काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजअघि पपुवा न्युगिनी (पीएनजी)सँग दुई खेल खेल्ने पक्का भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्ने पक्का भएको जनाएको छ ।
क्यानका अनुसार नेपालले पीएनजीसँग २० र २३ भदौमा खेल्नेछ । सिरिज ओमानमा हुनेछ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडीआई सिरिज भदौ २८ देखि असोज ४ (सेप्टेम्बर १३ देखि २०) सम्म हुने भएको छ । नेपाल उक्त सिरिजभन्दा १५ दिन अगाडि नै ओमान पुग्नेछ । ओमानले नेपाल र ओमानसँगको त्रिकोणात्मक सिरिज १३ सेप्टेम्बरदेखि २० सम्म आयोजना गर्नेछ । त्यसलगत्तै ओमानले आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड र पपुवा न्युगिनीसँग सेप्टेम्बर २५ देखि अक्टोबर २ सम्म खेल्नेछ ।
उक्त सिरिज खेल्ने ओमान पुगेको पीएनजीसँग नेपालले दुई खेलको सिरिज खेल्न थालेको हो । त्रिकोणात्मक सिरिज लगत्तै सेप्टेम्बर २५ देखि एभरेस्ट प्रिमियर लिग (ईपीएल) सुरु हुने कार्यक्रम छ । ओमानले रणजी ट्रफी खेल्ने मुम्बईको टोलीसँग समान तीन टी–२० आई र एकदिवसीय सिरिज खेल्नेछ । मुम्बईको टोली २० अगस्टमा ओमान पुगिसक्ने छ । टी–२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुनेछ । ओमानले पहिलो चरणका केहि खेलहरु आयोजना गर्ने छ ।
ओमान समूह ‘बी’मा छ । ओमानसँगै, बंगलादेश, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । पीएनजी र स्कटल्यान्ड पनि विश्वकप तयारीमा हुनेछन् । नेपालले गतवर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग–२ मा डेब्यु गरेको थियो । कोरोना कारण ओमानले त्यसपछि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । नेपालले भने घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग वैशाखमा टी–२० आई त्रिकोणात्मक सिरिज खेलेको थियो ।
नेपाल सहित, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएई गरी ७ टोलीले २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । होम अवे त्रिकोणात्मक सिरिज हुँदा एक टोलीले कुल ३६ ओडीआई खेल खेल्ने छन् । जसबाट शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
ओमान १० खेलमा ८ मा जितसहित १६ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा ६ मा जितसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ जितसहित ९ अंकका साथ तेस्रो स्थानमा छ । नामिबिया ७ खेलमा ४ जितसहित ८ अंक जोडेर चौथो स्थानमा छ । यूएई ७ खेलमा ३ जितसहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । नेपाल ४ खेलमा २ जितसहित ४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमा नै हारका साथ अंकविहीन हुँदै पुछारमा छ ।






