सिसी फुटेजको आधारमा चोर खोज्दै प्रहरी
सप्तरी । सप्तरी सदरमुकाम राजविराज–७ स्थित शनिदेव भगवान मन्दिरमा एक वर्ष नवित्दै शुक्रबार एकाविहान दोस्रो पटक चोरी भएको छ । चोरले मन्दिरबाट भगवान शनिको मुर्तीमा जडीत चाँदीको मुकुट र दानपेटिकाको नगद समेत लिएर गएका छन् ।
सदरमुकाम राजविराजको व्यस्त बजार नजिकै रहेको उक्त मन्दिरमा दोस्रो पटक भएको चोरी घटनाले स्थानिय चकित र त्रसित भएका छन् । उक्त मन्दिरमा यस अघि २०७५ साल चैत्र १८ गते पनि चोरले मन्दिरको मुल गेटको ताला फुटाएर मुर्तिमा जडित १५ तोलाको चाँदीको मुकुट, आधी तोलाको सुनको सिक्री र दान पेटिकामा रहेको करिब ९ हजार रुपैया चोरी गरेर लगेका थिए ।
यस पटक भने शुक्रबार विहान ३ बजेर ३० मिनेटमा भएको चोरी घटनामा २० तोलाको चाँदीको मुकुट र दानपेटिकामा रहेको अनुमानित १० हजार रुपैया चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनश्याम झाले जानकारी दिए ।
राती ९ बजे तिर मन्दिरको मुल गेटमा ताला लगाएर घर गएका मुल पुजारी रामनाथ शर्मा विहान ६ बजे तिर मन्दिर खोल्न आउदा मुल गेट र दानपेटिकाको ताला फुटाएर चोरी भएको थाहा पाएका थिए ।
चोरीको घटना लगत्तै खबर गरेपछि प्रहरीले अनुसन्धान थालेको छ । मन्दिर समितिको जानकारीको आधारमा आवश्यक अनुसन्धान सुरु गरेका छौं, प्रहरी निरिक्षक यमलाल बन्जारेले भने, मन्दिर नजिकैको एउटा पसलमा जडान गरिएको सिसी क्याम्राको फुटेजको आधारमा चोरको खोज तलास सुरु गरेका छौं ।
उक्त फुटेजमा विहान ३ः३० बजे तिर एक चोर मन्दिर प्रवेश गरेको र केही बेरमा बाहिर निस्केको देखिएको छ, उनले भने, चोरको हुलियाको आधारमा खोजी कार्य तिब्र बनाईएको छ ।







