितभित्रको दलित व्यवस्था अझै मेटिन सकेको छैन । विगतमा राज्यशक्तिबाट टाढा राखिएको मधेसी समुदायमा आफैंभित्र अनगिन्ती विभेद र वहिष्करणको शृंखला छ । वञ्चितभित्रका वञ्चितहरू अझै पनि आवाजविहीन नै छन्् ।

तपाइको प्रतिक्रिया
(Visited 772 times, 1 visits today)

epaper

ताजा समाचार

गर्भकै नीतिको आडमा राजश्व कार्यालय सिमराको कार्य सम्पादन