पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’

बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर कर्णाली गेरुवा भएर बग्छ । अर्को तिर कर्णाली सत्तीघाट भएर बग्छ । कर्णाली नदीको यही दोभान क्षेत्र अहिले पर्यटकिय गन्तब्य बन्दै गएको छ । कर्णाली नदीको पानी गेरुवा र राजापुर क्षेत्रमा सिँचाइका लागि लैजान बनाइएको नहरको मुहान अर्थात इन्टेक यही क्षेत्रमा बनाइएको छ । यो क्षेत्र ओखरिया इन्टेक भनेर परिचत छ ।

गेरुवा गाउँपालिकाको वडा नं १ मा रहेको यो ओखरिया इन्टेक अहिले पर्यटकिय गन्तब्य क्षेत्र बन्दै गएको छ । ओखरिया इन्टेक क्षेत्रको सुन्दरता, हरियाली र शान्त वातावरणका ’boutमा प्रचारप्रसार भए पछि हिजोआज यस क्षेत्रमा घुम्न तथा आउने पर्यटकको संख्या पनि दिनानुदिन बढ्दै गएको छ ।

बिदाको समय र चाडपर्वका बेला यहाँ घुम्न आउनेको संख्या बढि हुने गर्छ । चाडवाडको बेला पिकनिक खाने र रमाइलो गर्नेको भिड नै हुने गरेको स्थानिय बताउँछन् । त्यहाँको हरियाली र सुनदरतालाई आफनो क्यामेरामा कैद पर्यटकहरु तछाडमछाड नै गर्छन् । युवायुवती होस् वा जो कोही सेल्फी खिच्न मस्त हुन्छन् । इन्टेक क्षेत्रमा प्रायः चिसो हावा बहन्छ । हरीयाली, शान्त वातावरणमा, चिसो हावा, खुला चौर यस क्षेत्रको मुख्य विशेषता हो । यहाँ राखिएको गैँडा मूर्ती, रंगीन आराम बेञ्च, नहरको मुहान र कर्णाली नदीको दोभानले सबैको मन लोभ्याउने गर्छ । यहाँबाट कर्णाली चिसापानीको एक खम्बे पुल पनि देखिन्छ ।

यो क्षेत्र कर्णाली नदी र गेरुवा नदीको दोभानमा पर्छ । इन्टेको दाहिने तर्फबाट गेरुवा नदी बगेको छ । भने बाँयातर्फबाट कर्णाली नदी बगेको छ । इन्टेको दाहिने क्षेत्र निकुञ्ज पर्छ । दुबैतर्फ नदी र जंगल भएकाले यो क्षेत्र निकै शान्त र सुन्दर छ । जिल्लाको अन्य क्षेत्रको तुलनामा यहाँ अलि बढी चिसो महशुस हुन्छ । नदी बगेको कलकल आवाज, निकुञ्जका वन्यजन्तु र चराहरुको आवाजले यहाँ घुम्न आउने पर्यटकहरु आकर्षित हुने गर्छन् । ओखरिया इन्टेक बस्ती भन्दा केही टाढा रहेकोले यहाँको वातावरण निकै शान्त, सफा र सुन्दर रहेको छ ।

विगतमा यो क्षेत्रलाई कसैले खासै चासो देखाएका थिएनन् । पछिल्लो समय स्थानिय युवाहरुले यसमा चासो देखाएपछि अहिले ओखरिया इन्टेक क्षेत्र पर्यटकिय स्थलको रुपमा परिचित बन्दै गएको छ । अहिले स्थानिय युवाहरु गेरुवा पर्यापर्यटन विकास मञ्च गठन गरेर यसको प्रवर्धनमा जुटेका छन् । सुरुवातमा युवाहरुले व्यक्तिगत लगानीमा पर्यटक बस्ने केही आराम बेञ्च राखेर यो क्षेत्रको प्रवर्धनको कामको सुरुवात गरेका थिए । गेरुवा पर्यापर्यटन विकास मञ्चका अध्यक्ष तिलकराम थारु भन्छन्, ‘ पहिले यसको प्रचारप्रसार र प्रवर्धनका लागि खासै चासो दिइएको थिएन । अहिले युवाले यसलाई पर्यटकिय गन्तब्य बनाउन पहल थाले पछि अहिले सबैको चासो बढेको छ । ’ अहिले गेरुवा गाउँपालिकाले पनि यसको संरक्षण, प्रवर्धन र प्रचारप्रसारमा लगानी गरेको छ । गत आर्थिक वर्षमा गेरुवा गाउँपालिकाले यस क्षेत्रको प्रवर्धनका लागि साढे ४ लाख रुपैँया खर्च गरेको छ ।

यस क्षेत्रमा घुम्न आउने पर्यटकहरु बस्नका लागि अहिले इन्टेकको डिल र चौरमा ३२ वटा वातावरण मैत्री आरम बेञ्च राखिएको छ । इन्टेकको मुहान नजिकै २ वटा गोल टेबुलसिहतको आराम बेञ्च र एउटा गैँडाको मूर्ती राखिएको छ । पर्यटकहरु आराम बेञ्चमा बसेर यहाँको सुन्दरताको मञ्जा लिने गर्छन । पिकनिक खानका लागि छुट्टै स्थान बनाइएको छ । इन्टेकको नजिकै शहिद पार्क निर्माणाधिन अवस्थामा छ । पार्क नजिकै ट्रि हाउस बनाइएको छ । ट्रि हाउस बसेर पर्यटकहरु वन तथा वन्यजन्तुको अवलोकन गर्ने गर्छन् । इन्टेक क्षेत्रको मज्जा लिनका लागि हिउँदको समयमा आन्तरिक पर्यटकहरु बढी आउने गरेको स्थानिय पुस्कर काफ्लेले बताए ।

इन्टेक क्षेत्र भन्दा करिव २ किलोमिटर वर जनकनगर सामुदायिक होमस्टे छ । यहाँ १० वटा हामे स्टे छन् । इन्टेक क्षेत्र घुम्न आउने मध्ये अधिकाशं एक रात सामुदायिक होम स्टेमा बाँस बस्ने गरेको होमस्टे संचालक भोगु थारुले बताए । कोठियाघाटस्थित कर्णाली गेरुवा नदी पार गरेर करिव १ किलोमिटर टाढा पर्ने रामजाने चोकदेखि उत्तर करिव २२ किलोमिटरको दुरीमा ओखरिया इन्टेक क्षेत्र पर्छ । राजापुर बजार क्षेत्रबाट पनि यहाँ पुग्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 588 times, 1 visits today)

epaper

ताजा समाचार

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती