सप्तरी, राजविराज । भारत सरकारले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका लागि पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि उपलब्ध गराएको छ ।
आइतबार सप्तरी सदरमुकाम राजविराजमा नेपाल–भारत महिला मैत्री समाज काठमाडौंद्वारा आयोजित “बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारहरुका लागि अस्थायी बसोवास राहत सामाग्रि हस्तान्तरण कार्यक्रम” मा सो जानकारी गराइएको हो ।
कार्यक्रममा समाजकी अध्यक्ष समेत रहेकी सांसद चन्दा चौधरीले विपद् पीडितहरुका लागि भारत सरकारको तर्फबाट सहयोग स्वरुप प्राप्त राहत सामाग्रि प्रमुख जिल्ला अधिकारी जनार्धन गौतमलाई हस्तान्तरण गर्दै विभिन्न प्रकोपबाट पीडामा परेका जिल्लाका बास्तविक पीडितहरुको पहचिान गरि त्यहासम्म पु¥याइदिन अनुरोध गरिन् ।
सप्तरीका लागि करिब ४३ लाख मुल्य बराबरका विग टेन्ट ३० थान, सिंगल फेमिली टेन्ट ५५ थान, डबल फेमिलि टेन्ट २५ थान र दुई सय थान म्याट हस्तान्तरण गरेकी उनले क्रमिक रुपमा सप्तरीका साथै सिरहा, महोत्तरी, बारा, पर्सा, रौतहट, धनुषा, सर्लाही, रुपन्दही र नवलपरासी गरि १० जिल्लामा उक्त राहत सामाग्रि बितरण गर्ने तयारी गरिएको बताइन् ।
उनले विभिन्न खाले विपत्तिमा परेर घरबार विहीन भएकाहरुको अस्थायी बसोवासका लागि भारत सरकारले ५ करोड ३९ लाख ४० हजार ८ सय मुल्य बराबरको राहत सामाग्रि आफ्नो संस्था मार्फत सहयोग गरेको बताउँदै यसको सदुपयोग हुनु पर्नेमा जोड दिईन् ।
जिल्लाका पीडितहरुका लागि प्राप्त सहयोग बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले सम्बन्धीत ठाउँका जनप्रतिनिधी र स्थानिय भरभलादमीको समन्वयमा बास्तविक पीडितको पहिचान र आवश्यक प्रक्रिया पुरा गरि छिटै बितरण गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा लोसपा नेता सुनिल झा, दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष नवीन कुमार गुप्तालगायतले सहयोगका लागि भारत सरकारप्रति आभार व्यक्त गर्दै प्राप्त सहयोगको सदुपयोग हुनुपर्नेमा जोड दिएका थिए ।






