धान दिवसः नारा र हिलो खेलमै सीमित

काठमाडौं । विगतका वर्षको निरन्तरतालाई औपचारिकता कायम राख्दै सरकारले मंगलबार (१५ असार) को राष्ट्रिय धान दिवस मनाएको छ । हरेक वर्षको १५ असारमा सरकारीस्तरबाटै राष्ट्रिय धान दिवस मनाइँदै आए पनि अझै अपेक्षाकृत रूपमा स्वदेशी धान उत्पादन हुन सकेको छैन । जसका कारण मुलुकवासीले दैनिक बिहान बेलुकाको भात खानकालागि अर्बाैं रुपैयाँ खर्च गरेर विदेशी चामल आयात गर्नुपरेको छ ।

पाँच वर्षमा १ खर्ब २० अर्बको चामल आयात

यहाँ उत्पादन हुने विविध खाद्यान्न बालीमध्ये धान नेपालको प्रमुख नगदे बाली हो । आम नेपाली उपभोक्ता र समाजअनुसार वर्षभर मनाइने चार्डपर्व, भोजभतेर, विवाह, जन्म–मृत्यु संस्कारदेखि हरेक सामाजिक एवं सांस्कृतिक कार्यमा धान र धानबाट तयार हुने चामल र चिउरालाई अत्यावश्यक वस्तुको रूपमा लिइन्छ ।

चामल र धान भएन भने सामान्य वर्गको घरमा चुलो नै बल्दैन । उनीहरूको जन्म र मृत्यु संस्कारको कुनै काम हुनै सक्दैन । त्यसैले आम मुलुकवासीको दैनिक उपभोग्य वस्तुमा सबैभन्दा धेरै आवश्यकता धान र चामल नै रहेको छ । हाल नेपालमा करिब ६० प्रतिशत जनता कृषिमा आश्रित छन् । तर, विडम्बना ६० प्रतिशत कृषिमा आश्रित जनसंख्याको मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीबी)मा २८.२० प्रतिशत मात्र योगदान रहेको छ ।

हाल नेपालमा मुख्य कृषि बालीको रूपमा धान, मकै, कोदो, गहुँ, आलुलगायत अन्य खाद्यान्न उत्पादन हुँदै आएको छ । यसैको आधारमा सरकारले हरेक १५ असारको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ । धान दिवसको बेला सरकारले स्वदेशी धान र चामलको उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर गराउनकै लागि अर्बौं रुपैयाँ खर्च गरेर अनेक प्रयास गरे पनि अझै सरकारी प्रयास उपलब्धिमूलक हुन सकिरहेको छैन ।

त्यही भएर नेपालको राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन तथा रोजगारीको रूपमा समेत धान खेतीलाई प्रमुख नगदेबालीको रूपमा मानिन्छ । मुलुकमा उत्पादन भएका विविध वस्तुमध्ये सबैभन्दा बढी खाद्यान्नको रूपमा धान र चामलको प्रयोग नै हुँदै आएको छ । सरकारले नेपालीको मुख्य खाद्यान्नको रूपमा प्रयोग हुँदै आएको चामलमा आत्मनिर्भर बनाउने घोषणा गर्दै आएको धेरै वर्ष बितिसके पनि अझै अपेक्षाकृत रूपमा स्वदेशी धानको उत्पादन बढेको छैन । यस्तो अवस्थामा सरकारले आगामी आर्थिक वर्ष २०७८÷६९ को बजेटमार्फत पनि पाँच वर्षको अवधिमा धान उत्पादनमा मुलुक आत्मनिर्भर हुने लक्ष्य लिएको छ ।

आगामी आवको बजेटले स्वदेशी धान उत्पादनमा मुलुक आत्मनिर्भर हुने लक्ष्य विपरीत अहिले सरकारी तथ्यांकअनुसार नै हरेक वर्ष धान र चामलको आयात बढ्दै गएको देखिएको छ ।

उपभोगमा सामान्य रूपमा हेर्दा औसत तथा माध्यम खालको परिवारको उपभोक्ताले पनि बिस्तारै मध्यम खालको धानबाट मसिनो बास्नादार र राम्रो आयातित चामल खाने प्रवृत्ति बढेको छ । जसले चामलको आयात दैनिक बढेको सम्बन्धित सरोकारवालाको भनाइ छ ।

जसका कारण हरेक वर्ष नेपालले अर्बौं रुपैयाँ खर्च गरेर धान र चामल आयात गरिरहेको भन्सार विभागले जनाएको छ । विभागको तथ्यांकले विगत पाँच आर्थिक वर्षमा १ खर्ब २० अर्ब रुपैयाँको चामल आयात भएको देखाएको छ । जसमा आर्थिक वर्ष २०७३÷७४ देखि चालू आव २०७७-७८ को जेठ मसान्तसम्ममा २५ लाख ३३ हजार ५ सय १५ मेट्रिक चामल आयात गर्दा नेपालबाट १ खर्ब २० अर्ब ६७ करोड ५४ लाख ९९ हजार रुपैयाँको चामल आयात भएको छ ।

जसमा आव २०७३÷७४ मा १९ अर्ब ५९ करोड १८ लाख रुपैयाँको ४२ करोड ६८ लाख ९५ हजार केजी चामल आयात भएको छ । यसैगरी, आव २०७४-७५ मा २३ अर्ब ५५ करोड ९८ लाख रुपैयाँको ५२ करोड ८३ लाख ३९ हजार केजी चामल आयात भएको छ । त्यसैगरी, आव २०७५-७६ मा २५ अर्ब ७४ करोड ९० लाख रुपैयाँको ५३ करोड ४३ लाख ९९ हजार केजी चामल, आव २०७६-७७ मा २३ अर्ब १७ करोड १७ लाख रुपैयाँको ४४ करोड १ लाख ५५ हजार केजी र चालू आव २०७७-७८ को जेठ मसान्तसम्ममा २८ अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको ६० करोड ३७ लाख २४ हजार केजी चामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार चालू आवमा चामल आयात हालसम्मकै उच्च हो ।

दैनिक स्वदेशी उत्पादन घटेको देखिन्छ । आर्थिक वर्ष २०७३-७४ बाट स्वदेशी धानको उत्पादन बढेको देखिए पनि चालू आवमा भने ७० हजार ८ सय ३१ मेट्रिक टन धान उत्पादनमा गिरावट आएको छ । तर, उत्पादनको क्षेत्र भने बढ्दै गएको कृषि मन्त्रालयले जनाएको छ । त्यस्तै, धान उत्पादनको क्षेत्रफल बढे पनि पुरानै शैलीमा परम्परातत खेती हुने र व्यावसायिक नभएकाले स्वदेशी धानको उत्पादन बढ्न नसकेको सम्बन्धित सरोकारवाला बताउँछन् ।

उनीहरूका अनुसार सरकारले नीति तथा कार्यक्रममा धान उत्पादन गरी आत्मनिर्भर हुने घोषणा गर्दै आए पनि उत्पादनमा भने खासै सुधार आएको देखिँदैन । एकातिर स्वदेशी धान उत्पादन घट्दै गएको छ भने अर्कोतर्फ वार्षिक २ अर्ब रुपैयाँ बढीले धान र चामल आयात बढेको भन्सार विभागले जनाएको छ । भन्सार विभागको तथ्यांकअनुसार त्यसमा चामल मात्रै नभएर धानको आयात पनि बढ्दै गएको देखिन्छ । जसमा सरकारी तथ्यांकअनुसार बितेका पाँच आर्थिक वर्षको अवधिमा ९ अर्ब बढीले धान आयात भएको देखिन्छ ।

सरकारी तथ्यांकअनुसार धानको उत्पादन बढे पनि चामलको आयात निकै डरलाग्दो किसिमले बढिरहेको सम्बन्धित सरोकारवालाको दाबी छ । हालसम्म यस विषयमा कुनै अनुसन्धान नभएको उनीहरूको भनाइ छ । सामान्य अनुमान गर्दा नेपालको तराई क्षेत्रमा जति पनि धान उत्पादन हुन्छ । त्यसबाट धेरै भारतले स्वदेशी खरिद गरेर औपचारिक तथा अनौपचारिक रूपमा पुनः धान र चामल नेपालतर्फ नै पठाइरहेको उनीहरूले बताएँदै आएका छन् । उनीहरूका अनुसार हाल नेपालका व्यवसायीले किसानले उत्पादन गरी बिक्री गर्ने समयमा व्यापारी र सहकारीले मूल्य तोके तापनि त्यो मूल्यमा स्वदेशी धान खरिद गर्न नसकेको र किसानले पनि दुईचार रुपैयाँ भारतीय व्यापारीबाटै बढी आउने भएपछि उतै बिक्री गर्ने प्रचलन रहेको बताएका छन् ।

यसैगरी, नेपालमा उत्पादन भएको धान मोटो र माध्यम खालको भएकाले सो चामल आम उपभोक्ताले त्यति नरुचाउने भएकाले चामल बनाउँनकै लागि भारततर्फ निकासी हुने र पछि उताबाट अर्बौं रुपैयाँको चामल आयात भइरहेको सरोकारवालाले जानकारी गराएका छन्ण् । अहिले गाउँका किसानका छोराबुहारी सहर केन्द्रित छन् । जसले गाउँलेले सस्तो भाउमा धान बिक्री गर्नुपरेको छ भने त्यही गाउँका किसानका छोरोछोरीले सहरमा बसेर महँगो विदेशबाट आयातित मसिनो चामल खाइरहेका छन् ।

धानविज्ञ भोलामानसिंह बस्नेतले पनि नेपालमा वार्षिक रूपमा चामलको आयात बढ्दै जानु आगामी दिनमा खाद्य संकट पर्न सक्ने भयावह स्थिति रहेको बताए । बस्नेतले हाल नेपालको प्रायः सबै ठाउँमा यातायातको सुविधा पुगेकाले पनि विदेशी चामलको आयात बढेको बताए । ‘अहिले देशका जुनसुकै कुनामा पनि यातायातको सुविधा भएकाले सबै ठाउँमा सजिलै चामल पुग्दछ । त्यसैले अन्य खाद्यान्न भन्दा नेपालीलाई चामल नै मिठो मानेर खाने प्रवृत्तिले अत्यधिक चामलको आयात बढेको हो,’ उनले भने ।

हाल नेपालमा वार्षिक प्रतिव्यक्ति १ सय ३७ केजी चामल खपत हुने सरकारी अध्ययनले देखाएको छ । हाल नेपाली भान्सामा चामल मात्रै पाक्ने भएकाले १ सय ३७ केजी पुगेको सम्बन्धित सरोकारवालाको भनाइ छ । यसैगरी, नेपालमा चामल मदिरा बनाउनका लागि पनि प्रयोग हुने भएकाले चामलको आयात बढेको उनीहरूको अनुमान छ ।

 

 

तपाइको प्रतिक्रिया
(Visited 362 times, 1 visits today)

epaper

ताजा समाचार

कोशीमा टुट्यो कांग्रेस–एमाले सत्ता सहकार्य