विश्व एक्वेटिक दिवस

काठमाडौं । विश्व पौडी महासंघ (फिना) को आह्वानमा नेपाल पौडीले विभिन्न कार्यक्रम गरी विश्व एक्वेटिक दिवस मनाएको छ । उपत्यकालगायत मोफसलका विभिन्न जिल्लामा जुलाई १५ देखि १८ तारिखसम्म दिवस मनाइने पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् ।

बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको हिटिङ पौडी पोखरीमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरे । सोही अवसरमा अध्यक्ष बज्राचार्यले फिनाको झन्डा झन्डोत्तोलन गरेका थिए ।

विगतमा दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिने गरेकोमा यसपटक कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गरी थोरै संख्याको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरी कार्यक्रम आयोजना गरिएको अध्यक्ष बज्राचार्यले जानकारी गराए ।

कार्यक्रमका अवसरमा राष्ट्रिय खेलाडीलगायत भेट्रान खेलाडीले प्रदर्शनी खेल पनि प्रस्तुत गरेका थिए । दिवसकै अवसरमा जुलाई १७ मा काठमाडौंको द बेस्ट भेन्यु र धन्यन्तरीमा कार्यक्रम आयोजना गरिनेछ । त्यसै दिन पोखरा, विराटनगर र इटहरीमा पनि कार्यक्रम हुनेछ ।

जुलाई १८ मा नेपालगन्जमा कार्यक्रम हुने भएको छ । त्यसअघि सदस्य–सचिव सिलवालले पौडी खेलाडीका लागि स्थापना गरिएको जिम हलको उद्घाटन गरे । पौडी संघको पहलमा फिनाले जिम हल स्थापनाका लागि सहयोग गरेको अध्यक्ष बज्राचार्यले जनाएका छन् । जिम हलमा करिब २० लाख बराबरको सामग्री राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल