विशेष अदालत नेतृत्वविहीन, ६ सय बढी भ्रष्टाचार मुद्दा प्रभावित

 

काठमाडौं । विशेष अदालत नेतृत्वविहीन भएको एक महिनाभन्दा बढी समय पूरा हुँदा पनि न्यायपरिषद्ले नयाँ अध्यक्ष सिफारिस गर्न सकेको छैन । नेतृत्वविहीनको भएको अवस्थामा सयौं भ्रष्टाचारको मुद्दाको सुनुवाइ नै प्रभावित बनेको छ ।
अध्यक्ष नहुँदा हाल विशेष अदालतका दुई जना न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलास बस्ने गरेको छ । न्यायाधीशहरू अध्यक्ष प्रेमबहादुर कार्की तथा सदस्यहरू बालेन्द्र रूपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुलाई अन्यत्र सरुवा गरेपछि विशेष अदालत एक महिनादेखि अध्यक्षविहीन अवस्थामा चलिरहेको छ ।

तत्कालीन विशेष अदालतका अध्यक्ष शिवराज अधिकारीको सरुवापछि न्यायपरिषद्को सिफारिसमा २८ असोज २०७७ मा अध्यक्ष बनेका प्रेमबहादुर कार्कीलाई गत १ साउनदेखि काज सरुवा गरिएको हो । ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई धरौटीमा छाड्ने आदेश गरेलगतै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले अध्यक्ष कार्कीसहितका न्यायाधीशको सरुवा गरेका हुन् ।

विशेषमा अध्यक्ष नहुँदा नियमित इजलास गठन र दैनिक मुद्दा सुनुवाइ प्रभावित भइरहेको छ । दुई जनाको मात्रै इजलास गठन गर्दा कतिपय मुद्दामा राय बाझिँदा अर्को इजलास गर्न सक्ने अवस्थासमेत छैन । विशेष अदालत ऐन, २०५९ को दफा ६ को उपदफा २ अनुसार थुनछेकसम्बन्धी कारबाही र मुद्दाको किनारा लगाउन कम्तीमा २ सदस्यीय इजलास हुनुपर्छ  । एक जना न्यायाधीश मात्रै बिरामी भए सुनुवाइ नै प्रभावित हुने अवस्था रहेको विशेष अदालतका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार भ्रष्टाचार मुद्दा सुनुवाइका लागि दुईवटा इजलास गठन हुने गरेकामा एक महिनादेखि एउटा इजलास गठन भइरहेको छ ।

न्यायपरिषद्को सिफारिसमा विशेषका अध्यक्ष र सदस्य तोक्ने कार्य मन्त्रिपरिषद्ले गर्ने गरेको छ । मन्त्रिपरिषद्ले काममा खटाए पनि कार्कीको सरुवा भने प्रधानन्यायाधीश जबराले एकल रूपमा गरेका हुन् ।

एक महिनादेखि विशेष अदालत नेतृत्वविहीन अवस्थामा हुँदा थाती रहेका ६ सय ५७ भन्दा बढी भ्रष्टाचार मुद्दा प्रभावित बनेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैनिक पेस गर्ने भ्रष्टाचार मुद्दा बढिरहँदा सुनुवाइ भने प्रभावित बनेको छ । ललिता निवास जग्गा प्रकरणदेखि राजस्व छली, आर्थिक अनियमितता, अकुत सम्पति, स्टिङ अप्रेसनलगायतका मुद्दा विशेष अदालतमा विचाराधीन छन् । आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दा र कर फस्र्योट आयोगका पूर्वपदाधिकारीविरुद्ध मुद्दा विचाराधीन छन् । त्यस्तै, लामो समयदेखि थाती रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकको मुद्दा सुनुवाइ हुन सकिरहेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 1,454 times, 1 visits today)

epaper

ताजा समाचार

सामाजिक सञ्जालमा गाली आएपछि साइबर ब्युरो पुगे रामकृष्ण