कोरोना महमारीको सम्भावित तेस्रो लहरले फेरि विपत्ति निम्त्याउने आशंकाबीच दोस्रो लहरसँग जुधिरहेका नेपालीले खोप लगाउने आशा बढेको छ । अमेरिका, चीन, भारत र अन्य देशबाट ठूलो मात्रामा खोप भित्रिने भएपछि यस्तो आशा जागेको हो । प्राथमिकता क्रममा रहेका नेपालीले थोरै भए पनि खोपको मात्रा र सेवा लिँदै गर्दा व्यापक मात्रामा खोप आउने पक्कापक्की भएपछि सर्वसाधारण पनि खोपको प्राथमिकतामा पर्ने देखिएको छ । सरकारले कूटनीतिकस्तरबाट चालेका कदमको परिणाम देखिन थालेको छ । अबका केही दिनभित्र ठूलो मात्रामा खोप भित्रिने भएपछि महामारीविरुद्ध लडिरहेका नेपालीबीच यसले सेवाका साथै उत्साह र आशासमेत जगाउने देखिन्छ । विश्वमा कोरोना महामारीको एक मात्र विकल्पका रूपमा रहेको खोप नेपाली सर्वसाधारण जनताले लगाउन पाउने भएपछि जनस्तरमै संक्रामक रूपमा विस्तार भइरहेको दोस्रो लहर स्वतः कम भएर जानेछ । यसका साथै, आउन सक्ने सम्भावित तेस्रो लहर र यसले निम्त्याउन सक्ने भयावह परिणाम पनि कम हुने आशा बढ्दै गएको छ । त्यसो त महामारी नियन्त्रणका लागि सरकारले गरेको पहलको परिणाम यसपटक मात्र होइन यसअघि पनि सकारात्मक रहँदै आएका छन् । तर, पनि यसपटक विश्वका ठूला देश र तिनीहरू उपलब्ध गराउने ठूलो मात्रामा रहेको खोप सेवा जनस्तरमा पु¥याउनसके महामारी संक्रमण नियन्त्रणमा गुणात्मक सुधार देखापर्नेछ ।
सरकारले गरेको कूटनीतिक पहलस्वरूप प्राप्त भएका र हुँदै गरेका अनुदान सहयोगले मात्र आमनेपालीबीच खोप सेवा पुग्न गाह्रो परिरहेको छ । एकातिर जनतालाई तत्काल खोपको आवश्यकता छ भने अर्कोतिर अनुदान सहयोगमा मात्र पर्खंदा र भरपर्दा यसले सबैलाई अत्याएको छ । त्यसैले पनि सरकारले अनुदान सहयोगबाट मात्र होइन आफ्नै बजेट खर्च गरेर आमजनतामा पु¥याउन सक्नेगरी खोपको मात्रा किन्नु जरुरी भइसकेको छ । यसले मात्र समयमै आवश्यकताअनुरूपको खोप जनतामा पु-याउन सघाउ पु-याउनेछ । अमेरिकी कम्पनीद्वारा निर्मित जोन्सन एन्ड जोन्सन खोपको १५ लाख डोजले नेपालीलाई ठूलो राहत मिल्नेछ । त्यसो त चीनबाट लगातार प्राप्त भइरहेको लाखौं डोजको भेरोसेलको प्रभावकारिता पनि सरहानीय देखिएको छ । अब चीनबाट प्राप्त हुने लाखौं मात्राको खोपले नेपाली जनस्वास्थ्यमा ठूलो राहत मिल्नेछ ।
विदेशी अनुदान सहयोग प्राप्त भइरहेका बेला सरकारले पनि आफ्नै बजेट खर्च गरी थप लाखौं खोप यथासमयमै खरिद गर्न सकेमा एकैपटक आमजनताकाबीचमा खोप पु-याउन सकिने थियो । यसले विशाल अभियान सुरु गराउनुका साथै जनतामा ठूलो आशावादीताको प्रचारप्रसार गराई रोगविरुद्धको अभियानमा उत्प्रेरणा थपिदिने थियो । सरकारले गरेका काम र पहल पूरा हुँदै गएका त छन् । तर् ती काम छोटो समयमा व्यापक रूपमा सम्पन्न हुन सके यसको प्रभावकारिता अझ धेरै हुने थियो । नेपाली जनस्वास्थ्यमा यसरी हुने सुधार र सेवाले जनजीवनमा ठूलो सकारात्मक असर पार्ने थियो । यसका लागि बेलैमा सरकारले सोच्न सके नेपालीबीच आशाको नयाँ जागरण पैदा गर्ने थियो ।






