वरिष्ठ साहित्यकार बजिमयको निधन

काठमाडाैं ।  वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मिएका थिए ।

विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गर्नुभएका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह), ‘अन्त्वत्तोगत्वा’ (कथा सङ्ग्रह) प्रकाशित थिए भने करिब आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए ।

कवि कृसु क्षेत्रीका अनुसार राष्ट्रिय कविता महोत्सव, व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मानश्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र गजलश्री सम्मानबाट सम्मानित बजिमयले दर्जनौँ साहित्यिक पत्रिकाको सम्पादन गरेका थिए ।

बजिमय सांस्कृतिक संस्थानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य, वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका सदस्य, पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष, नेपाली लेखक सङ्घको केन्द्रीय नेतृत्वमा रहिसकेका थिए । अविवाहित बजिमयको पार्थिव शरीरलाई दाहसंस्कारका लागि उनको जन्मथलो पोखरा आजै लगिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 321 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा