नेपालमा वर्षौंदेखि, बिचौलिया तस्कर र भूमाफियाहरूले खतरनाक खेल खेल्दै आइरहेका छन् । शासन सञ्चालनमा नै ती बिचौलिया तस्कर र माफियाको प्रत्यक्ष र अप्रत्यक्ष भूमिका रहँदै आइरहेको छ । सरकार बनाउने र ढाल्नसमेत विगतमा ती माफिया र तस्करको सशक्त भूमिका रहने गरेको तथ्य हामीसँग छ ।
मुलुक अहिले पनि कोरोना संक्रमणले आक्रान्त छ । सर्वसाधारण नागरिकहरू कोरोनाका कारण मृत्युको मुखमा पर्नुपर्ने भयले त्रसित छन् । यस्तो अवस्थामा शासक प्रशासक जनतालाई सुरक्षित महसुस गर्ने कार्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्छ । सेवाभावका साथ काम गर्न सकेमा मात्रै देश र जनताप्रति बफादारिता निर्वाह हुन सक्छ । हाम्रा अधिकांश शासक प्रशासक लोभी र लालची हुन पुग्दा पनि मुुुलुकले सोचेअनुसार समृद्धि हासिल गर्न नसकेको हो । उनीहरूले आफ्नो स्वार्थपूर्ति हुने अवस्थामा जस्तोसुकै काम पनि गर्ने र स्वार्थ सिद्ध नहुने तर त्यो कामले मुलुक र मुलुकवासीको हित गर्ने कार्यमा भने खासै ध्यान पु¥याउने गरेको देखिँदैन । केही अपवादलाई छोडेर धेरै शासक प्रशासक भ्रष्ट प्रवृत्तिका छन् । यदि यस्तो प्रवृत्ति नरोकिने र आगामी दिनमा पनि जारी रहने हो भने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली पनि धरापमा पर्ने निश्चित छ । त्यसैले विश्वमै उन्नत मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सफल बनाउन पनि अब विधिको शासन, पारदर्शीता, इमानदारिता र नैतिकतामा ध्यान दिनैपर्छ ।
अहिले प्रायः सबै ठाउँमा भन्ने गरिन्छ, ‘समाजका सबै क्षेत्र र वर्गका व्यक्ति भ्रष्ट र नैतिकहीन हुने क्रम बढिरहेको छ । कोही पनि चोखा छैनन् ।’ यस्तो भनाइले हामी सबैलाई १० पटकसम्म गम्भीर भएर सोच्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ । के त्यसो भए हामी सबै खराब र भ्रष्ट छांै त ? यसको जवाफ आफैंभित्र खोजेर सबै जना सच्चिने प्रण गर्नु आजको अहं आवश्यकता हो ।
विगतदेखि नै सबैभन्दा सशक्त यहाँका भूमाफियाहरू देखिँदै आएका छन् । यहाँको राजनीति र प्रशासनिक नेतृत्वलाई नै खरिद बिक्री गर्नेसम्मका हैसियत भूमाफियाहरूले राख्दै आइरहेका छन् । त्यसैले सरकारको नाममा रहेका हजारांै रोपनी तथा बिघा सार्वजनिक जग्गा व्यक्ति वा समूहको नाममा लगेर बिक्री वितरण गर्दै भूमाफियाहरूले ठूलाठूला व्यापारिक प्रतिष्ठान सञ्चालन गर्न पुगेका छन् । अहिले पनि देशका विभिन्न भागमा रहेका सरकारी जग्गा बिचौलिया माफियाहरूले नै अतिक्रमण गरिरहेका छन् । न्यायक्षेत्रसँग रहेको उनीहरूको नेक्सस र आत्मीयताका कारण सरकारी जग्गाहरू भूमाफियाहरूले आफ्नै बनाउन सफल हँुदै आएका छन् । न्यायक्षेत्र त्यसरी भूमाफियाहरूसँगको मिलेमतोमा चल्नु मुलुकका लागि ठूलो दुर्भाग्य हो । यसका कारण अधेर कानुनको सिकार कोको हुनुपर्ने हो त्यो त भविष्यले नै निर्धारण गर्ला ।
बालुवाटारमा रहेको ललितानिवासभित्रको सरकारी जग्गा पनि विभिन्न व्यक्तिले विविधखाले हर्कत गरेर आफ्नो नाममा ल्याएका थिए । तर, सरकारले ती जग्गा सबै फिर्ता गर्ने प्रयास थाल्दा सिंगो सरकार नै माफियाको ठूलो घेराबन्दीमा पर्न पुग्यो । माफिया र तस्करको लडाइँ तथा सरकारमाथिको प्रहारका कारण अहिले राजनीति नै अस्थिर बनिरहेको छ । बाहिर जेजस्ता विषय आए पनि सरकार धरापमा पर्नुको मुख्य कारण नै यहाँ वर्षौंदेखि साम्राज्य जमाउँदै आइरहेका भूमाफिया र तस्करहरूको उचित व्यवस्थापन हुन नसक्नु नै हो । यहाँ विगतका सरकारकारहरूले माफिया र बिचौलियाको व्यवस्थापन गर्ने भएकाले ती सरकार यति धेरै घेराबन्दीमा पर्ने गरेका थिएनन् ।
विगतमा ललितानिवास क्याम्पभित्र रहेको २ सय ८४ रोपनी जग्गामध्ये १ सय १३ रोपनी जग्गा भूमाफियाले हडप्दा सरकारी अधिकारीहरू साक्षी बस्न पुगेका थिए । माफियाहरूले राजनीतिक नेतृत्वलाई पनि आर्थिक प्रभावमा पार्न सफल भएको देखिएको छ । यसो त यो एउटा मात्रै बदमासीको पटाक्षेप भएको छ । मुलुकमा खोज्दै र अनुसन्धान गर्दै जाने हो भने यस प्रकारका सयौं घटना छन् । काठमाडांै उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा भूमाफियाहरूले सरकारी जग्गालाई गिद्धले लुछेसरी लुछिसकेका छन् । वर्तमान सरकारले यदि साँच्चै नै सुशासन चाहन्छ र कुशासनको चक्र तोड्न चाहन्छ भने अब भूमाफियाको सबै प्रकारका जालाहरू तोड्न सक्नुपर्छ । भूमाफियाको जालोभित्र राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व, न्यायिक नेतृत्व तथा नागरिक समाजका अगुवा भनाउँदासमेत नराम्ररी गाँजिन पुगेका छन् ।
सरकारद्वारा ललिता क्याप्पमा रहेको जग्गा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिका अनुसार माफियाहरूले विगतमा विभिन्न प्रधानन्यायाधीश तथा न्यायाधीशलाई समेत आर्थिक प्रलोभनमा पारेर अहिले प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गा, प्रधानन्यायाधीशको आवास, सभामुखको आवास तथा राष्ट्रबैंक रहेको जग्गासमेत आफ्नो नाममा बनाउने दुष्प्रयास गरेको पाइएको छ । यदि अहिलेकोे सरकारको स्थानमा अस्थिर सरकार रहिरहेको भए त्यसको मौका छोपी भूमाफियाले बालुवाटारको सबै जग्गा हडप्ने योजना सफल हुन सक्ने सम्भावना थियो । हाम्रा केही सरकारी कर्मचारी तथा न्याय क्षेत्रका केही अगुवालाई राष्ट्र र जनताको कुनै माया छैन । पैसाका लागि उनीहरू राष्ट्र, राष्ट्रियता र नेपाली माटो नै बिक्री गर्नसमेत पछि पर्दैनन् भन्ने कुराको तथ्य ललिता निवास जग्गा प्रकरणले उजागर गरिदिएको छ ।
भूमि क्षेत्रमा यस्तो विकृतिको पर्दाफास भएको छ । तर, यहाँ कृषि, वन, यातायात, सिँचाइ, नापतौल, खानी, उद्योग, वाणिज्य, जलस्रोत, शिक्षा, आपूर्तिलगायत तथा विभिन्न विकास निर्माणका क्षेत्रमा समेत यस्तै खालका चरम विकृति देखपरिरहेका छन् । भूमिसुधारअन्तर्गत मालपोत कार्यालयमा काम गर्ने अधिकांश कर्मचारीको मकुण्डो नराम्ररी खुलेको छ ललिता निवास क्याम्प जग्गा हिनामिना प्रकरणबाट । यो घटनाबाट अन्यत्र पनि यस्तै घटना घटेको हुन सक्ने प्रस्ट अनुमान गर्न सकिन्छ । त्यसैले अब यस्तो घटना’boutमा एक÷एक अनुसन्धान गरी भूमाफियासँग साँठगाँठ राखी सरकारी जग्गा व्यक्तिको नाममा बनाइदिने धमिरालाई कडा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । हालसम्म विभिन्न जिल्लामा कार्यरत रहेका मालपोत कार्यालयका उच्च अधिकारीको सम्पति छिटोभन्दा छिटो छानबिन गरी उनीहरूका अवैध सम्पति राष्ट्रियकरण गर्नुपर्छ । कैयांै कर्मचारीले सरकारी जग्गा व्यक्तिका नाममा गराइदिँदा भूमाफियासँग करोडांै रकम र जग्गा नै उपहारस्वरूप पाएको देखिएको छ । ती सबै जग्गा खोजेर सरकारले जफत गर्न सक्नुपर्छ । पूर्वप्रधानन्यायाधीश, मुख्य न्यायाधीशहरू तथा उच्च प्रशासकको पनि सम्पति छानबिन गरिनुपर्छ ।
अहिलेका शक्तिशाली सरकारले पनि चौतर्फी घेराबन्दीका कारण माफियाको जरा हल्लाउने प्रयासलाई रफतारका साथ अघि बढाउन सकेको छैन । माफियाहरू उतिकै शक्तिशाली अवस्थामा छन् । राजनीतिमा अपराधीकरणको पारो जुन रूपमा घट्नुपर्ने हो सो रूपमा घटन सकेको छैन । दण्डहीनताको प्रवृत्ति उस्तै छ । समाजमा बदमासी गरेर पनि पैसा कमाउने व्यक्तिहरू नै पुजनीय हुने प्रवृत्ति उस्तै छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि व्यक्ति विशेषले शक्तिका आधारमा हडपेका जग्गाहरूको खोजतलास अभियानलाई अझै व्यापकता दिनुपर्छ । अख्तियारले यस क्रममा राजनीतिक नेतृत्वको दबाब आए पनि त्यसलाई अस्वीकार गरी माफियाको जालो तोड्न अग्रसर हुनैपर्छ । यसमा अख्तियारले नयाँ इतिहास रच्न सक्नुपर्छ । अब सरकारी जग्गा हडपेर मालामाल बनेका आर्थिक अपराधीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिनको घेरामा ल्याउन सक्नुपर्छ । तर, विडम्बना सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अहिले निष्क्रिय अवस्थामा रहेको छ । राजस्व छली गर्ने आर्थिक अपराधीलाई कारबाही गर्ने राजस्व अनुसन्धान विभागले पनि आफ्नो काम कारबाही सशक्त रूपमा अघि बढाउन ढिलाइ गर्नुहँुदैन ।
सुशासन कायम गर्न सरकारीस्तरमा गठन भएका विभिन्न निकायले आपसी समन्वय गर्दै अनियमिततामा रमाउने बद्मासी गर्नेहरूलाई एक÷एक गरेर पहिचान गर्दै कानुनी दायरामा ल्याउन सक्नुपर्छ । वर्तमान सरकारले प्रशासनमा व्याप्त अनियमितता र विकृतिको अन्त गर्न प्रशासन क्षेत्रमा समेत निर्मम अप्रेसन गर्न जरुरी छ । त्यसका लागि सबैभन्दा पहिला प्रधानमन्त्री र सरकारमा रहेका मन्त्रीहरू आफू इमानदार रहेको र सुशासनप्रेमी भएको अनुभूति आमजनतासमक्ष दिन सक्ने गरी सोहीअनुसारका कार्य प्रणाली र संस्कृतिको विकास गर्न सक्नुपर्छ । प्रशासकहरू तथा संवैधानिक अंगमा रहेका पदाधिकारीले पनि सुशासन र इमानदारिताको सन्देश दिन सक्नुपर्छ । विगतमा लामो सयमदेखि कायम रहँदै आएको भूमाफिया, राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको गलत नेक्ससका कारण पनि विकास निर्माणदेखि सुशासनका सबै खाले अभियान अवरुद्ध हुँदै कुशासनका काला बादल मडारिँदै आएका हुन् ।
त्यसैले राजनीतिमा व्याप्त अपराधीकरणलाई अन्त गर्नु अहिलेको प्रमुख आवश्यकता हो । यसका लागि सरकारले विगतका सबै खाले कमीकमजोरीबाट पाठ सिक्दै भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई जनताले अनुभूत गर्नेगरी लागू गर्नुपर्छ ।






