काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीको अवस्था स्थिर रहेको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएपछि देशभर खुसियाली छाएको छ ।
खड्काले भने, ‘प्रधानमन्त्रीका सबै मुख्य सूचकांक राम्रो अवस्थामा छन् । उहाँ होसमा आइसक्नुभएको छ । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ ।’ मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्री ओलीलाई शल्यकक्षबाट पोस्ट अपरेटिभ वार्डमा रहेको आईसियूमा सारिएको छ ।
चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई अस्पतालमा आवश्यकताअनुसार ६–७ दिनसम्म राखिनेछ । प्रत्यारोपण शल्य चिकित्सा टोलीमा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. अनन्तकुमार, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बुुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिगौँला प्रत्यारोपणमा सहभागी चिकित्सक टोली । तस्वीर : चन्द्रकला क्षेत्री/रासस
यस्तै, प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. सन्तोष क्षेत्री र डा. रविन नेपालीलगायत सहभागी थिए । यस्तै, एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा.डा. सुवास आचार्य, डा.अमित शर्मा भट्टराई र डा. विगेनमान शाक्यको समूह सहभागी थियो । प्रत्यारोपणको १५ मिनेटपछि प्रधानमन्त्री ओलीले पाँच सय एमएल पिसाब फेरेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।
समीक्षा संग्रौला (भान्जी)ले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी छन् । संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको र पोस्ट अपरेटिभ वार्डमै सारिएको अस्पतालले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीको भारतमा १२ वर्षपहिले मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणको शल्यक्रिया सम्पन्न भएपछि मन्त्री, सांसदहरू त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई, श्रममन्त्री रामेश्वर राय, उद्योग राज्यमन्त्री मोतीलाल दुगड लगायत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था’bout जानकारी लिन अस्पताल पुगेका थिए । प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै अनेरास्ववियुले दीप प्रज्वलन गरेको थियो । प्रधानमन्त्री ओलीलाई सोमबारभित्र डिस्चार्ज गर्ने चिकित्सकहरूको तयारी छ ।






