राणा शासनको अन्त्यसँगै राजनीतिक सचेतनाको अभियान नेपालमा प्रजातान्त्रिक र साम्यवादी गरी स्पष्ट दुई ध्रुवमा कित्ताबन्दी हुँदै देखापरेपछि प्रजातान्त्रिक धारको नेतृत्व नेपाली कांग्रेस र साम्यवादी धारको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्दै आयो । फरक विचार फरक राजनीति, फरक कार्यदिशा र फरक समाज तथा भविष्यको परिकल्पनासहित यी दुई धार एकअर्काविरुद्ध आमनेसामने हुँदै आए । २००७ सालदेखि अहिलेसम्मको लगभग ७१ वर्षको इतिहासमा नेपाली राजनीतिमा निकै ठूला साना उत्तारचढाव देखिए । यो अवधिमा नेपाली कांग्रेसले प्रजातान्त्रिक धारको नेतृत्वसहित धेरैपटक सरकार गठन र सञ्चालन गर्ने मौका पायो । तर, साम्यवादीले यस्तो मौका कमै पाए । कहिले मिलीजुली सरकार त कहिले अल्पमतको सरकारमा सहभागी भए पनि पूर्ण बहुमतको सरकार बनेको वामपन्थी गठबन्धन पनि मात्र हो । तर, गठबन्धनको बहुमतकै सरकार रहेका बेला साम्यवादी दलहरू बीचमा आपसी मनमुटाव, पूर्वाग्रह र पूर्वगुट तथा उपगुटहरूको अभ्यासका साथै नेताहरूबीचको वैमनस्यताले बहुमतको सरकार संकटमा पर्न गयो भने वामपन्थी गठबन्धन छिन्नभिन्न हुन गई पूर्ववत् ससाना पार्टीमा विभाजित हुन पुगे ।
यो अवस्था नेपाली जनताले वाम गठबन्धन सरकारलाई प्रदान गरेको जनादेश र जनआकांक्षाविपरीत हुन गयो । वामपन्थीबीचको विमेल र खिचातानीका कारण संसद् विघटन र निर्वाचनका दुई÷दुईवटा प्रयास अभ्यासमा आए । विचार र राजनीतिक कार्य दिशाअनुसार ठ्याक्कै मेल नखाने तर वर्तमान वैश्वीकरणका कारण नेपाल र विश्वको विशिष्ट परिस्थितिमा संसदीय व्यवस्थाभित्रै कार्यनीतिक कार्यक्रमको प्रयोगका हिसाबले संसदीय अभ्यास गरिरहेका साम्यवादी दलको पहिलो त भनाइ र गराइमा केही फरक देखियो । दोस्रो कुरा समाजवादमा पुग्छौं भनी संसदीय अभ्यास गर्दा विरोधाभास पैदा हुन गयो । यसले न त वर्तमान संसदीय प्रणाली आफ्नो हो भन्ने बोध गरायो । न त नयाँ व्यवस्था निर्माणका लागि मार्ग प्रशस्त नै हुन गयो । यो अन्योलताले साम्यवादी दलहरूको बीचमा वैचारिक, राजनीतिक तथा कार्यनीतिक र प्रणालीगत अन्र्तविरोध सतहमा ल्याइदियो । लडाइँ विचारमा र कार्यदिशामा भन्दा पनि सरकार निर्माण, सत्ता साझेदारी, नेतृत्व र सरकार बाँडफाँटमा देखिन गयो । यसले विचार व्यवहारमा ठूलो खाडल पैदा गरिदियो । त्यही अन्तर्विरोधका कारण साम्यवादी दलहरू जुट्नेभन्दा पनि फुट्ने बाटोतिर अघि बढे । नेताहरूको सोच, समझ र अन्तर्विरोधको पहिचान तथा तीनको हल गर्ने नयाँ विधि खोजी र प्रयोगतिर ध्यान गएन । एकले अर्कालाई देखाए छोड्ने जस्तो मनस्थितिले काम गर्न थाल्यो । बाहिर हेर्दा नेताहरूको जुँगाको लडाइँ देखिए पनि यसको अन्तर्यमा विचार, कार्यदिशा, रणनीति तथा कार्यनीति आदिको विकास समृद्धि र तीनको व्यवहारमा प्रयोग हुन नसक्नु नै मुख्य कारण रहँदै आयो । कतिपय अवस्थामा रणनीतिका कुरालाई कार्यनीतिले नपछ्याउने, त कुनैबेला तय गरेका कार्यनीति रणनीतिअनुरूप नहुने कारणले पनि ठूलाठूला समस्या पैदा हुँदै आए ।
फलतहः वामपन्थी धार नेपाली जनताले रुचाएको र अपेक्षा गरेअनुरूपको हुन सकेन । यसलाई विडम्बना नै मान्नुपर्छ । अहिले बहुमतको सरकार हुँदा पनि यसको सञ्चालन सही ढंगबाट हुन नसक्दा जनतामा निराशा भने अवश्य आएको छ । नेपालमा वामपन्थी धार कि त एकआपसमा फुटेर कमजोर हुन पुगेको छ कि त उचित मौका पाउँदा पनि जुट्न नसकेर कमजोर हुन पुगेको छ । यसलाई वामपन्थी धारका अग्रज नेताहरूले बेलैमा बुद्धि पु¥याएर जनताको भावनाअनुरूप चल्न चलाउन सक्ने अवस्थामा पु¥याउनुपर्ने जरुरी हुन आएको छ ।






